- सञ्जय मित्र
अलिअलि सम्झना छ, त्यो पनि मधुरो । चुनावको पहिलो सम्झनाको कुरो सम्झँदै छु । चुनावको सम्झनाको यो डोरो चार दशक पहिलेतिर पु¥याउँछ मलाई, जब म सानो थिएँ । म निकै सानो थिएँ, शायद विद्यालय जान थालेको थिएँ कि ?
त्यत्ति बेला गाउँमा टायरगाडाको आगमन भइसकेको थिएन । गाउँमा दुई/चार वटा साइकल पनि थिएन । एउटा रेडियो पनि थिएन । गाउँमा गन्यमान्य मानिसको घरमा मात्र कोही पाहुना आउँदाको रात लालटेन बल्दथ्यो, हैनभने टुकी नै रातको उज्यालो हटाउने सर्वप्रिय, सर्वाधिक चलेको र सबैको पहुँचमा भएको दीपक थियो । गाउँमा गन्यमान्य मानिसको छोरीको बिहेमा पेट्रोमैक्स बल्थ्यो मटीतेलवाला । कि त कसैको बरियातमा नाच हुन्थ्यो भने यो बालिन्थ्यो । विपन्न र मध्यम वर्गका मानिसको परिवारमा कुनै कार्यक्रम हुँदा लालटेनलाई नै ठूलो मानिन्थ्यो ।
गाउँमा बयलगाडा थियो, जसलाई गडी भनिन्थ्यो । टायरगाडाको अस्तित्व त अहिलेसम्म पनि छ तर गडी अर्थात् बैलगडीको अस्तित्व लोप भइसकेको छ । कतै पनि देखिन्न । यसमा प्रयोग हुने पाङ्ग्रा काठबाट निर्मित हुन्थ्यो । दुईवटा पाङ्ग्रा हुन्थे र दुवै काठबाटै बनेको हुनाले कठही गडी पनि भनिन्थ्यो । मुख्यरूपमा जब टायरगाडाको प्रचलन हुन थाल्यो, तब गडीलाई कठही गडी भनिन शुरू भयो । वास्तवमा पहिले यसलाई सोझै गडी भनिन्थ्यो ।
चुनावको स्मृतिसित गडी कसरी जोडिएको छ भने मैले पहिलो चुनाव हेर्न यही गडी चढेर गएको थिएँ । मेरो गाउँभन्दा करीब एक कोसभन्दा टाढा कसैले डेढ कोस पनि भन्दथे, विशुनपुर्वा मानपुरमा भोट थियो । त्यत्ति बेला चुनावलाई भोट नै भन्ने चलन थियो । शायदै कसैले चुनाव भन्दथे कि ? मलाई त्यत्ति बेला कसैले चुनाव भनेको सम्झना छैन ।
हुनेखाने कोही–कोही मात्र आफ्नो सान देखाउनको लागि साइकलमा जान्थे । गडी भाडामा चल्दथ्यो । हितमितसँग भाडा लिंदैनथे पनि । गडी प्रायः धनी मानिसको नै हुन्थ्यो । गाउँका मुखियाजी भोटमा भाग लिन साइकलमा जानुभयो । उनका चार जोर गोरु थिए । चारवटा गाडामा जोतिएका थिए । सबैमा पराल हालिएको थियो । परालमाथि मानिसलाई बस्न सजिलो हुन्थ्यो । त्यत्ति बेला शायद महिलालाई पनि मताधिकार थियो तर महिलामा कुनै उत्साह भएको देखिएको थिएन । एक गडी मानिस एकै छिनमा भरिए । म सबैभन्दा कान्छो भएकोले गडीको एउटा बाँस समाएर उभिएको थिएँ । गडी चल्न शुरू भयो । गडीको आवाज र हल्लाइले एउटा सङ्केत गरेकै हुन्थ्यो, गोरुको घाँटीमा बाँधिने घण्टीले यो गडी हो र गडी चलिरहेको छ भन्ने सङ्केत अरूलाई पनि दिन्थ्यो ।
गडीको पहिया ठूला ठूला हुने गर्दथे । र काठको हुनाले जमीनमा गुड्दा जति धेरै भारी हुन्थ्यो, त्यत्ति धेरै माटोमा पनि भासिंदै गुड्थ्यो । सडकमा गडी गुड्दा गुड्दा सडक खिइएको हुन्थ्यो । सडकमा जताबाट गडीको पहिया गुड्दथ्यो, त्यत्ता खाल्डो भइसक्थ्यो । कुन सडक कतिको चालू छ भन्ने कुरो दर्शाउन सडकको यही पहिलावाला खाल्डो नै प्रमाण हुन्थ्यो । गाउँको पर्तीमा भएको सडकमा रोकिएको गडीमा मानिसहरू भरिएपछि गडी खुल्यो विशुनपुर्वा मानपुरतिर । गाउँनजीकै चानी खोला छ । खोला गहिरो हुनु स्वाभाविक हो । खोलामा हल्का पानी थियो र खोलाबाट निस्कनको लागि गोरुमा धेरै बल चाहिन्थ्यो । अधिकांश गडी यहाँ फस्दथ्यो र गाउँका मानिसले ठेलेर बल्ल बाहिर निक्लन्थ्यो । मेरो गडी राम्रो, बलियो र नहार्ने छ भन्ने देखाउने एउटा तरीका थियो कि मानिस वा सामान जे छ, त्यो जस्ताको तस्तै राखेर गडीलाई खोला पार गराउँथे । हाम्रो गडीलाई खास कुनै अप्ठ्यारो भएन । गाउँछेउकै खोला र अभ्यस्त भइसकेका गोरुहरू भएकाले गहिरो खोलालाई पार गरेर अगाडि बढ्यो गडी ।
घाम माथि आइसकेको छ । अगाडि बढिरहेको छ गडी ।
भोट भइरहेको ठाउँमा पुग्छौं । त्यहाँ सिपाही पनि थिए । त्यत्ति बेला प्रहरीलाई अधिकांशले सिपाही नै भन्दथे । सिपाहीलाई देखेर अधिकांश मानिसको मनमा डर हुन्थ्यो । मानिस शान्त हुन्थे र सम्भव भएसम्म सानोतिनो गलती पनि नहोओस् भन्ने चाहना मनमा भइरहन्थ्यो ।
निकै चहलपहल थियो । अहिले मलाई अलिकति पनि सम्झना छैन कि कसरी कसले भोट खसाले । भोट खसाल्ने बाकस कस्तो थियो तर एउटा कुरो चाहिं सम्झना छ कि मानिसहरूको ठूलो लाइन थियो । बुबा पनि सोही लाइनमा बस्नुभयो । केही बेरसम्म त म पनि बुबासँगै लाइनमा थिएँ, बुबाको औंला समातेर उभिएको थिएँ । लाइन सँगसँगै म पनि अगाडि सरिरहेको थिएँ तर अलिक बेरपछि मलाई कसैले त्यो लाइनबाट हटाएका हुन् कि प्रहरीले अब अगाडि जान मिल्दैन भनेकाले हो, म त्यहाँबाट निस्केर एक ठाउँमा उभिन आइपुगें । मलाई जहाँ उभ्याइयो, त्यहाँ भुजा र पकौडा बेचिरहेका थिए, एकजना । भुजा र पकौडालाई हामी मुर्ही कचरी भन्थ्यौं । धेरैबेरसम्म उभिएर मुर्ही कचरी बेचेको हेरिरहें । घरमा शायद आमाले यो बेपार गर्नुहुन्थ्यो । वा, बेपार अझै शुरू गरिसक्नुभएको थिएन ।
मुर्ही कचरीको बिक्री भइरहेको थियो । म त्यहीं छेउमा उभिएको थिएँ । बुबा मत हाल्ने लाइनमा बिस्तारै अगाडि सर्दै हुनुहुन्थ्यो । एकछिनमा देखिन छाड्नुभयो । तर मलाई चिनेका एकजना काका पर्ने मेरो गतिविधि हेरेर बसिरहनुभएको थियो । म घरी बुबातिर र घरी मुर्ही कचरीतिर हेरिरहेको थिएँ । भलादमी यति कि खासै हलचल गरिरहेको थिइनँ । शायद काकालाई लागेछ कि मलाई भोक लागेको छ वा मलाई मुर्ही कचरी खान मन लागेको छ । काकाले दुई आनाको मुर्ही कचरी मलाई दिनको लागि भन्नुभयो । मलाई सम्झना छ, अलिकति मुर्ही र तीनवटा कचरी दुई आनाको आएको थियो । काकाले नै पैसा तिर्नुभयो वा बुबालाई तिराउनुभयो, यो कुरो अहिले सम्झना छैन तर म निकै खुशी भएको थिएँ । भोट खसालेर बुबा फर्किंदा म मुर्ही कचरी खाइरहेको थिएँ ।
बुबाले कसलाई भोट दिनुभयो, थाहा भएन । मलाई मतलब पनि भएन । मलाई त यत्ति थियो कि मैले भोट हेरें । आफ्नो गाउँबाट गडीमा बसेर अर्को गाउँसम्म पुगें । गडीमा बसेको आनन्द प्राप्त गरें । भोट हुने ठाउँमा हुने रमाइलो पनि देखें । सिपाही पनि थिए । मानिसको लाइन थियो र मुर्ही कचरी बिक्री भइरहेको थियो । मैले पनि मुर्ही कचरी खान पाएँ । त्यही मुर्ही कचरी घरमा हुँदा अलिकति कचरी खान मन लाग्थ्यो तर मुर्ही त छुनै मन लाग्दैनथ्यो । अर्को ठाउँमा त्यहीं खान पाउँदा स्वाद नै बेग्लै भयो । आनन्द र स्वाद दुवै बढेको थियो ।
सबैजनाको भोट सकियो । त्यहाँ मानिसहरूको भीड छँदै थियो । नजीकैको कलमा पानी खाएँ । कलको पानी धेरै चीसो थियो । हाम्रो गाउँमा मैले कल देखेको थिइनँ, कसैको घरमा । अनि भोटमा गएकाहरू सबैजनाले गडीमा बस्न भने । सबैजना बसे । म पनि गडीमा बसें, अब घरतर्फ फिर्ती सवारी थियो हाम्रो ।
चुनावको रमझममा देश नै अहिले रहेको समयमा अहिले मैले करीब ४३ वर्ष पहिले देखेको चुनावको धमिलो स्मृति यति नै सम्झन सकें ।