• उमाशङ्कर द्विवेदी

तपाईंका भाइले आफ्ना प्रतिज्ञा पूर्ण गरे–यो बडो हर्षको विषय हो । यो सुनेर राजा युधिष्ठिर आफ्नो रथबाट हाम्फालेर श्रीकृष्ण र अर्जुनलाई अङ्कमाल गरे । त्यति बेला उनको आँखाबाट आनन्दाश्रु झरिरहेको थियो । उनले भने–कमलनयन, तपाईंको मुखबाट यस्तो प्रिय समाचार सुनेर आनन्दको सीमा रहेन । वास्तवमा अर्जुनले अद्भूत कर्म गरे । सौभाग्यको कुरा हो कि आज म तपाईं दुवैलाई प्रतिज्ञा भारबाट मुक्त देखिरहेको छु । यो धेरै राम्रो कुरो हो कि पापी जयद्रथ
मारियो । कृष्ण, तपाईंद्वारा सुरक्षित भएर नै पार्थ जयद्रथको वध गर्न सफल हुन सके । यसबाट मलाई बडो प्रसन्नता भएको छ । तपाईं त सदैव हाम्रो प्रिय र हित साधनमा लागिरहनुहुन्छ । जनार्दन, जुन काम देउताहरूले पनि गर्न सक्दैनन् त्यसलाई अर्जुनले तपाईंकै बल, बुद्धि र पराक्रमबाट सम्पन्न गरे । यो चराचर जगत् तपाईंकै कृपाले आआफ्नो वर्णाश्रमोचित मार्गमा स्थित भएर जप–होमादि कर्ममा प्रवृत्त हुन्छ । पहिले यो सम्पूर्ण दृश्य–प्रपञ्च एकार्णवमा निमग्न–अन्धकारमय थियो, तपाईंकै अनुग्रहले यो पुनः जगत्रूपमा प्रकट भयो । युधिष्ठिरले यस प्रकारसित अनन्य भावले श्रीकृष्णको स्तवन गरेपछि श्रीकृष्णले भने–धर्मराज, तपाईंको उग्र तपस्या, परम धर्म, साधुता तथा सरलताबाट नै पापी जयद्रथ मारियो । संसारमा शस्त्रज्ञान, बाहुबल, धैर्य, शीघ्रता तथा अमोघ बुद्धिमा कतै कोही अर्जुनजस्तो छैन । त्यसैले तपाईंका भाइले रणभूमिमा शत्रुसेनाको संहार गरेर सिन्धुराजको मस्तक काटिदिए ।

यो सुनेर युधिष्ठिरले अर्जुनलाई अङ्कमाल गरेर पिठ्यूँ सुम्सुम्याउँदै श्याबासी दिंदै भने–अर्जुन, जुन काम इन्द्रसहित सम्पूर्ण देउताले गर्न सक्दैनन्, त्यो काम तिमीले सजिलै गरेर देखायौ । सौभाग्यको कुरा हो तिमीले टाउकोको भारी सजिलै बिसायौ, जयद्रथलाई मारेर आफ्नो प्रतिज्ञा पूरा ग¥यौ । तदन्तर शूरवीर भीमसेन र सात्यकिले पनि धर्मराजलाई नमस्कार गरे, उनीहरूको साथ पाञ्चालदेशीय राजकुमारहरू पनि थिए । उनीहरूलाई हात जोरेर उभिएको हेरी युधिष्ठिरले उनीहरूको अभिनन्दन गरे र भने–आज बडो आनन्दको दिन हो, तिमी दुवैजनालाई म यस सैन्यरूपी सागरबाट मुक्त देखिरहेको छु । तिमी दुवैजना युद्धमा विजयी भयौ । तिमीहरूको मुकाबिलामा द्रोणाचार्य र कृतवर्मा पनि परास्त हुन पुगे । अनेकौं शस्त्र प्रहार गरी तिमीले कर्णलाइ हरायौ र राजा शल्यलाई पनि मा¥यौ । तिमीहरूलाई सकुशल देखेर मलाई बडो प्रसन्नता भइरहेको छ । सङ्ग्राममा तिमीहरूको कहिले पनि हार हुँदैन, तिमी दुवैजना मेरै अनुरूप छौ । सौभाग्यले म तिमीहरूलाई जिउँदै–रमाउँदै देखिरहेको छु ।

भीमसेन र सात्यकिसित यस्तो भनेर धर्मराजले पुनः उनीहरूलाई अङ्कमाल गरे र आनन्दाश्रु बगाउन थाले । राजन्, त्यति बेला पाण्डवका सम्पूर्ण सेना आनन्दमग्न भए बडो उत्साहका साथ युद्ध गर्न थाले ।

सञ्जय भन्छन्–राजन्, जयद्रथ मारिएपछि तपाईंका पुत्र दुर्योधन आँसु बगाउन थाले, उनको दशा बडो दयनीय भइरहेको थियो, अब शत्रुहरूमाथि विजय पाउने उनको सम्पूर्ण उत्साह भङ्ग भइरहेको थियो । अर्जुन, भीमसेन र सात्यकिले कौरव सेनाको भारी संहार गरेको देखेर उनको अनुहार निन्याउरो भयो, आँखा भरिएर आयो । उनी सोच्न थाले–यति बेला यस पृथ्वीमा अर्जुनसमान अन्य कोही योद्धा छैन । अर्जुन रिसाएपछि उनको सामु द्रोणाचार्य, कर्ण, अश्वत्थामा र कृपाचार्य पनि टिक्न सक्दैनन् । आजको युद्धमा उनले हाम्रा सबै महारथिलाई हराएर सिन्धुराज जयद्रथको वध गरे, उनलाई कसैले रोक्न सकेन । हाम्रो यत्रो ठूलो सेनालाई पाण्डवहरूले पूर्णरूपले नष्ट पारिदिए । जसको बलको सहाराले हामीले युद्धास्त्रको तयारी ग¥यौं, जसको पराक्रमको आश्रय लिएर सन्धिको प्रस्ताव लिएर आएका श्रीकृष्णलाई तृण बराबर ठानेनौं, ती कर्णलाई पनि अर्जुनले युद्धमा परास्त गरिदिए ।

महाराज, सम्पूर्ण जगत्को अपराध गर्ने तपाईंको पुत्र दुर्योधन यस प्रकार सोच–बिलौना गर्दै मनमनै धेरै व्याकुल भएपछि आचार्य द्रोणको दर्शन गर्न गएर उनलाई कौरव सेनाको संहारको सम्पूर्ण समाचार सुनाए । उनले यो पनि सुनाए कि शत्रुहरू विजयी हुँदै गइरहेका छन् र कौरवहरू आपत्तिको समुद्रमा डुब्दै गइरहेका छन् । फेरि भन्न थाले–आचार्य, अर्जुनले हाम्रो सात अक्षौहिणी सेनाको नाश गरेर तपाईंका शिष्य जयद्रथको पनि वध गरिदिए । हरे, जो हामीलाई विजय दिलाउने इच्छाले आफ्ना प्राण त्यागेर यमलोकको बाटो लागे, ती सुहृदहरूको ऋण कुन प्रकारले चुक्ता गर्न सकिएला । जुन भूपालहरू यस भूमिलाई जित्न चाहन्थे, उनीहरू स्वयं भूमण्डलको ऐश्वर्य त्यागेर भूमिमाथि सोत्तर भइरहेका छन् । यस प्रकार स्वार्थको लागि मित्रहरूको संहार गराएर अब मैले हजारवटा अश्वमेध यज्ञ गरे पनि आफूलाई पवित्र पार्न सक्दिनँ । म आचारभ्रष्ट र पतीत हुँ, आफ्ना बन्धु–बान्धवहरूसित मैले द्रोह गरें । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here