कहाँ हरायो सूर्योदय साहित्य

0

– सञ्जय मित्र

इतिहासको सम्मान गर्ने र इतिहासलाई गर्वको रूपमा लिने मात्र हो भने वर्तमानको औचित्य साबित गर्न मुश्किल हुन्छ। अझ साहित्यको क्षेत्रमा नवीनताको जति मूल्य हुन्छ, इतिहासको पनि उत्तिकै मूल्य हुन्छ। सम्भवतः साहित्य नै यस्तो विषय हो, जहाँ इतिहास र वर्तमान दुवै मूल्यवान् हुन्छन्।

इतिहासप्रति मोह हुनेहरूले जहिले पनि इतिहासलाई बढी महत्व दिन्छन्। इतिहासको बढी सम्मान गर्दछन्। इतिहासबाट धेरै कुरा सिक्न सकिने बताउँछन्। वर्तमानलाई धरातल दिन्छ इतिहासले, वर्तमानलाई बाटो दिन्छ इतिहासले र इतिहासले नै वर्तमानको महल पनि बनाइदिन्छ। यसै कारण इतिहासवादीहरू वर्तमानलाई त्यति महत्व दिंदैनन् र इतिहासप्रति बढी सचेत बनाउन चाहन्छन्।

वर्तमानमा रमाउनेहरूले भविष्यलाई पनि उत्ति धेरै महत्व दिंदैनन्। वर्तमानलाई नै सर्वस्व ठान्दछन्। वर्तमानमैं रमाउँछन् र वर्तमानमैं सुख प्राप्त गर्दछन्। वर्तमानको दुःख र सुखलाई नै यथार्थ मान्दछन्। इतिहास बितिसक्यो र भविष्य कसैले देखेको छैन भन्दछन्। वर्तमानको रमझम नै साहित्यको असलियत हो भन्ने भावनाको प्रस्तुतिले इतिहासलाई बिर्सने विषय बनाउँछ। इतिहासलाई सम्झने र इतिहासलाई बिर्सनेगरी अहिलेको इतिहास यही दुईथरीबीच रुमलिइरहेको छ।

अहिले सूर्योदय साहित्य कहाँ छ ?

सूर्योदय हिजो पनि हुन्थ्यो, आज पनि हुन्छ र भोलि पनि हुनेछ तर रौतहटको साहित्यिकजगत्मा देखिएको सूर्योदय कहाँ हरायो ? सूर्योदय भएको हो। साहित्यको सूर्योदय भएपछि हराउने कुरो त हुँदैन। सूर्योदय हराएको छ तर वर्तमान छ। अर्थात् इतिहास छ, वर्तमान छ। हराएको इतिहास छ र अलमलिएको वर्तमान छ। इतिहास र वर्तमानको बेमेल छ। कुनै झेल छ वा कुनै धमिलो खेल छ तर इतिहासले वर्तमानलाई पछ्याइरहेको छ। वर्तमान भागिरहेको छ कि निर्धक्क छ ? निर्धक्क यस कारण कि इतिहासले खोज्ला भनेर सचेत छ र खोजे पनि नचिन्ला भन्नेमा ढुक्क छ।

यस्तो अवस्था कसरी आयो ?

सूर्योदय पुस्तकालय स्थापना हुँदादेखि भाषा र साहित्यको क्षेत्रमा हरेक वर्ष सकारात्मक कार्य हुँदै आएको थियो। हरेक वर्ष महाकवि देवकोटा जयन्तीको अवसरमा साहित्य गोष्ठीको जुन परम्परा बसालेको थियो, त्यो अहिले हराएको छ। त्यस परम्पराले उत्पादन गरेका दर्जनौं सर्जकहरू अहिले पनि साहित्यको क्षेत्रमा क्रियाशील छन् र देशमा आफूलाई साहित्यकारका रूपमा स्थापित गराउन सफल छन् तर त्यही स्थापनाको धरातल नै अहिले गायब छ। खोजी भइरहेको पनि छैन। बेपत्ताको खोजी नगर्ने हामी नै हौं।

साहित्यिक गोष्ठीको परम्परा हराएको सत्य हो। यस परम्पराले नवप्रतिभा जन्माउँदै आएको थियो। यो पनि हराएको छ वा कमजोर भएको छ। सूर्योदयले सम्झेको हुनुपर्छ, जबसम्म सूर्योदय पुस्तकालय सक्रिय थियो, साहित्यको क्षेत्रमा तबसम्म साहित्यका अन्य कार्यक्रमहरू हरेक वर्ष विभिन्न विद्यालयहरूले पनि गर्दै आएका थिए तर अहिले त्यहाँ पनि हुन छाडेको छ।

सूर्योदयले जसोतसो सूर्योदय सामयिक सङ्कलन प्रकाशन गर्दै आएको थियो। सूर्योदयको प्रकाशन आफैंमा एउटा गौरव थियो रौतहटको। रौतहटको गौरवको रूपमा थियो। त्यो गौरवको आधार भनेको सूर्योदय पुस्तकालय थियो। पुस्तकालय नै अलप भएपछि प्रकाशनको विलप हुनु अस्वाभाविक होइन। सूर्योदय पत्रिकाको विलाप सुन्ने कसले ? जतिखेर प्रकाशन हुन्थ्यो, त्यति बेला केही पात्र थिए, जो खोटैखोट देख्दथे। बन्द भएपछि अब तिनलाई सन्तुष्टि वा खुशीको अनुभूति हुँदो हो ? कुनै बेला मस्तिष्कमा सूर्योदयको उज्यालो सम्झना आउँदा हर्षको उत्पत्ति हुन्छ ? आलोचना गर्ने आधार नै भत्किएपछि खुशी लाग्नु पनि स्वाभाविक हुनुपर्छ तर यदि भाषा र साहित्यको साँचो आलोचकले खिसीटिउरी गरेको भए सूर्योदयको आभालाई जोगाउने सार्थक प्रयत्न गर्थे होलान्।

सूर्योदय सामान्य पत्रिका थिएन। सूर्योदय त रौतहटेली साहित्यको सूर्योदय थियो। यो चन्द्रनिगाहपुरको निधि थियो। रौतहटको अमूल्य निधि थियो। जिल्लाको एउटा पहिचान थियो। मान थियो र सम्मान पनि थियो।

आफ्नो जमीन भएको र आफ्नो पहिचान भएको सूर्योदय पुस्तकालयले जे जे गरेको थियो, अनुकरणीय काम गरेको थियो। कलाकुञ्ज पुस्तकालय गौरको युगपछि रौतहटमा र अझ मुख्यगरी उत्तरी रौतहटमा भाषा र साहित्यको क्षेत्रको जग बसाल्ने काम गरेको थियो। सूर्योदयको आलोकमा आफ्नो पहिलो अनुहार देखाउनेहरूले आज देशमा आफ्नो साहित्यिक अनुहार देखाइरहेका छन्। यो सूर्योदयको प्राप्ति थियो तर सूर्योदय पुस्तकालय हरायो, सूर्योदय पत्रिका हरायो। सूर्योदय पुस्तकालय हराउनुमा एउटा सानो यात्रा छ। हुनत साहित्यमा पनि यात्रा हुन्छ। यात्रामा पनि साहित्य हुन्छ। सम्भवतः सूर्योदय पुस्तकालयले तामझामका साथ सूर्योदय प्रतिष्ठान बन्ने भूल गरेको थियो। बजारबाट चोकको यात्रा गरेको थियो। महादेव मन्दिरबाट होटलको पछाडि गएको थियो। सहायक राजमार्गबाट मुख्य राजमार्गमा पुगेको थियो। र यसै क्रममा हराएको थियो।

सूर्योदय पुस्तकालयलाई देशले चिन्न थालेको थियो वा एक किसिमका मानिसले चिनिसकेका थिए। धेरै ठाउँमा सूर्योदय आफैं साहित्य बनेर आएको थियो। धेरै ठाउँमा साहित्यको जनकको रूपमा स्थापित हुन पुगेको थियो तर सूर्योदयको आज न त्यो राप छ, न ताप छ, न छ कुनै नाम नै। जो यहाँबाट अगाडि बढे, उसले ठाउँलाई बिर्सेका छन् कि ? नाउँ नै बिर्सेका छन् कि ? सबैभन्दा पीडादायी कुरो त सूर्योदयलाई बिर्सेका छन्। सूर्योदयलाई बिर्सेर मात्र नहुने हो, हुनु नपर्ने हो, किनभने सूर्योदयलाई बिर्सिन हुँदैन। यदि कसैले बिर्सेको देखाउन खोजिरहेको छ भने उसले ढोङ गरिरहेको छ। साहित्यमा आडम्बरको पनि ठूलो महत्व हुन्छ। आडम्बरको भरमा आफ्नो खोक्रोपन छोपिरहेका छन््। जे छोप्न खोजिरहेका छन्, दूरदृष्टि हुनेले त्यही देखिरहेका छन्।

सूर्योदयले कसैको अहित गरेको थिएन। पुस्तकालयबाट प्रतिष्ठानमा रूपान्तरण हुँदा नै केही शुभचिन्तकलाई चित्त बुझेको थिएन। यही पुस्तकालयले एउटा पहिचान बनाएको थियो र प्रतिष्ठानले एउटा पहिचान बनाउन फेरि सङ्घर्ष गर्नुपर्छ तर केहीको भनाइ थियो कि प्रतिष्ठान भएपछि धेरै किसिमका काम गर्न सजिलो हुन्छ। सम्भवतः प्रतिष्ठानको नामकरण संस्कार भएपछि नै गुमनाम भएको हो। गुमनाम भएपछि कसैले खोजी गर्ने प्रयास नै गरेन।

जो खिसीटिउरीका पात्र थिए, पलायन भए, तब त सूर्योदय (पुस्तकालय, प्रतिष्ठान, पत्रिका)को चमक देखिनुपर्ने हो।

जसले सूर्योदयको महत्वलाई राम्ररी बुझेको छ, तिनलाई सूर्योदयको माया छ। सूर्योदयको पुनरागमन खोजिरहेका छन्। सूर्योदयले बनाएको गोरेटो र इतिहास दुवै उज्ज्वल छ। हो, यस देशमा रौतहट मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि देखिन्छ अहिलेसम्म तर यसको अर्थ यो होइन कि भाषा र साहित्यको क्षेत्रमा पनि सधैं पछाडि रहिरहोस्। यदि सूर्योदयको लालिमा पुनः क्षितिजमा देखिने हो भने भाषा र साहित्यको क्षेत्रमा अगाडि बढ्ने देखिन्छ। सम्भव छ, सम्भावना छ र आवश्यकता पनि छ। को चाहँदैन यस जिल्लाको मान र नाम ? निरन्तरको अभ्यासले खेलकूदको केही क्षेत्रमा चन्द्रनिगाहपुरले देशलाई धेरै दिएको छ, देशले चन्द्रनिगाहपुरबाट धेरै पाएको छ तर साहित्यको लागि सार्थक प्रयास गरिरहेको संस्था किन हरायो ? हराएको संस्थाको खोजी किन गरिएन ? किन गुमनाम भइरहँदा पनि खोजी गरिदिन कोही तयार भइरहेको छैन ? खोलो त–यो लौरो बिस्र्योको अवस्था अब सूर्योदयको सन्दर्भमा लागू हुनुहुँदैन। सूर्योदय पानीमा हुँदैन, आकाशमा हुन्छ। नयाँ क्षितिजको खोजी साहित्यले गरिरहन्छ। सूर्योदयको लागि सार्थक प्रयास होओस्।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here