• सञ्जय मित्र

राजनीतिक इतिहासमा धेरै महŒवपूर्ण भूमिका निर्वाह गरेको रौतहटको सदरमुकाम गौरको साहित्यिक इतिहासमा पनि विशिष्ट भूमिका रहेको देखिन्छ । जतिखेर देशमा भर्खर प्रजातन्त्र आएको थियो, त्यत्तिखेर देशमा साहित्यको विकास भइरहेको थियो । देशमा प्रजातन्त्र ल्याउन नै अतिविशिष्ट बलिदान दिएको गौरले प्रजातान्त्रिक वातावरण बनाउन साहित्यमार्फत पनि ठूलो भूमिका खेलेको थियो ।

विगत त विगत नै भयो, कोट्याएर केही हुँदैन भन्नेहरू पनि छन् तर विगतको धरातलमा वर्तमान अडेको छ । वर्तमानको धरातलबाट विगत झिकिदिने हो भने वर्तमान त कहाँ भासिन्छ कहाँ ? के कुनै निश्चित छ र वर्तमानको ? कसैले वर्तमानबाट वर्तमान नै झिकिदियो भने वर्तमान कहाँ रहन्छ ? गणितको सूत्रमा जीवनलाई बुझ्नेहरूले बताउलान् । जीवनलाई वर्तमान मान्ने, भूत मान्ने, भविष्य मान्ने, के मान्ने हामीमा निर्भर रहन्छ । कुनै पनि मान्दिनँ भन्न पनि नपाइने होइन तर ठेस लाग्दा दुःखकै हुनुपर्छ । बिरामी पर्दा औषधि खाएकै हुनुपर्छ । आवश्यक पर्दा सहयोग लिएकै हुनुपर्छ । यसले जीवन वर्तमान हो, विगत हो र भविष्य पनि हो भन्ने दर्शाउँछ । तब किन गौरको विगतको गौरवको स्मरण नगर्ने ?

गौरको नामकरण कसरी भयो, यो यहाँ कोट्याउनु सान्दर्भिक नहोला । गौर कहिले र कसरी वा कुन परिस्थतिमा सदरमुकाम बन्न पुग्यो भन्ने पनि कुनै अर्को सन्दर्भमा आउने कुरो हो तर गौरको समग्र इतिहासको एउटा खण्ड त यहाँको साहित्यिक वातावरण पनि हो । अहिले गौर मरुभूमि बनेको छ । मरुभूमि साहित्यको क्षेत्रमा बनेको छ । गौर त साहित्यिक मरुभूमिको राजधानी पनि बनेको छ भन्ने कुरो वर्तमान गौरले बुझेको छ कि छैन ? साँच्चिकै गौरले आफ्नो अनुहार साहित्यिक ऐनामा हेरोस् त, नेपालको कुनै जिल्लाको सदरमुकाम यतिको अनुर्वर साहित्यिक वर्तमानमा आफूलाई उभ्याएको होला ? जिल्लामा वा जिल्लाबाहिर हुने साहित्यक कार्यक्रमहरूमा गौरको नाम कहीं पनि किन आउँदैन ? यस विषयमा वर्तमानको ऐनाले बताउँला ? हो, यसै अर्थमा पनि विगत पनि महŒवपूर्ण छ । वर्तमानमा गौर साहित्यिक दृष्टिकोणले मरुभूमि हुनुमा वर्तमानले मात्र आफूलाई सङ्कुचितरूपमा हेर्नु उचित छैन । विगतको पनि दोष छ ।

हुनत साहित्य वा कुनै पनि प्रतिभा भन्ने तŒव व्यक्तिमा अन्तर्निहित हुन्छ । तर यसलाई प्रस्फुटित हुने वातावरण बनाउनुपर्छ । कुनै जमानामा गौरमा साहित्यिक वातावरण थियो । बिस्तारै हराउँदै गयो । हराउँदै गएको साहित्यिक वातावरणलाई हेर्ने दृष्टि र दृष्टिकोण नै भएन कि ?

                महाकवि लक्ष्मीप्रसाद देवकोटा र प्रसिद्ध प्रगतिवादी लेखक श्यामप्रसाद शर्मा गौरको साहित्यिक कार्यक्रममा सहभागी भएको इतिहास छ । कलाकुञ्ज पुस्तकालयमा त महाकवि देवकोटाको हस्ताक्षर र श्यामप्रसाद शर्माको हस्ताक्षर नै सुरक्षित थियो । कुनै कुनै वर्तमान जे अहिले विगत कहलाउँछन्, ले कम्तीमा सुरक्षित राख्ने प्रयास गरेका भए वर्तमानको वर्तमानले आफूलाई निरन्तरता दिइरहन्थ्यो होला । समय भनेको वर्तमानको निरन्तरता हो र यही वर्तमान हिजोमा थियो, आजमा छ तथा भोलिमा रहनेछ । हिजोमा विगत, आजमा वर्तमान र भोलिमा भविष्य कहलाउने समय बितिरहेको क्षणलाई मात्र अन्तिम सत्य ठान्दा भूल हुन जान्छ ।

गौरले कुनै जमानामा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूलाई सम्मान गरेको छ । आतिथ्य प्रदान गर्ने अवसर दिएको छ । साहित्यकारहरूले पनि नेपाल र भारतमा गौरको गौरव बढाएका छन् । पञ्चायती व्यवस्थामा पनि गौर पूर्णतया निरस थिएन । देशमा पुनः प्रजातन्त्र प्राप्त भएपछि गौरको साहित्यिक गौरव जुर्मराएको थियो । गौरले रौतहटरश्मि नै निकालेको थियो । फेरि कलाकुञ्जले आफ्नो प्रकाशनलाई निरन्तरता दिएको थियो । कलाकुञ्जले कार्यक्रमको आयोजन गर्ने गरेको थियो । रौतहटरश्मिले प्रतिभालाई चिनाउने तथा प्रस्फुटनको अवसर दिएको थियो । स्थानीय लोकसाहित्य, भाषा, नेपाली साहित्य तथा समग्रमा प्राज्ञिक वातावरण बनाएको थियो तर अप्रत्याशित हुन्डरीले गौरलाई मरुभूमि बनाइदियो । कतिपयले त गौरलाई मरुभूमि बनाउने काम नियन्त्रित थियो भन्ने आरोप पनि नलगाएका होइनन् ।

गौरको साहित्यिक बाली सखाप भएको छ । बाली सखाप पार्नु पुरुषार्थ होइन । कुनै विशेष परिस्थितिमा किसानले बाली सखाप पार्छन् पनि तर त्यसबाट विशेष उपलब्धि हासिल हुने अपेक्षा हुन्छ । साहित्यिक बिरुवा सखाप पारेर अर्को बिरुवा लगाउन सकिएको छैन । यस कारण गौरको गौरवमय साहित्यिक, सांस्कृतिक तथा लोक वाङ्मयिक वातावरणको बारेमा अहिले कसैलाई थाहा नै छैन । वा थाहा भएपनि खासमा प्रस्फुटन भएको देखिन सकिएको छैन ।

गौरले आफ्ना कतिपय गौरवलाई आफूमा सजाएर राखेको छ, सम्हालेर राखेको छ । ती गौरवहरूलाई पनि प्रकाशित गरिनु आवश्यक छ । हैनभने कतिपय अवस्थामा त्यत्तिकै सजाएर, सम्हालेर राखेको सामग्री बिग्रेर, कमजोर भएर जान्छ र कहिलेकाहीं त सखाप भएर पनि जान्छ । यदि प्रयोगमा आउन थाल्छन् भने पुराना सामग्री पनि राम्रा हुन थाल्छन् ।

गौरले यदि अलिकति मात्र टाउकोलाई उठाएर कलैया, वीरगंज, मलङ्गवा र अन्य शहर तथा सदरमुकामतिर हेरोस् त, त्यहाँ साहित्यिकारहरू पनि देखिन्छन् । विभिन्न साहित्यिक पत्रपत्रिकाहरूमा ठेगाना लेख्दा आफ्नो ठाउँको नाम लेख्दछन् । पुस्तक कृति प्रकाशित हुँदा कृतिकारको पुस्तकसँगै ठाउँको नाम पनि जान्छ । साहित्यकारहरूलाई बोलाउँछन्, सम्मान गर्छन् । साहित्यिक संस्था वा सङ्गठन छन् । गौरमा किन हुँदैन वा छैन ? जबसम्म गौर यस्ता पक्षप्रति उत्तरदायी हुँदैन, तबसम्म गौरको आसपासको क्षेत्रमा यस्तो वातावरण बन्दैन । यसबाट यो पनि स्पष्ट हुन्छ कि गौरले केही नगरेर रौतहटले खासै केही गर्न नसकेको हो । गौरले केही गर्छ भने त्यसको अनुकरण अरूले पनि गर्छन् । गौरवको काम गौरले गर्ने हो भने गौरवको प्रकाशले अन्य ठाउँ पनि प्रकाशवान् हुन्छन् । भाषा, साहित्य, कला तथा समग्र वाङ्मयको क्षेत्रमा गौरले गौरव गर्ने वर्तमान उमार्न कम्तीमा अहिलेदेखि नै माटो बनाउने, बिरुवा छर्ने काम गर्नुपर्दछ । गौरको गौरवमय इतिहासको पुनरोदय गराउने काममा गौरले आफूलाई सक्रिय बनाउनुपर्दछ । वर्तमान समयलाई अनुकूल बनाउनु सर्वथा उचित हुन्छ ।

कुनै पनि समाजमा त्यस समाजको गौरव बढाउने धेरै क्षेत्र हुन्छन् । ती क्षेत्रमध्ये एक साहित्य पनि हो । भौतिक पूर्वाधार र अन्य विकास जति जरुरी छ, भाषा, साहित्य र कलाको विकास पनि उत्तिकै जरुरी छ । रौतहटसित सिमाना जोडिएको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडा जो अहिले वाग्मती प्रदेशको राजधानी पनि भएको छ, मेरो नजरमा साहित्यको राजधानी हो । म हेटौंडा छँदा नै हेटौंडालाई साहित्यको राजधानी मान्दथें र मकवानपुरको एउटा गाउँ छतिवनलाई देशको साहित्यको ग्रामीण राजधानी भन्दथें । आज धेरैले यो मान्न थालेका छन् ।

रौतहटको सदरमुकाम भन्नु चाहिं रौतहटमा रहेका जिल्लास्तरका सरकारी कार्यालयहरूको मुख्यालय हुनु हो । गौरलाई यो गौरव वर्तमानमा नैसर्गिकरूपमा प्राप्त छ । यस अवस्थामा यहाँको भाषा, साहित्य र कलासित परिचित भइरहने काम निरन्तर हुँदा गौरको गौरव झन् बढ्ने हुन्छ । विगतमा कलाकुञ्ज वा रौतहटरश्मि सक्रिय हुँदा धेरै सरकारी कर्मचारी पनि यसको साहित्यिक हिस्सा हुने गरेका थिए । साहित्यिक हिस्साले गौरको गौरव बाहिरसम्म बढ्ने गरेको थियो । गौरको साहित्यिक आलोकमा आलोकित कतिपय व्यक्तित्वहरू अझै पनि प्रसङ्गवश सोध्ने गर्छन्– गौरको अवस्था अहिले कस्तो छ ? “तपाईंको समाचार कस्तो छ ?” भन्ने प्रश्नको उत्तरमा जसकसैले सजिलै भन्ने गरेको “ठीक छ” भनेजस्तै उत्तर दिंदा पनि प्रश्न सोध्नेले बुझ्ने के होला भन्ने अनुमान लगाउन अप्ठ्यारो छैन । त्यत्ति बेला सम्भवतः प्रश्नदाता र उत्तरकर्ता दुवैको भित्री हृदयमा उदय हुँदो हो– पुनरोदय होला त गौरको गौरवको ?

एकजनाले भन्दै थिए – इतिहासको प्रसव हेर्ने इच्छा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here