• उमाशङ्कर द्विवेदी

सञ्जयले भने– महाराज, एकातिर त भीमसेनको रथ भाँचिएको थियो, अर्कोतिर कर्णले उनलाई आफ्नो वाग्बाणबाट निकै पीडित पारे, यसबाट उनी अत्यन्त क्रोधित भएर अर्जुनसित भने– धनञ्जय, सुनिरहेका छौ ? तिम्रो सामुमैं कर्णले मलाई भन्दैछ– हरे मूर्ख, नपुंसक, खञ्चुवा, गँवार बालक, कायर तिमी लड्न छाडिदेउ । मेरोबारेमा यस प्रकारका कुरा जसको मुखबाट निस्कन्छ, त्यो मानिस मेरो वध्य हो । त्यसैले तिमीले यसको वध गर्नको लागि मेरो कुरा सम्झिराख्नू र यस्तो उद्योग गर्नु जसको कारण मेरो वचन मिथ्या नहोस् ।

भीमसेनको कुरा सुनेर अर्जुन अगि बढेर कर्णको निकट गएर भने– पापी कर्ण, तिमी आफैंले आफ्नो प्रशंसा गरिरहेका छौ । संग्रामभूमिमा डटेका शूरवीर पुरुषहरूले दुईटा मात्र परिणाम प्राप्त गर्छन्– जीत वा हार । आज रणभूमिमा सात्यकिले तिमीलाई रथहीन गरिदिएको थियो, तिम्रा इन्द्रियहरू विकल भइरहेका थिए, तिमी मृत्युको मुखमा पर्न लागेका थियौ, तैपनि तिम्रो मृत्यु मेरो हातबाट हुनेवाला छ– यहि सोचेर नै सात्यकिले तिमीलाई जीवित छाडिदियो । दैवयोगबाट तिमीले पनि भीमसेनलाई रथहीन गरिदिएका छौ, तर यस्तो गरेर पनि तिमीले उनीप्रति कडा कुराहरू भनेका छौ, त्यो महान् पाप हो । यो नीच पुरुषहरूको कृत्य हो । आखिर तिमी त सूतपुत्र न हौ, तिम्रो विचार गँवारहरू जस्तै रहे पनि महापराक्रमी भीमसेनप्रति तिमीले जुन अप्रिय कुराहरू सुनायौ, त्यो सहन गर्न सक्ने खालको छैन । सम्पूर्ण सेनाको, मेरो र श्रीकृष्णको रोहबरमा भीमसेनले तिमीलाई अनेकांैपटक रथहीन पारिदिएका थिए तर तिमीप्रति कहिले पनि उनको मुखबाट यस्ता अप्रिय कुराहरू निस्केका थिएनन् । यति भएर पनि तिमीले उनलाई जुन कटु वचन सुनाएका छौ र मेरो अनुपस्थितिमा तिमी धेरैजना मिलेर सुभद्रानन्दन अभिमन्युको वध गरेका छौ, त्यस अन्यायको अब तिमीले शीघ्र नै फल पाउनेछौं । अब म तिमीलाई तिम्रा सेवक, पुत्र र बन्धुहरूसहित मार्नेछु । युद्धमा तिमीले हेर्दाहेर्दै तिम्रो पुत्र वृषसेनको वध गर्नेछु । त्यति बेला मोहवश यदि अन्य राजाहरू पनि आइहालेमा, उनीहरूको पनि संहार गर्नेछु–यो कुरा म आफ्नो शस्त्रहरूको शपथको साथ भन्दैछु ।

यस प्रकार अर्जुनले जब कर्णको पुत्रको वध गर्ने प्रतिज्ञा गरे, त्यति बेला रथिहरूले महान् तुमुलनाद गरे । यस्तो  अत्यन्त भयङ्कर युद्ध भइरहेकै बेला सूर्य अस्ताचलगामी भइसके । अर्जुनले यसअघिको प्रतिज्ञा पूर्ण गरिसकेका थिए । अतः भगवान् श्रीकृष्णले उनलाई अँगालो हालेर भने– विजय, बडो सौभाग्यको कुरा हो कि तपाईंले आफ्नो निकै कठिन प्रतिज्ञा पूर्ण गरिसक्नुभएको छ । यो पनि राम्रै भयो कि पापी वृद्धक्षत्र आफ्नो पुत्रको साथ मारियो । कौरवसेनाको सामु आएर देउताहरूको सेना पनि परास्त हुन सक्छ, यसमा कतिको पनि सन्देह छैन । अर्जुन, मलाई त तीन लोकमैं तपाईंबाहेक अन्य कोही पनि पुरुष देखा परिरहेको छैन, जसले यस सेनासित भिड्न सकोस् । तपाईंको बल र पराक्रम रुद्र, इन्द्र र यमराजको समान छ । आज तपाईं एक्लैले जस्तो पराक्रमको प्रदर्शन गर्नुभयो त्यस्तो कसैले पनि गर्न सक्दैन । यसै प्रकार तपाईंले बन्धु–बान्धवसहित कर्णलाई मारिसकेपछि पुनः बधाई दिनेछु ।

अर्जुनले भने– माधव, यो त तपाईंकै कृपा हो, जसबाट मैले आफ्नो प्रतिज्ञा पूर्ण गर्न सकें । तपाईं जसको स्वामी, रक्षक हुनुहुन्छ, त्यसको विजय हुनुमा कुनै आश्चर्य छैन । अर्जुनले यस्तो भनेपछि भगवान् श्रीकृष्णले बिस्तारै–बिस्तारै घोडाहरूलाई हाँक्दै हिडेर युद्धको त्यो दारुण दृश्य अर्जुनलाई देखाउन थाले । उनले भने– अर्जुन, जुन पुरुषहरूले युद्धमा विजय र महान् सुयश प्राप्त गर्ने इच्छा पालेका थिए, ती शूरवीर नरेशहरू आज तपाईंको बाणबाट मारिएर पृथ्वीमाथि सोत्तर परिरहेका छन् । यिनीहरूको मर्मस्थान छिन्नभिन्न भइसकेका छन् । यिनीहरू बडो विकलताको साथ मृत्युलाई प्राप्त भएका छन् । यद्यपि यिनीहरूको शरीरमा प्राण छैन, तैपनि आड्ढो दीप्तिको कारण यिनीहरू जीवितझैं देखिदैछन् साथै यिनीहरूका नानाथरीका अस्त्रशस्त्र तथा वाहन यत्रतत्र परिरहेका छन्, जसबाट संग्रामभूमि भरिएको छ ।

यस प्रकार संग्रामभूमिको दर्शन गराउँदै भगवान् श्रीकृष्णले स्वजनहरूका साथ आफ्नो पाञ्चजन्य शङ्ख बजाए । अनि अजातशत्रु राजा युधिष्ठिरको नजीक गई उनलाई नमस्कार गर्दै भने–महाराज, सौभाग्यको कुरो हो कि तपाईंको शत्रु मारियो, यसको लागि तपाईंलाई बधाई छ । तपाईंका भाइले आफ्नो प्रतिज्ञा पूर्ण गरे–यो बडो हर्षको विषय हो । यो सुनेर राजा युधिष्ठिर आफ्नो रथबाट हाम्फाले र श्रीकृष्ण तथा अर्जुनलाई अङ्कमाल गरे । त्यति बेला उनको आँखाबाट आनन्दाश्रू झरिरहेको थियो । उनले भने– कमलनयन, तपाईंको मुखबाट यस्तो प्रिय समाचार सुनेर आनन्दको सीमा रहेन । वास्तवमा अर्जुनले बडो अद्भुत कर्म गरे । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here