काठमाडौं, ३१ वैशाख/रासस

मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि शुरू गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ ।

कुल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भएपनि धेरैजसो स्थानीय तहको मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरू पनि मन्द गतिमा सार्वजनिक भइरहेका छन् ।

निर्वाचन आयोगले छिटो मतगणना सकेर जिम्मेवारी सुम्पने गरी बनाएको कार्यतालिका यही तरीकाले मतगणना गर्ने हो भने प्रभावित हुने देखिएको छ । काठमाडौं महानगरपालिकाका सबै मतदानस्थलबाट शुक्रवार राति नै राष्ट्रिय सभागृहमा मतपेटिका जम्मा गरिएको थियो । सर्वदलीय सहमतिमा आज बिहान १० बजेदेखि शुरू भएको मतगणना अन्तर्गत साँझ ७ बजेसम्ममा जम्मा एक हजार १८० मत मात्रै गनिएको छ । यही हिसाबले मत गनिने हो भने महानगरपालिकाको मत गन्न धेरै समय लाग्नेछ ।

आज मध्याह्न १२ बजेसम्म काठमाडौंमा जम्मा १०० मत गनिएको थियो । पछिल्लो परिणाम अनुसार नौ घण्टामा करीब एक हजार १८० मत गनिएको छ । काठमाडौं महानगरमा कुल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको छ । आजको हिसाबले मतगणना गर्ने हो भने छ महीनामा मात्रै गणना सकिनेछ ।

अन्य महानगरको हालत पनि उस्तै छ । ललितपुर महानगरमा त काठमाडौंको भन्दा अझै सुस्त भएको पाइएको छ । मध्याह्न १२ बजेदेखि गणना शुरू भएको ललितपुरमा यो समाचार तयार पार्दासम्म जम्मा ४०० मत गनिएको छ । अहिलेसम्म प्राप्त विवरणमा शहरभन्दा भित्र पहाड तथा हिमाली क्षेत्रका केही पालिकामा मतगणना सम्पन्न भइसकेका छन् ।

यद्यपि धेरै पालिकामा मतगणना जारी छ । जसमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नै कडा प्रतिस्पर्धा देखिएको छ ।

उनीहरूविरुद्ध केही क्षेत्रमा बागी बनेर स्वतन्त्रबाट उम्मेदवारी दिएका र केही क्षेत्रमा नितान्त स्वतन्त्र उम्मेदवारले टक्कर दिइरहेका पाइएको छ । काठमाडौं उपत्यकामा भने स्वतन्त्रका उम्मेदवार बालेन्द्र शाहले सुरुआतदेखि नै अग्रता लिएका छन् । साँझ ७ बजेसम्मको मतगणनामा उनले ४०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वीका रूपमा देखिएका नेकपा (एमाले)बाट प्रमुख पदका उम्मेदवार केशव स्थापितले ३१९ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका काङ्ग्रेस नेत्री सिर्जना सिंहले २०२ मत प्राप्त गरेकी छन् ।

चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । उक्त महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर देखिएको छ । पछिल्लो चरणमा झिनो मतले दाहालले अग्रता लिएकी छन् ।

भरतपुरमा बिहान ११ः५३ मा मतगणना शुरू गरिएको थियो । राति यो समाचार तयार पार्दासम्म झन्डै ७०० मत गणना भएको छ । यो गणना अत्यन्तै सुस्त हो । अहिले भने भरतपुरमा गणना टोली बढाइएको बताइएको छ ।

ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली काङ्ग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबू महर्जनको अग्रता रहेको छ । वडा नं १ को गणनामा महर्जनले २०५ मत ल्याउँदा नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत प्राप्त गरेका थिए ।

बिहान गणना थालेको विराटनगर महानगरपालिकाले पनि साँझसम्म एक हजार हाराहारीमा मात्रै मतगणना गरेको छ । पोखरा महानगरपालिकामा अपराह्न ४ः३० बजेदेखि गणना थालिएकामा गणनाको गति त्यहाँ पनि सुस्त नै छ । गणनाको गति बढाउने प्रयास थालिएको सम्बद्ध निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा यसपालि विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी, छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत गरी ३९० निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गरेका छन् ।

यसपालि दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा थिए । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन आयोगका अनुसार निर्वाचनमा करीब ६४ प्रतिशत मतदान भएको छ । राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७९ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here