- सञ्जय मित्र
शिक्षा, चेतना र प्रज्ञा फरक पक्ष हुन् तर एक अर्कासित अन्तरसम्बन्धित भने अवश्य छन् । सामान्यतया के मानिन्छ भने चेतना सबैमा हुन्छ । सबैमा हुने चेतनाको स्तर अर्थात् चेतनतŒवको स्तर समान हुँदैन । मानिसमा विविधता ल्याउने एउटा तŒव चेतना पनि हो । जतिखेर औपचारिक शिक्षाको शुरूआत भएको थियो, त्यसभन्दा पहिले पनि मानिसमा चेतना थियो । यही चेतनाले नै मानिसलाई शिक्षातिर अगाडि बढाएको हो ।
शिक्षित मानिसलाई त्यत्तिकै चेतनशील मानिन्छ । चेतनशील मानिसको एउटा पहिचान आजभोलि शिक्षा पनि भएको छ । यसैले कतिपयको नजरमा शिक्षा भन्नु चेतना पनि हो । चेतनाको स्तरको विकास गर्नेमा शिक्षाको योगदान रहने कुरामा दुई मत नहोला । शिक्षा निरन्तर प्राप्त गरिरहने कुरो पनि मानिएको छ । शिक्षा जीवनपर्यन्त चलिरहन्छ भन्नेले यही कुरालाई स्वीकार गर्दछन् ।
यदि शिक्षा जीवनभर चलिरहन्छ भने शिक्षामा अध्ययनको महŒव कति ? के अध्ययन भनेको औपचारिक प्रमाणपत्र प्राप्तिको लागि कुनै संस्थाको परीक्षामा संलग्न हुनको लागि मात्र हो ? यदि शिक्षाको अङ्गको रूपमा पुस्तकलाई लिइएको छैन भने कसैले आफूलाई कसरी जाँचेको होला ? शिक्षाले व्यक्ति आफैंलाई जाँच्ने अवसर दिन्छ । आफूलाई अरूको नजरबाट जाँच्ने कि आफ्नो नजरबाट जाँच्ने ? यहींनेर शिक्षाको उपादेयताले पुस्तकको महŒव स्पष्ट पार्दछ ।
आज पनि यस्ता धेरै स्नातक छन् जो स्नातक पढ्दाको समयमा पढेका किताबबाहेक अन्य कुनै किताब पढेका छैनन् । स्नातकहरूले किताब नपढ्नु ठूलो विडम्बना हो ।
किताब अर्थात् पुस्तक पढ्नु एउटा संस्कृति हो । हाम्रो समाजमा शिक्षा र चेतनाको कथित विस्तार त भइरहेको छ । शिक्षाको नाममा विश्वविद्यालयका प्रमाणपत्रहरूको सङ्कलन वा सङ्ग्रह पनि भइरहेको छ । तर सोही अनुपातमा पठन संस्कृतिको विकास हुन सकेको छैन । यसै सन्दर्भमा अब के भन्न थालिएको छ भने शिक्षाको साथमा अब प्राज्ञिक शिक्षाको आवश्यकता पनि बढ्दै गएको छ ।
प्राज्ञिक शिक्षा औपचारिक र अनौपचारिक दुई किसिमले विस्तार गर्नुपर्छ । औपचारिक प्राज्ञिक शिक्षा त्यो हो, जुन विश्वविद्यालयबाट पाइन्छ र औपचारिक प्रमाणपत्र पाइन्छ तर अनौपचारिक प्राज्ञिक शिक्षा भने स्वाध्ययनले प्राप्त हुन्छ । स्वाध्ययनको सोझो सम्बन्ध पुस्तकसित हुन्छ ।
विकासको नाममा जति धेरै भौतिक निर्माण भइरहेका छन्, मानिसको अन्तर्मनमा प्राज्ञिकताको विकासको लागि मुश्किलले कतै पुस्तकालय निर्माण भएको कुरा सुनिन्छ । पुस्तकालय निर्माणको संस्कृति विकास हुन नसक्नु जति दुर्भाग्य छ, यसभन्दा धेरै ठूलो विडम्बना अध्ययन संस्कृति विकसित हुन नसक्नु हो । विडम्बनामाथिको दोस्रो तल्ला थप्ने काम स्नातकहरूले गरेका छन् । सर्वसाधारण स्नातकहरूमा अध्ययनको भोक छैन । पुस्तकको उपयोग र उपभोग गर्ने मनोवृत्ति छैन । र, फेरि पनि पुस्तक अध्ययनको संस्कृति छैन । पुस्तक अध्ययनको संस्कृति विकास नगर्नेमा अहिलेका स्नातकभन्दा पहिलेका स्नातक अझ बढी जिम्मेवार छन् ।
विडम्बनाको अर्को महल त्यहाँ देखिन्छ जहाँ पुस्तकको मूल्य नै बुझ्नेको अभाव छ । पुस्तकको मूल्य बुझाउने वर्ग नै अन्धकारमा छ । जसले उज्यालो दिनुपर्ने हो, ऊ नै यदि अँध्यारोमा छ भने उज्यालो कहाँबाट आउँछ । यदि स्नातक समाजले नै पुस्तकको अध्ययन गर्दैन भने स्नातक गरेर बसेका शिक्षित मानिस कथित शिक्षित मानिस बन्न पुग्दछन् र कालान्तरमा उनको ज्ञानको आकाश साँघुरो बन्न पुग्दछ । साँघुरो ज्ञानको आकाश लिएर आजका धेरै स्नातकहरूले आफू कुवाको भ्यागुतो बनेको बुझ्नै सकेका छैनन् किनभने अध्ययन नै गर्दैनन् । पुस्तक नै नपढेको वा पढ्ने बानी नभएको स्नातक त वास्तवमा एकपटक कोर्सको डिजाइन परिवर्तनपछि स्वतः पूर्व स्नातकजस्तो हुन पुग्दछ जुन कुराको अनुभव र अनुभूति स्वयंले गर्नुपर्ने हो । तर यो गर्न सक्ने सामथ्र्य पुस्तक अध्ययनबाट प्राप्त हुन्छ । अनि पठन–संस्कृतिको अभावमा त्यो ज्ञान प्राप्त गर्ने तन्तु नै कमजोर बनेको हुन्छ । ज्ञानको त्यो कमजोर तन्तुलाई बलियो बनाउने आधार वर्तमानमा धेरै कमजोर देखिन्छ ।
स्नातकलाई पढ्न सिकाउनेहरूले पनि पुस्तकको महŒव बुझ्न सकेका छैनन् । जब अरूमा ज्ञानको प्रकाश वितरण गर्ने दियो नै अँध्यारो हुन्छ भने उसले बाल्ने दियोले पनि अँध्यारो नै दिन्छ । अँध्यारो प्रकाशले आफ्नो अनुहार हेर्न वा चिन्न पनि कहीं कतैबाट ल्याएको उज्यालोको खोजी गर्नुपर्दछ । सापटी ल्याइएको वा बाहिरबाट किनेर ल्याइएको उज्यालोले कसैको अभ्यन्तरलाई प्रकाशवान् बनाउन सक्ला ? यस्तो उज्यालो मनभित्र एउटा दीपक बन्न सक्ला ? अरू दियोलाई उज्यालो बाँड्न सक्ला ? यही समस्या अहिले शिक्षा क्षेत्रमा देखिएको छ । शिक्षाको उज्यालो बाँड्नेहरू पनि अर्थात् स्नातक उत्पादन गर्नेहरू पनि यान्त्रिक बनिरहेका छन् । यन्त्रले यन्त्र नै उत्पादन गर्छ, आत्मा उत्पादन गर्न सक्दैन, हृदय उत्पादन गर्न सक्दैन । हृदयले नै हृदयलाई बुझ्न सक्छ, कुनै यन्त्रले हृदयलाई बुझ्न सक्दैन, बरु हृदयले यन्त्रलाई भने अवश्य बुझ्छ । कम्तीमा स्नातकलाई पढाउनेहरूले त ज्ञानविज्ञान र साहित्यका चर्चित कृतिहरूको अध्ययन गर्नुपर्दछ । पैसा आर्जन गर्नको लागि पढाउने र पढाएर पनि पैसा मात्र आर्जन गर्न सिकाउने हाम्रो शिक्षा प्रणाली यान्त्रिक बनिरहेको कुरा बुझ्नेहरूले एउटा यस्तो आन्दोलन चलाउनुपर्छ जुन अध्ययनसित सम्बन्धित होओस् ।
पुस्तक पढ्ने आन्दोलन हाम्रो पुस्ताले चलाउन सकेको छैन । यो आन्दोलनभन्दा पनि संस्कार र संस्कृति बसाल्नु जरूरी छ । हुनत सांस्कृतिक आन्दोलन पनि हुन्छ । पुस्तक अध्ययनको सांस्कृतिक आन्दोलन कसरी चलाउन सकिन्छ ?
पुस्तक अध्ययनको महŒव के हो ? यो किन जरूरी छ भन्ने प्रश्नको उत्तर खोजी गर्नु पनि एउटा महŒवपूर्ण उपलब्धि हुन सक्छ । साथै अर्को पनि एउटा तरीका छ कि पुस्तक पढ्नेले अन्य स्नातकलाई प्रश्न सोध्ने गरौं कि पछिल्लो समयमा कुन पुस्तक पढ्नुभयो ? पछिल्लो समयमा पढेको पुस्तकमा के थियो ? वा कस्तो पुस्तक अध्ययन गर्न मन पराइरहनुभएको छ ? तपाईंले पढेको पछिल्लो पुस्तकले कस्तो सन्देश दिएको छ र त्यो कृति किन अरूलाई पनि पढ्न सिफारिश गर्नुहुन्छ ?
हरेक शिक्षित समुदायलाई सोधिने प्रश्नहरूको सूचीमा यो पनि एउटा प्रश्न राखिदिने हो भने पठन संस्कृति मौलाउन अलिकति टेवा पुग्थ्यो । यसैसित सम्बन्धित अर्को पक्ष हुन सक्छ । कुनै राजनीतिकर्मी वा राजनैतिक पदमा पुगेका विशिष्ट व्यक्तिलाई प्रश्न सोध्दा कुनै पनि पुस्तकको नाम, लेखकको नाम वा यस्तै अन्य सन्दर्भ बनाएर सोध्न सकिन्छ । कुनै दस्तावेजमा भएको नाम पनि राख्न सकिन्छ । यसबाट अरूलाई पनि प्रेरणा प्राप्त हुन सक्छ । साथै विशिष्ट मानिसले पुस्तक पढिरहेको एउटा फोटो पनि राखिदिनु उचित हुन्छ ।
यदि कोही विशिष्ट मानिसले कुनै पुस्तक पढिरहेको छ भने त्यसको फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्दा अरूमा पनि पुस्तक पढ्ने संस्कृति वा अनुकरणको हस्तान्तरण हुने सम्भावना हुन्छ ।
आफूले पनि कुनै पुस्तक पढ्दा त्यसको फोटो सार्वजनिक गरौं । साथै यदि सम्भव छ भने उक्त कृति किन महŒवपूर्ण छ भन्ने कुरा पनि थोरै शब्दमा राखिदिउँ । अझ एक कदम अगाडि बढेर यदि सम्भव हुन्छ भने आफूले पढेको पुस्तकबारे एउटा लेख नै लेखिदिउँ । यसबाट एकातिर लेखक र प्रकाशकलाई प्रोत्साहन हुन्छ भने अर्कोतिर अन्य पाठकले पनि पढ्ने प्रेरणा प्राप्त गर्दछन् । अनि आफूलाई राम्रो मान्ने मानिसमा पनि पुस्तक पढ्ने इच्छा जाग्न सक्छ ।
पुस्तक दिवसको दिन कम्तीमा एउटा पुस्तक पढ्न प्रेरित गरौं । पुस्तक अध्ययन नगर्नु अनि समाजमा ज्ञानको विकास होस् भन्ने चाहना राख्नु दुई विपरीत कुरा लाग्छ । कम्तीमा महीनामा एक थान पुस्तक पढौं र अरूलाई पनि पढ्न सिफारिश गरौं । पुस्तक पढ्नेले सम्भव हुन्छ भने पुस्तक लेख्ने काम पनि गरौं । प्रज्ञा भएको मानिसले पुस्तक लेख्ने गर्दछन् भनिन्छ । यदि सम्भव हुन्छ भने आफूमा प्रज्ञाको खोजी गरौं र अरूको प्रज्ञाको कदर गरौं । हाम्रो समाजमा अहिले यस प्रकारको अध्ययन–संस्कृति चाहिन्छ ।