- सञ्जय मित्र
आजका युवामा परम्परागत ज्ञान र प्रविधिको विषयमा खासै चासो रहेको देखिएको छैन । गाउँ–समाजमा प्रचलनमा रहेका पुराना सम्पत्तिहरू लोप हुन थालेका छन् । पहिले इनारसित सम्बन्धित धेरै लोकगीतहरू गाउँ–समाजमा प्रचलनमा थिए तर झन्डै दुई दशकदेखि इनारको प्रयोग बन्द भएपछि गाउँमा इनार खोज्नुपरेझैं इनारसित सम्बन्धित लोकगीत पनि खोज्नुपर्छ । गाउँमा पनि यस्ता गीत हराइरहेका छन् । न इनारको संरक्षण भएको छ, न इनारसित सम्बन्धित लोकगीतकै । यो त उदाहरण मात्र हो । यथार्थमा लोककथा, लोकगीत, उखान, विभिन्न स्थानीय गाथा, इतिहास र संस्कृतिसम्बन्धी मिथकहरू हराइरहेका छन् । हराइरहेका यस्तै लोकसम्पदामध्ये एक हो मानव जाति तथा चरित्र र प्रवृत्तिका विषयमा प्रचलित आहानहरू ।
समाजमा बालबालिका, पुरुष, महिला, जीवन तथा पशुपक्षीको विषयमा अनेक मान्यता प्रचलनमा छन् । यस्तै मान्यतामध्ये एक हो – पुरुषार्थसम्बन्धी ।
सोझो अर्थ पुरुषार्थ भनेको व्यक्तिले आर्जन गर्ने मान हो । व्यक्तिले निजी कारणले जुन मान आर्जन गर्दछ, त्यो कारण नै पुरुषार्थ हो ।
उसो भए पुरुषार्थमा महिलाको स्थान हुन्छ कि हुँदैन भन्ने प्रश्न आउँछ । पहिले यसको निराकरण गरौं ।
रामायणकालमा राजा शिरध्वज जनककी छोरीले गरेको पुरुषार्थले गर्दा उनलाई समग्र हिन्दू जातिमा निकै ठूलो सम्मान छ । यसविपरीत राजा दशरथकी छोरीबारे दुनियाँलाई खासै जानकारी छैन । यसैगरी दशरथका छोराबारे दुनियाँलाई जति धेरै थाहा छ, शिरध्वज जनकका छोराको विषयमा खासै मानिसलाई थाहा रहेन छ । राजा शिरध्वज जनकका छोराको पुरुषार्थ र राजा दशरथकी छोरीको पुरुषार्थ दुनियाँको दृष्टिमा आउन सकेन । यसबाट यो स्पष्ट हुन्छ कि पुरुषार्थ वा पौरुष पुरुषसित सम्बन्धित छ र पुरुष भनेको मानिस हो । यहाँ कर्मको लागि लिङ्ग विभाजन गरिएको पाइँदैन ।
परम्परागत मान्यतामा पुरुषार्थ तीन किसिमको बताइएको छ ।
प्रथम पुरूषार्थ ः पुत्रको नामबाट पिताले परिचय दिने – हरेक मानिसमा क्षमता हुन्छ । हरेक मानिस आफैंमा विशिष्ट हुन्छ । हरेक विशिष्ट मानिसले विशिष्ट काम गर्ने क्षमता पनि राख्दछ । र विशिष्ट काम गर्दै जाँदा विशिष्ट प्रतिभाशाली मानिसको नाम र पहिचान फैलिन थाल्छ । समाजमा मानिसले पहिचान आर्जन गरेपछि पितालाई आफ्नो सन्तानको नाममा गर्व हुन थाल्छ । पिताले कतै आफ्नो परिचय दिनुपर्दा यदि म फलानो वा फलानीको पिता हुँ भनेर गर्वका साथ सन्तानको नामोच्चारण गर्दछ भने यस किसिमको पुरुषार्र्थलाई प्रथम पुरुषार्थ मानिन्छ । यो सर्वश्रेष्ठ पुरुषार्थ हो । माथिको दृष्टान्तमा राजा शिरध्वज जनकको परिचय धेरै ठाउँमा छोरी सीतासित जोडिएको पाइन्छ । र अहिलेको समाजमा पनि पुरुषार्थलाई बढी मात्रामा पुरुषसितै जोडेर हेरिन्छ ।
द्वितीय पुरुषार्थ ः पिताको नामबाट सन्तानले परिचय दिने – यसलाई पनि साधारण पुरुषार्थ भनिन्छ । पिताको नामबाट आफ्नो परिचय स्थापित गर्ने वा आफ्नो परिचय दिने पुरुषार्थ हो । आफ्नो परिचय बनाउने क्रममा वा आफ्नो परिचय पूर्णरूपमा स्थापित हुनुभन्दा पहिले वा आफ्नो परिचय बनाउन नसकिने अवस्थामा पिताको नामबाट परिचय दिने वा पिताको नामसित परिचय स्पष्ट पार्ने पुरुषलाई द्वितीय पुरुषार्थी मानिन्छ । आफ्नो परिचयको अभावमा वा आफ्नो परिचय बनाउने क्रममा पिताको नामोच्चारण गर्वका साथ गरिने अवस्था हो । यसको अर्थ यो होइन कि यसमा माताको नामको कुनै मूल्य छैन । रामायणमा आफ्नो परिचय बताउने क्रममा कुश र लवले आफ्नी माताको नाम वनदेवी बताएका थिए । हाम्रो समुदायमा माताको नामबाट पनि परिचय बनाउने चलन निकै पुरानो छ । समाजमा सुपाच्य रहिआएको छ । यद्यपि वर्तमान अवस्थामा माताको नामबाट परिचय स्थापित गर्ने समय फेरि आउन थालेको छ ।
तृतीय पुरुषार्थ ः पत्नीको नामबाट पतिले परिचय दिने – पितृसत्तात्मक समाजले महिलालाई जहिले पनि पुरुषको संरक्षण दिएको छ । यो अन्यथा होइन पनि । साथ र सहयोग चाहिन्छ । महिलाले पुरुषको र पुरुषले महिलाको संरक्षण प्राप्त गर्नु स्वाभाविक हो । अहिले पछिल्ला दुई दशकदेखि मात्र महिलालाई घरबाहिर काम गर्न जाँदा सम्मानको दृष्टिले हेर्न थालिएको छ । यस दृष्टिले यहाँ पत्नीको नामबाट पतिको परिचय दिने भनिए पनि यसलाई पतिपत्नी दुवै बुझ्दा फरक पर्दैन । जो पतिको नामबाट परिचित हुन्छन् वा जो पत्नीको नामबाट परिचित हुन्छन्, ती तृतीय श्रेणीका पुरुषार्थीमा दरिन्छन् । पति र पत्नीमा फरक प्रतिभा हुन सक्छ । पतिको प्रतिभाको विस्तार वा पत्नीको प्रतिभाको विस्तारको आभाले एक अर्कोलाई आलोकित पार्न सक्छ तर अब एकको प्रतिभाले अर्कोको प्रतिभालाई आलोचित पार्ने अवस्था छैन । यदि हामीले सङ्कुचित मानसिकता त्याग गर्ने हो भने दुनियाँमा अहिले यस्तो पनि देश छ, जहाँ महाराजभन्दा महारानीलाई बढी सम्मान प्राप्त छ । बेलायतको महाराजको नाम धेरैलाई थाहा छैन, मिडियामा धेरै आउँदैन तर महारानीको नाम भने सधैं आइरहन्छ । नेपालको राजनैतिक इतिहासमा पनि यस्ता घटनाहरू पाइन्छन्, जहाँ महारानीको नामबाट चिनाउनुपर्ने अवस्था छ ।
परम्परागत समाजमा प्रचलित यी तीन किसिमका पुरुषार्थ वा प्रतिभाले सङ्केतार्थमा धेरै कुरा बताएका छन् । वास्तवमा हरेक मानिसले आफ्नो प्रतिभाको पहिचान गरी आफैं योग्य र सक्षम बन्नुपर्ने र हरेक मानिस पहिलो दर्जा अर्थात् प्रथम पुरुषार्थी बन्नुपर्ने सङ्केत गरिएको छ । हरेक मानिस यदि प्रथम पुरुषार्थको श्रेणीमा पर्दछ भने यो दुनियाँ यहीं स्वर्गको समान बन्न पुग्छ ।
मानिसले आफ्नो पहिचान बनाउनु पर्दछ । सम्भव भएसम्म आफ्नै पहिचानले चिनिनुपर्छ र आफ्नो परिचयको आलोक विस्तार हुँदा त्यसमा पिता–पुर्खा, सन्तान, समाज सबै आलोकित हुने अवसर प्राप्त हुन्छ । यसैगरी पिता वा माता तथा पति वा पत्नीले पनि राम्रो काम गरेमा तिनबाट पनि आफ्नो पुरुषार्थको परिचय सम्भव छ भन्ने कुरो पनि बताइएको छ । कुनै कारण वा विशेष परिस्थितिमा वा परिबन्दले गर्दा आफ्नो प्रतिभाको विस्तार गर्न सक्ने वातावरण बन्न सकेन भने यस्तो अवस्थामा छोरा वा छोरी अथवा पति वा पत्नीमा रहेको प्रतिभाको खोजी गरी त्यसलाई फक्रने अवसर दिनुपर्छ जसले गर्दा आफ्नो परिचय स्थापित हुन्छ र आलोकित पनि हुन्छ ।
हामी आफ्ना मातापिताप्रति र सन्तानप्रति गर्व गर्न सक्छौं । माथिको पुरुषार्थले यो सिकाएको छ कि पतिले पत्नीमाथि वा पत्नीले पतिमाथि पनि गर्व गर्न सक्छन् । जो प्रतिभावान् छ, उसलाई अवसर दिनुपर्छ र दिएको अवसरले कम्तिमा मातापिता, पतिपत्नी र छोराछोरीलाई गर्व गर्ने अवसर प्रदान गर्दछ ।
माथि गरिएको पुरुषार्थको चर्चा सामाजिक पुरुषार्थ हो भने शिक्षाको क्षेत्रमा पुरुषार्थको सन्दर्भ अझ गर्विलो छ । हाम्रो ग्रामीण समाजले शिक्षाको क्षेत्रमा पुरुषार्थलाई यसरी चिनाएको छ–
शिष्यबाट गुरु चिनिने – यो पुरुषार्थलाई शिक्षाको सर्वोत्तम पुरुषार्थ मानिन्छ । जब कोही गुरु आफ्नो शिष्यको नामबाट आफूलाई परिचित गराउँछन् वा जब शिष्यको नाम लिंदा गुरुको छाती गर्वले फुल्दछ तब यो स्वाभाविकरूपले उत्तम पुरुषार्थ बन्न पुग्दछ । यहाँ शिष्यको अर्थ शिष्या पनि हो ।
गुरुबाट शिष्य चिनिने – यो द्वितीय पुरुषार्थ हो तर यो पनि धेरै महŒवपूर्ण छ । गुरुको नामबाट योग्य शिष्यले नै आफ्नो परिचयको शुरूआत गर्दछ । गुरुप्रति सम्मान दर्शाउने र गुरु–शिष्य परम्परालाई अगाडि बढाउने यस चलनलाई अनन्तकालसम्म विस्तार गर्नुपर्दछ ।
समाजको अन्यान्य क्षेत्रमा पनि पुरुषार्थबारे विभिन्न धारणा प्रचलनमा रहेको छ । यस्ता सामाजिक धारणा तथा मान्यतालाई एकातिर जोगाउनुपरेको छ भने अर्कोतिर अभिलेखीकरण पनि गर्नुपरेको छ । हाम्रा कतिपय मान्यता र धारणा अभिलेखीकरणको अभावमा आफ्नो भनी दाबी गर्न सक्ने सम्भावना हुन्छ । सबै मान्यता तथा सामाजिक धारणाको सङ्ग्रह गर्न पनि स्थानीय र प्रदेश सरकारले सक्रियता देखाउनुपरेको छ । समाजको परम्परागत धारणामा धारण गर्न सकिने अनेक गुढ रहस्य छन् । ती रहस्यलाई बुझ्न र समाजमा असल चरित्र तथा संस्कार विकास गर्न प्रयोग गर्न यस्ता मान्यता तथा धारणाको सदुपयोग गर्नुपर्छ ।