नवजननायकहरू ! नझुकोस् नागरिकको शिर

0
  • सञ्जय मित्र

आशा, निराशा, भावना, उत्साह, खुशी, आशीर्वाद आदि सबैको इन्द्रेणी देखिने चुनाव आफैंमा एउटा उत्सव हो, पर्व हो । प्रेम, रिस, द्वेष, घृणा तथा स्नेह र आत्मीयताको स्पष्ट प्रकटीकरण मतदानको अघि र पछि देखिने वा देखाइने संलग्नता हो । केही स्वार्थी र छद्मभेषीहरू भने जहाँ पनि हुन्छन् तर कहिलेकाहीं अत्यारिलो, अविश्वसनीय र अकल्पनीय दृश्यात्मक संयोजन पनि देखिन्छ चुनावमा ।

एकजनाको काँधमा एकजना चढेको र धेरैको अनुहार उज्यालो देखिएको यो अत्यन्त दुर्लभ दृश्य हो । जसको अनुहारमा धेरै अबिर लागेको छ, जसको घाँटीमा धेरै माला लागेको र जसले एकजनालाई बोकिराखेका छन्, उनी चुनाव हार्ने व्यक्ति हुन् । उनको अनुहार र हात तथा जीउ अबिरले पूरै पोतिएको छ । मुठी कस्सेर उचालेका छन् । सम्भवतः जिन्दाबाद नै भनेका छन् । जसलाई काँधमा बोकेका छन्, उनले चुनाव जितेका छन् । पहेंलो खादा लगाएको मानिसले चुनाव जितेका हुन् । हालै सम्पन्न पालिका चुनावका यी दुई प्रतिद्वन्द्वी हुन् । एकले हारे अर्को जित्ने वा एउटाले हारे अर्को जित्ने निकटतम प्रतिद्वन्द्वी । जसलाई काँधमा बोकिएको छ, अर्थात् जसले चुनाव जितेका छन्, उनी हुन् हेटौंडाका चर्चित साहित्यकार हयग्रीव आचार्य । उनी सेवानिवृत्त शिक्षक हुन् । उनको प्रतिस्पर्धा आफ्नै शिष्यसित थियो, वडाध्यक्षमा । शिष्यले चुनाव हारे र गुरुलाई शिरमा चढाए । गुरुलाई शिरमा चढाउँदाको उत्साह यसरी छचल्कियो कि उनी चुनावमा उम्मेदवार नै थिएनन्, आफ्ना गुरुका लागि मिहिनेत गरेका हुन् र गुरुलाई गुरुदक्षिणास्वरूप चुनाव जिताएका हुन् । गुरुले चुनाव जित्दा आफैंले जितेकोभन्दा बढी खुशी महसूस भएको हो ।

अझ अचम्म त यतिखेर बढ्छ कि देशभरमा एक किसिमले पूर्ण विरोधीको रूपमा रहेका दुई दलबाट दुवैजना उम्मेदवार बनेको प्रसङ्ग बाहिरिन्छ । एकले अर्काको तीखो आलोचना गरिरहेका दुई विपरीत ध्रुवका देखिएका दलका यी दुई उम्मेदवारले यसरी आफूलाई प्रस्तुत गर्दा एउटा सुखद आश्चर्य नै विस्तार भएको छ । गुरु हुन् नेपाली काङ्ग्रेसबाट चुनाव विजेता र चेला हुन् नेकपा एमालेबाट पराजित । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका–५ बाट उम्मेदवार बनेका सुशील घिमिरे पराजित भएपछि पनि आफ्ना गुरु नेपाली काङ्ग्रेसका उम्मेदवार आचार्य वडाध्यक्षमा निर्वाचित हुँदा आफ्नो गुरुलाई गरेको सत्कार, सम्मान र बधाई ज्ञापन कुनै पनि प्रतिस्पर्धाभन्दा माथि छ । यसले गुरु र शिष्यको संस्कारलाई अझ बढाएको छ । एकजनाले यसरी प्रतिक्रिया दिएका छन्– आदर्श गुरु आदर्श चेला, गुरु गुँड चिनी चेला ।

चुनाव हारेका उम्मेदवारले आफूमा अपार सम्भावना रहेको देखाइदिएका छन् । उनले चुनाव हारेका हुन् भन्ने कुरा आफूलाई नै लाग्न नदिएपछि उनका मतदाताले पनि मैले खसालेको मेरो मतको अझ बढी सम्मान भएको छ भन्ने कुरा बुझेको हुनुपर्छ । धेरै ठाउँमा जित्नेको मात्र मतको सम्मान भएको भन्ने ठान्ने मान्यता छ । तर यस ठाउँमा के जित्ने र के हार्ने दुवैको मतको सम्मान भएको जित्ने र हार्नेले जसरी समाजमा आफूलाई देखाइदिए, यसबाट स्पष्ट भएको छ । नतीजा सार्वजनिक हुनासाथ सबै प्रतिस्पर्धाको समापन हुन्छ भन्ने मान्यतालाई यहाँ धेरै उचाइबाट सम्मान गरिएको छ । वास्तवमा हुनुपर्ने पनि यही नै हो । प्रतिस्पर्धीमा विद्वेष वा वैरभाव हुँदा तिनका निकटस्थका समर्थकहरूमा पनि यो भावना विस्तार भएको हुन्छ । एकै गाउँठाउँमा बसे पनि दुई पक्ष हुन पुग्छन् र दुई पक्षमा सदैव एकअर्काप्रति अविश्वास रहन्छ । अविश्वासले राम्रो काममा पनि शङ्का उब्जाउँछ तर यसरी दुई प्रमुख प्रतिद्वन्द्वी एकले अर्कालाई सहयोग गर्न थालेपछि समय, श्रम, रकम सबैको सदुपयोग हुन्छ र यसले गर्दा समाजमा विकासले स्वतः सकारात्मक गति र दिशा लिन्छ ।

आशाको उमेर कति हो ? कुनै व्यक्तिले आफ्नो जीवनको चौथो पहरको घाम तापिरहेका छन् र पनि उनी चुनावप्रति अत्यधिक उत्साहित हुन्छन् भने तिनले आफूले पाउनेभन्दा समाजको राम्रो भएको चाहना राखेका छन् भन्ने बुझ्नुपर्छ । गौर नगरपालिकाको चुनावको अन्तिम परिणाम सार्वजनिक भइसकेर विजय जुलुसमा एक वृद्ध महिला सकिनसकी हिंडिरहेकी थिइन् । महिलाले पाउनुपर्ने केही बताइनन् तर अब सबैको राम्रो हुने दिन आएको बताइन् ।

यहींनेर मानिस आशावादी प्राणी हो भन्ने साबित हुन्छ । पहिला आफ्नो भविष्य राम्रो होओस् भन्ने बाल्यकालदेखिकै चाहना हुन्छ । जब आफूले आफ्ना व्यक्तिगत र पारिवारिक दायित्व पूरा भएको आफूलाई अनुभूति हुन्छ, तब सामाजिक दायित्वको सम्झना हुन्छ । मानिसले सामाजिक दायित्व पूरा गर्नैपर्छ । जसले सामाजिक दायित्व पूरा गर्दैन, ऊ अझै मानिस हुन सकेको हुँदैन । अहिलेको राजनीतिक वातावरणलाई अलिकति गहिरिएर हेर्ने हो भने यही सामाजिक दायित्व पूरा गर्नका लागि मानिसहरू तँछाडमछाड गरिरहेको देख्न सकिन्छ । नाम पनि हुने, दाम पनि हुने र सामाजिक काम पनि हुने त राजनीतिक पद नै हो नि, अझ जनताबाट प्रत्यक्ष अनुमोदित । जनतासित प्रत्यक्ष घुलमिल भएको र जनताको नजीक रहेर नै काम गर्नुपर्ने भएको हुनाले जनताले आफ्नो सेवा गर्ने मानिसको प्रतिस्पर्धा गराएका हुन् ।

जनताले प्रतिस्पर्धा गराउँछ । कसले बढी सेवा गर्छन् भनेर । यसैले नै हो मतदानको अघिल्लो क्षणसम्म मतदाताले सेवा गराउँछन् । जसले बढी सेवा गर्छन्, उनैको पछि लाग्छन् अर्थात् उनैलाई आफ्नो नेता बनाउँछन् । यसैले पनि धेरैले जनतालाई जनार्दन भन्ने गर्छन् । जनार्दन भन्नु चाहिं देवता नै हुन् र देवतालाई कुनै तिथि वा पर्वमा बढी फूल, अक्षता, माला वा अन्य कुरा अर्पण गरेर फकाउन चाहन्छन् उम्मेदवारहरू । जब जनताले आफ्नो नायक चुन्दछ, तब स्वतः जनताका नायक वा जननायक बन्न पुग्दछ । अहिले धमाधम जननायक चुनिंदैछन् । धमाधम चुनिएका छन् । जननायकहरूको जुलूस धमाधम भइरहेको छ । रङ र अबिरले जननायकहरू रङ्गिएका छन् र हरेक जननायकले उत्सव मनाइरहेका छन् ।

हो, अहिलेको व्यवस्थाले टोल, ग्राम, नगर र महानगर गरी अनेक तहका जननायक छानिरहेको छ । जननायक छानिएपछि जनता पनि उत्तिकै खुशी बाँडिरहेको छ, आफ्ना आवधिक जननायकलाई स्वागत गर्न र अझ राम्रो काम गर्न प्रोत्साहन दिइरहेको छ । अनेक ध्वजा पताकाले जुलूसलाई सिङ्गारिरहेको छ । यदि ध्वजा पताकालाई हेर्ने हो भने जुलूसमा सम्बन्धित दल वा गठबन्धनको, चुनाव चिह्नको र देशको झन्डा देखिन्छन् । देशको झन्डा जननायकहरूले प्रदर्शन गर्दा जुलूसमा विजेताप्रति हो कि देशप्रति हो, श्रद्धाभाव स्वाभाविक जाग्दछ । देशको झन्डा कुनै जुलूसमा सबै झन्डा र उम्मेदवारको पनि शिरभन्दा जब धेरै माथि देखिन्छ, तब लाग्दछ कि यो झन्डा कहिल्यै नझुकोस् । देशको झन्डातिर आफ्नो शिरलाई ठाडो पारी हेर्ने जनता जनार्दनको शिर पनि कहिल्यै नझुकोस् र नझुकोस् जनप्रतिनिधिका शिर । यथार्थमा नागरिकको शिर यही जननायकका कर्महरूले निर्धारण गर्छ कि ग्राम वा नगरका नागरिकको शिर कसरी रहन्छ । सबैतिर यही चाहना मुखरित भएको छ– यसपटक कतै नझुकोस् नागरिकको शिर । नवजननायकहरू बढी सजग हुनु आवश्यक छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here