सर्लाही, ३० जेठ/रासस
गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । गर्मीयाममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् । गर्मी बढेसँगै सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा वार्षिक करीब ८०० बिरामी आउने र तीमध्ये पाँच प्रतिशतलाई आइसियू र भेन्टिलेटर आवश्यक पर्ने भएपनि सरोकारवाला निकायको बेवास्ताका कारण ती उपकरण प्रयोगविहीन भएको उक्त केन्द्रका डा हंशनारायण झाले बताए । उनका अनुसार आफूहरूले आइसियू र भेन्टिलेटर प्रयोग गर्न सक्ने भएपनि व्यस्तताका कारण आइसियू र भेन्टिलेटर चलाउन नपाएको र त्यसका लागि छुट्टै जनशक्ति राख्न समितिसँग आर्थिक अभावसमेत रहेको बताए ।
जेठ महीनामा मात्रै ४० सर्पदंशका बिरामी उपचारका लागि आइसकेको केन्द्रले जनाएको छ । गएको वैशाख महीनामा ६४ जना बिरामीको उपचार गरिएको थियो । केन्द्रमा बिरामीको चाप बढे पनि सञ्चालन गर्ने व्यक्तिको अभावमा ती उपकरण लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको उक्त केन्द्रका व्यवस्थापन समिति अध्यक्ष उद्धव पौडेलले बताए ।
उनले स्थानीय निकायले राम्रो सहयोग गरिरहे पनि दक्ष जनशक्ति अभाव रहेको बताए । ती उपकरण सञ्चालनमा ल्याउन नसक्दा राख्नु र नराख्नुको कुनै अर्थ नरहेको सर्पदंशका बिरामी मानबहादुर मोक्तानले बताए । उनले ती उपकरण सञ्चालनमा नल्याउँदा बिरामीलाई अन्यत्रै लैजान परेको र समयमैं पु¥याउन नसक्दा धेरैले अकालमैं ज्यान गुमाउनुपरेको छ भने ।
मधेस प्रदेश सरकारको सहयोगमा केन्द्रमा आइसियू र भेन्टिलेटरको व्यवस्था गर्नाका साथै दुर्ईजना एमबिबिएस चिकित्सक भएर पनि ती उपकरण सञ्चालन गर्ने व्यक्तिको अभावमा अहिले प्रयोगविहीन अवस्थामा रहेको लालबन्दी नगरपालिका–१ का अध्यक्ष हरिबहादुर भट्टराईले
बताए ।