– बैधनाथ श्रमजीवी

कुनै बेला पश्चिमा देशहरूको छापाहरूले लेख्ने गर्थे– नेपालमा कार्लमाक्र्स जन्मेको छ। त्यतिबेला नेकपा मालेका महासचिव मदन भण्डारी निकै चर्चित नेताको रूपमा स्थापित भइसकेका थिए। जनताको बहुदलीय जनवाद नामक शतप्रतिशत दक्षिणपन्थी नीति तयार गर्ने भण्डारीको प्रशंसा अमेरिकालगायत युरोपेली देशले नगर्ने कुरै भएन। नेकपा माले निर्माण गर्न कमरेड मोहनचन्द्र अधिकारी, चन्द्रप्रकाश मैनाली, राधाकृष्ण मैनाली, खड्गप्रसाद ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, जीवराज आश्रित, मोदनाथ प्रश्रितलगायत अगुवा नेताहरूको निकै ठूलो त्याग, बलिदानले बलियो जगको काम गरेको थियो। जहाँसम्म बलिदानको कुरा हो झापा विद्रोहले नेपाली राजनीतिमा ठूलै भूइँचालो ल्याइदिएको थियो। त्यति बेला जनताको बहुदलीय जनवादको नाममा नेकपा माले माक्र्सवादी सिद्धान्त त्यागेर पूर्णरूपेण दक्षिणपन्थी पार्टीमा रूपान्तरण भइसकेको कुरा धेरै कमलाई थाहा थियो। पार्टीभित्र पार्टी दक्षिणपन्थी धारमा गइसकेको बहस यदाकदा कार्यकर्ताबीच हुने गथ्र्यो। त्यति बेला पार्टीको एकता नेकपा माक्र्सवादीसँग हुने भएपछि नेकपा माले पूर्णतः संसद्वादी पूँजीवादको दलाल पार्टीको रूपमा विकसित भइसकेको कुरामा कुनै शङ्का थिएन।

नेकपा मालेबाट एमाले भएपछि पार्टीको जीवनमा कम्युनिस्ट आचरण र व्यवहार सम्पूर्णरूपमा समाप्त भइसकेको थियो। जिल्लातिर नेताहरू आउँदा अब किसान मजदूरको घरमा बस्न उनीहरूलाई मन पर्न छाडेको थियो। त्यति बेलाका मध्यम तथा निम्न पूँजीपति वर्गका दक्षिणपन्थी विचार र व्यवहारले ओतप्रोत व्यक्तिहरूकहाँ बस्ने, मीठो– मसिनो खान मन पराउने सुविधाभोगी शैली बढ्दै गएको, पार्टीभित्र वर्गीय धार कमजोर हुँदै गएको कुरा सामान्य हुन थालेको थियो। ठूल्ठूलो आकारको सङ्ख्यात्मक, मूलतः प्राथमिकतामा राखेर पार्टी कमिटीहरू निर्माण गर्ने तथा पार्टी नेतृत्वमा आर्थिकरूपमा भ्रष्ट, वर्ग विरोधी व्यक्तिहरू, चुनाव जित्न सक्ने आकलन भएकालाई ल्याउन थालियो। अब कम्युनिस्ट बन्नको लागि माक्र्सवादी दर्शन अनुसारको जीवन व्यवहार भएको व्यक्तिको आवश्यकता परेन। कम्युनिस्ट पार्टीको सदस्यताको मुख्य मापदण्ड नै नेताहरूलाई धन–सम्पत्तिबाट आकर्षित गर्न सक्ने व्यक्तिहरू हुन थाले। फलस्वरूप जो कोही कम्युनिस्ट पार्टीको सदस्यता पाउने सक्ने भयो। हुँदाहुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा सबै कम्युनिस्ट पार्टी चाहे असली होस् वा नक्कली उनीहरूको अस्तित्वकै सवाल प्रमुख मुद्दा बन्न पुगेको छ।

जस्तो कि सबैलाई थाहा भएकै विषय हो वर्तमान व्यवस्थामा जसले बढी मत पाउँछ, उसैले सरकार बनाउँछ र जसले सरकार बनाउँछ, राष्ट्रको ढुकुटीमाथि उसैले विनारोकटोक ब्रह्मलुट मचाउँछ। यतिबेला स्थानीय निर्वाचन सकिसकेको छ र आगामी मङ्सिरसम्म प्रादेशिक तथा सङ्घीय निर्वाचन हुने हल्ला बजारभरि छताछुल्ल रहेको छ। स्थानीय निर्वाचनपूर्व नक्कली कम्युनिस्टहरूको झन्डै दुईतिहाई बहुमतकै केन्द्रीय सरकार रहेको थियो तर नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाभित्र नेताहरू प्रशस्तै भएर झन्डै आधा दर्जन नेता पूर्व प्रधानमन्त्री नै रहेको अवस्था भए पनि राष्ट्रिय ढुकुटीमाथिको लुटमा आफ्नो पकड  नहुँदा अँध्यारो भविष्यलाई उज्यालो बनाउन आफ्नै सरकार ढालेर देशबाट बढारिएर किनारामा जनताद्वारा पु–याइएको काङ्ग्रेसलाई फेरि प्रधानमन्त्री बनाएर तिनै नक्कली कम्युनिस्टमध्येको एक हिस्सा फुटेर कहाँसम्म खस्न सक्दो रहेछ त्यो दुनियाँले हेरेकै हो। जेहोस् हिजोसम्म जुन दलाल पूँजीपतिको विरोधमा नेकपा मालेले राजनीतिक विद्रोह गरेको थियो, आज त्यो पार्टी त्यही दलाल पूँजीपतिको दलालको रूपमा आफूलाई स्थापित गर्न पाउँदा गौरवान्वित भएको महसूस गर्दैछ। संसद्भित्रका सबै पार्टी– काङ्ग्रेस होस् वा कम्युनिस्ट वा राप्रपा वा स्वतन्त्रस वास्तवमा दलाल पूँजीवादको दलालको रूपमा आफूलाई रूपान्तरण गरिसकेका छन्। हो यही एक कारण हो जसले गर्दा नेपालको सार्वभौमसत्ताविरुद्ध सम्झौता, एमसिसीजस्ता राष्ट्रघाती सम्झौता संसद्बाट पास हुन्छ। आज बाहिरबाट एसपिपी सम्झौताको सर्वत्र जति चर्को विरोध देखिए पनि भोलि यो सम्झौता पनि एमसिसीकै पारामा पास नहोला भन्न सकिन्न। किनभने मालिकको इशारामा हिंड्नु नोकरहरूको बाध्यता हुन्छ। हाम्रा शासकको रूपमा देखिएको व्यक्तिहरू जसलाई हामी भ्रमवश वा भूलवश नेता पनि भन्ने गरेका छौं, ती वास्तवमा जनताको नेता नै होइनन्। यी दलाल पूँजीपतिका पनि दलाल मात्रै हुन्।

हिजोसम्म वर्ग सङ्घर्षको नाममा नेपाली जनतालाई जसको परिचय वर्ग दुश्मनको रूपमा गराइयो आज तिनै व्यक्ति रातारात कसरी वर्गीय मित्र हुन पुगे ? के कति कारणले हिजो समाजवाद र साम्यवादको सपना साकार पार्न हिंडेका गरीब, दुःखी, शोषित, उत्पीडितका छोराछोरीहरू आज त्यही वर्ग दुश्मन दलाल पूँजीपतिहरूलाई आफ्नो उम्मेदवारको रूपमा तिनको लागि जनताको घरघरमा गएर हात जोडेर मत माग्ने र तिनलाई निर्वाचन जिताउने तथा फेरि पाँच वर्षसम्म तिनको शोषण, दमन खेपेर बस्ने परिपाटीको संसदीय गोलचक्करबाट कहिले निस्कन नपाउने भएका छन्। हुँदाहुँदा अब त संसदीय चुनावबाट जितेर समाजवादमा पुग्ने सिद्धान्तको अविष्कारसमेत यी नक्कली कम्युनिस्ट पार्टीहरूले गरिसकेका छन्। अब नेपालमा कुनै पनि कम्युनिस्ट पार्टीको विधानमा सदस्यताको मापदण्ड जेजस्तो लेखिएको भए पनि व्यवहारमा उक्त व्यक्तिले माक्र्सवादी दर्शन मान्नु, स्विकार्नु तथा आत्मसात् गरिरहनुपर्दैन। अध्यात्मवाद वा आदर्शवादी दर्शन जीवन व्यवहारमा अँगाल्नेहरू सजिलै जुनसुकै कम्युनिस्ट पार्टीको साधारण सदस्य बन्न सक्ने मात्रै होइन, पार्टीको केन्द्रीय सदस्य, सचिवालय सदस्य तथा त्यसको जल्दोबल्दो नेतासमेत बन्न सक्छन् वा बनिसकेका सबैले देखिरहेकै छन्। त्यसैले नेपालमा यतिबेला महँगी निकै बढे तापनि संसारकै सबैभन्दा सस्तो र सजिलो छ कुनै पनि कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्न, किनभने यहाँका कम्युनिस्टहरू वामपन्थी कम र दामपन्थी बढी रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here