जीवनी र यात्राको संयोजन भएको रोचक कृति

0
  • सञ्जय मित्र

मुख्यगरी काठमाडौं र अमेरिकामा ठेगाना भएका श्याममोहन श्रेष्ठको  काठमाडौं–पेरिस–काठमाडौं बस र रेल यात्रा, साहस र आँटले डो¥याएको जिन्दगी (फोटो किताबसहित) पुस्तक प्रकाशित छ । कृतिका लेखक नै कृतिका प्रकाशक हुन् । यो संस्मरणात्मक कृति हो तथा निजी इतिहास हो र जीवनमा सिकेका अनुभवरूको सार हो ।

काठमाडौंमा जन्मेका लेखक एक ठाउँमा भन्छन् – धरातलमा बस्दा मान्छे, जानीनजानी अनेक सुकर्म र दुष्कर्म गर्न पुग्ने रहेछ । शायद यो प्रकृतिबाट मानव जातिको सृजनासँगै आएको पनि हुन सक्छ ।

२००४ मा जन्मेका लेखक पढाइमा अलिकति पनि मन लगाउँदैनथे । पढाइमा कमजोर भएको स्वीकार गर्दछन् । आफ्ना बाल्यकालका पढाइ र अन्य गन्थनहरू अत्यन्त इमानदारीका साथ प्रस्तुत गरेका छन् । काठमाडौंमा पढ्ने लक्षण नभएपछि अभिभावकले भीमफेदीमा नाम लेखाइदिएको र रहने–बस्ने व्यवस्था मिलाइदिएको कुरो पनि धेरै रोचक छ । उनी लेख्छन् – पढाइभन्दा मेरो मन फेरि घुमफिरमैं रमायो ।

युवावस्थामैं नेपालमा क्यासिनोमा जागीर खान पुगेका लेखकको जीवनले यहींबाट अर्को मोड लिन्छ । सामान्य मानिसले कल्पना गर्न नसक्ने, साहस भनूँ वा दुस्साहस गर्न नसक्ने विशिष्टस्तरको कामको थालनी लेखकले गर्न पुगेका छन् । सामान्य मानिसले कल्पनै गर्न नसक्ने यात्राको थालनी हुन्छ, जसलाई भनिएको छ – साहसिक यात्रा ः काठमाडौं–पेरिस–काठमाडौं । साहित्यिक दृष्टिकोणले यस कृतिको मूल भावभूमि यही हो ।

घरबाट एक्लै अनन्त यात्रामा जस्तै निस्केको एक यायावरको गन्तव्य त अमेरिका हो तर यात्राभित्रका सबै कुरा अनिश्चित नै हुन्छ । कहाँ बस्ने, कहाँ खाने, कहाँ कहिले पुग्ने भन्ने कुरो परिस्थितिले निर्धारण गर्नुपर्ने हुन्छ । यति हुँदाहुँदै पनि पर्याप्त रकम आफूसित छैन ।

भनिन्छ – जहाँ चाह त्यहाँ राह । जे जस्तो परिस्थिति आउँदै जान्छ, लेखक परिस्थितिसित पौंठाजोरी खेल्दै, कतै समस्याका जँघारहरू तर्दै यात्रालाई अगाडि बढाइरहेका छन् । अनेक रोचक घटनाहरू बाटामा सहयात्रा गर्ने पात्र बन्न पुग्दछन् । काठमाडौंबाट पटनासम्म आकाशमार्ग र पटनादेखि दिल्ली रेलमार्गको यात्रा हुन्छ । रेलयात्रामा एक अमेरिकी युवतीसितको भेट रोचक सहकार्य बन्न पुग्दछ । दिल्लीमा घुमफिर गर्दै अफगानिस्तान जाने चाँजोपाँजो मिलाउने क्रममा दिल्लीस्थित अफगानिस्तानी राजदूतावास पुग्दा यात्राले अर्को मोड लिन पुग्दछ । रेलमार्गबाट जान खोज्ने यायावरलाई यात्राका लागि दूतावासमा भेटिएका अर्का एक यात्रीले सहृदयी भाव देखाउँदै हवाइजहाजबाट नै जान सल्लाह दिन्छन् र सहयोग गर्दछन् । यसैबाट यायावर प्रभावित हुन्छन् र उनीसँगै जान तयार हुन्छन् । यायावरलाई भ्रमण गर्नुछ, तर्कसित सहमत भएपछि त्यसै गर्दछन् । दिल्लीबाट दुई घण्टामा काबुल पुग्छ हवाइजहाज । यात्राका लागि सहयोग गर्ने जर्मन हुन्छन् र काबुलको होटलमा जर्मन बूढाको नियतप्रति यायावरको मनमा शङ्का उत्पन्न हुन्छ र उनलाई सुतेकै अवस्थामा छाडेर निस्कन्छन् । बिल्कुलै अपरिचित ठाउँ, नुबुझिने भाषा र अन्जान अनुहारको नौलो शहरमा अलिकति चिनेकोलाई पनि छाडेर एक्लै हिंड्नुपर्दाको भावमय प्रस्तुति संवेदनशील छ ।

काबुलबाट कन्धार, हेरात हुँदै इरानको यात्रा बसमा हुन्छ । यो यात्रामा रोचकता अत्यन्त धेरै छ । डेनियल नामको बेल्जियन नागरिकसितको सहकार्य मानवीय दृष्टिकोणले उच्च कोटिको छ । हेरातबाट इरान प्रवेशको प्रसङ्ग यसरी लेखिएको छ – “हेरातबाट इरानको बोर्डर इस्लमकाला एउटा जिप चढेर गएँ । इस्लमकाला पुगेर इरान प्रवेश गर्न मैला गाडा वा रिक्सा चढेर बोर्डर पार गरें । बाटो धूलैधूलो र अति नराम्रो थियो ।” धेरै टाढाको परिवेश भए पनि पढ्दा लाग्दछ कि मधेस प्रदेशकै कुनै बोर्डरबाट बिहार प्रान्तमा प्रवेश गरेको वर्णन गर्दछन् यायावार ।

इरानको तेहरानमा ज्वरो आएको सन्दर्भ आउँदा संवेदनशील बन्न पुग्दछ पाठक । जहाँ कोही छैन, त्यहाँ ज्वरो साथी बन्न आइपुग्छ र यायावरको मनोविज्ञानलाई पनि प्रभावित बनाउन पुग्दछ । ज्वरो आउँदा भात खान नहुने सोचाइ विपरीत तेहरानमा एक अमेरिकीको सुझाव अनुसार टन्न मासुभात खाएर सुतेपछि ज्वरो भागेको सन्दर्भ घतलाग्दो लाग्दछ । तेहरानबाट इस्तानबुल बसबाट जाँदा पाँच रात चार दिन लाग्ने रहेछ । यो यात्रा पनि निकै रोचक छ । यात्राका अनेक दर्शन र भोगाइ पाठकले आफ्नै भोगाइ मान्न पुग्छन् । हरेक दिन ठीक समयमा उठ्ने भएकाले यायावरले बसका यात्रीहरूबाट उपनाम पाउँछन् मिस्टर अलार्म । इस्तानबुलमा बरालिने क्रममा आमासित रहेकी एक युवतीसित भेट भएको र त्यसपछि बढेको सद्भाव अवर्णनीय छ । प्रेम मनमा उम्रेको हुन्छ र भाषाले छेकबार उत्पन्न गर्दैन भनेजस्तो प्रेमकथा यायावर–युवतीको छ । इस्तानबुलकी ती युवतीसित यायावरको फेरि भेट हुन पाए हुन्थ्यो भन्ने फेरि पनि लागिरहन्छ पाठकलाई । यायावर यात्राकै क्रममा फर्केर आउँदा पनि भेटको आशा मनमा पालेका हुन्छन् । साँच्ची, निकै भावुक वर्णन छ, विप्रलम्भ शृङ्गारको ।

इस्तानबुलबाट रेलमार्गले बेलग्रेड पुगेपछि बेलग्रेडको स्टेशनमैं एक महिलासित भेट हुन्छ जो वास्तवमा कुनै ग्राहकको खोजीमा हुन्छिन् । यायावर उनकै घर पुग्दछन्, वासको लागि । निकै आरामदायी बसोवास र सुस्वादु भोजनले तृप्त हुन्छन् । यायावरको त्यहाँबाट यात्रा हुन्छ – बेलग्रेड टू मिलान, इटाली । सुविधा सम्पन्न रेलको यात्रा वर्णनले पाठकको मन लोभ्याउँछ । यायावरले आफ्नो औंठी बेचेका छन् यस रेलयात्रामा । मिलानबाट फ्रान्सको मार्सिल्लेसम्मको यात्रा पनि रेलबाट गर्दछन् । इटाली र फ्रान्सको बोर्डरमा भोगेको वास्तविकतालाई जीवन्तरूपमा प्रस्तुत गरिएको छ । फ्रान्समा साथीको घरमा बस्दाको वस्तुस्थिति जस्ताको त्यस्तै वर्णनमा लेखक यति इमानदार हुन्छन् कि सानातिना कुरा र साथीभाइबीचको गफगाफ पनि छोड्न चाहँदैनन् । परदेशमा पैसा कम भएपछि पर्ने अप्ठ्याराहरूलाई साँच्ची नै मर्मस्पर्शी ढङ्गले वर्णन गरिएको छ । कोही कहीं पाहुना लाग्न जाँदा केही हप्ता त धेरै फरक पर्दैन तर धेरै दिनपछि पर्न जाने अप्ठ्यारोलाई बडो सुन्दर ढङ्गमा वर्णन गरिएको छ यसमा । पेरिसलाई त सधैं जवान शहर पनि भनिन्छ । यस कृतिमा कृतिकारले देखे र भोगेको पेरिसको वर्णन गर्दा पाठकलाई कुनै जमानामा पढेको सम्झना हुन्छ – प्यारिस मुस्कुराउFछ रङ्गैरङ्गमा ।

होटलमा केही समयको लागि एक नेपालीसित भेट हुँदाको स्मरणले मनलाई छुन्छ ।

जुरिचको आसपासमा एकजना युवतीसित यायावरले बिताएको दिन पनि अवर्णनीय छ । यायावरको आँखाबाट प्रभावित ती युवती पछि यायावरकै दिलमा पसेकी छन् ।

ग्रीसमा हुने वाइन फेस्टिभलको सन्दर्भ नेपालीहरूको लागि बिल्कुलै नौलो हुन सक्छ ।

यसमा बेलायत र बेलायतबाट अमेरिका पुग्न नसकेको थकथकमा पाठकको सहानुभूति यायावरसित रहिरहन्छ । ऐतिहासिक एथेन्सबाट इस्तानबुल शहर आउँदा हवाइजहाजको यात्रा हुन्छ । इस्तानबुलमा पहिलेकै होटलमा बस्दा पाठकलाई एकचोटि पहिलेकै कथा दोहोरिएला कि जस्तो पनि हुन्छ । बसको टिकटमा साथीहरू ठगिएको कुरो, बहिनीसित बिहे प्रस्ताव गर्ने सन्दर्भ, बसमा छुरा प्रहारको विषय कम्ती रोचक छैन । पाकिस्तानको लाहोर शहरमा भोगाइको घृणास्पद स्वरूप प्रस्तुत छ – लाहोरमा अविस्मरणीय घृणा । दिल्ली हुँदै पटना र पटनाबाट हवाइजहाजमा काठमाडौं यात्रासँगै यस कृतिको शीर्षक पूरा हुन्छ । यस कृतिको मुख्य अंश पनि यही हो ।

कृतिभित्र आफ्नै जीवनी, आफ्नो परिवार र विवाह तथा अन्य सम्बन्धबारे जानकारी दिइएको छ । यस कृतिको अन्त्यतिर एउटा शीर्षक छ–आफ्नै जीवनका अविस्मरणीय लघुकथा । अत्यन्तै रोचक र प्रेरणाप्रद खुद्रा संस्मरणहरू यसमा समेटिएका छन् । शब्दहरूपछि फोटाहरू सजाइएका छन् । आफ्नो जीवनसित सम्बन्धित महŒवपूर्ण फोटाहरू यसमा समेटिएका छन् । फोटाहरूले कृतिको महŒव बढाएका छन्, साथमा कतिपय सन्दर्भमा आएका कतिपय पात्रहरूलाई कम्तीमा फोटो नै देख्न पाए हुन्थ्योजस्तो लागेको अवस्थामा कृतिले तिर्सनालाई अलिकति भए पनि शान्त पार्ने प्रयास गरिएको छ ।

कृतिभित्रको भाषा उत्कृष्ट छ । कृतिको विषयवस्तु चयन पनि गज्जब छ तर यसको प्रस्तुति अझ व्यवस्थित गर्न सकिन्थ्यो । यस कृतिलाई यात्रा अलिक विस्तार गरेर दुई कृति बनाउँदा साहित्यको क्षेत्रमा अलग महŒव हुन्थ्यो । पहिलो कृति हुन सक्थ्यो – काठमाडौं पेरिस काठमाडौं र रेल यात्रा । अर्को कृति हुन सक्थ्यो – साहस र आँटले डो¥याएको जिन्दगी ।

यति हुँदाहुँदै पनि कृति शक्तिशाली छ । अमेरिका पुग्न नसकेको देखाइए पनि साँच्चीकै साहसको स्रोतको रूपमा यो मूल्यवान कृति बन्न पुगेको छ । एउटा नेपाली केटाको यो साहसिक यात्रा हो र निष्कर्ष छ– आँटे सम्भव नहुने केही छैन ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here