काठमाडौं, १४ वैशाख/रासस

यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँँपालिकाहरूमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न आआफ्ना दलका निकायहरूलाई निर्देशन दिने निर्णय गरिएको छ । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधवार बसेको पाँच दलीय गठबन्धनको बैठकले विभिन्न सात बुँदासहितका निर्णय गरेको संयुक्तरूपमा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकले छ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्र दलका तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्न निर्देशन दिने निर्णय भएको छ । गठबन्धनभित्रका पाँच दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेको सो विज्ञप्ति अनुसार गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने र छ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूका बीचमा सिट बाँडफाँटको समझदारी गर्ने सहमति भएको छ ।

यस्तै, नगरपालिका र गाउँँपालिकाहरूमा गठबन्धन दलहरूका बीचमा भइसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारीहरू फिर्ता गर्ने र गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्नेछन् ।

यसैगरी, विज्ञप्तिमा गठबन्धन दलहरूका बीचमा भइसकेको सिट बाँडफाँटमा समझदारी हुन नसकेका नगरपालिका, गाउँँपालिका र तिनका वडाहरू आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने र त्यसका लागि स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने तथा गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय पनि भएको छ । विज्ञप्तिमा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here