केही व्यक्तिलाई निद्रामा दाँत पिस्ने अथवा किटकिटाउने बानी हुन्छ । यथार्थमा यो बानी होइन, बरु रोग हो । निद्रामा दाँत किटकिटाउनुलाई मेडिकल भाषामा बु्रक्सिज्म भनिन्छ । यसले गर्दा उनीहरूको निद्रा प्रभावित हुन्छ, आपसमा दाँत किटकिटाउँदा दाँत पनि खिइन्छ, सास फेर्न समस्या हुन्छ । तर धेरैजसोमा यो रोग स्वतः निको पनि हुन्छ । निको भएन भने यसको उपचार गराउनुपर्छ । यसको लागि कुनै राम्रो डेन्टिस्ट अथवा इएनटी विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।
घर परिवारमा बच्चामा यदि दाँत पिस्ने वा किटकिटाउने समस्या छ भने यसलाई पेटमा कीरा भएको भन्ने गरिन्छ । बच्चाको पेटमा कीरा भएपछि उनीहरूले दाँत किटकिटाउने वा पिस्ने गर्छन् भन्ने गरिन्छ तर यसको कुनै वैज्ञानिक प्रमाण भेटिएको छैन ।
के रोग हो ? एउटा रिपोर्ट अनुसार दाँत पिस्नु एउटा बिमारी हो, जसमा मुखको दुवैतर्फको बङ्गाराको दाँत आपसमा पिसिन्छन् वा रगडिन्छन् । यस समस्याबाट पीडित व्यक्ति जब निद्रामा हुन्छ उसलाई यो कुराको अनुभूति हुँदैन कि उसले दाँत किटकिटाइरहेको छ । पीडित व्यक्तिलाई अन्य व्यक्तिले भनेपछि थाहा हुन्छ । क्विन्टको रिपोर्ट अनुसार मैक्स मल्टिस्पेसलिटी हस्पिटल, नोएडामा अर्थोडोन्टिक्स र डेन्टोफेशियल अर्थोपेडिक्सका निर्देशक डा चारू नैथानीको भनाइ छ बढीजसो मामिलामा यो रोग आफै निको हुन्छ । यदि यस्तो भएन भने डेन्टिस्ट वा इएनटी विज्ञसँग सम्पर्क गर्नुपर्छ ।
ब्रुक्सिज्म यानी दाँत पिस्दा मुखको मांसपेशीमा दुखाइ हुन्छ । यसको लक्षण भनेको निद्रामा दाँतबाट आवाज आउँछ । बिहान उठेपछि टाउकोमा हलुका दुखाइ हुन्छ । घाँटी खसखस गर्छ, बङ्गारामा जकडन, दाँतमा सेन्सेटिभी, टेन्शन, डिप्रेशन, अनिद्राजस्ता अन्य लक्षण पनि
देखिन्छ ।
दाँत किटकिटाउनुको पछाडि थुप्रै कारण हुन सक्छ । एउटा ठूलो कारण अब्सट्रक्टिभ स्लीप एप्निया पनि हो । यसको अलावा मुख बन्द गरेपछि दाँत आपसमा सही ढङ्गले बस्दैन, तनाव, थकान, रिस आदि पनि यसको कारण हुन सक्छ । त्यस्तै बढी मदिरा सेवन गर्नु, धूमपान र चिया/कफी बढी पिउँदा पनि समस्या हुन्छ । सुत्ने समय घुर्ने वा सासमा रोकावट भएपछि पनि मान्छेले निद्रामा दाँत किटकिटाउँछ ।
ब्रुक्सिज्मबाट जोगिन राम्रो निद्रा सुत्नुपर्छ । सात–आठ घण्टाको निद्रा निकै आवश्यक हुन्छ जसले हाम्रो बङ्गाराको मांसपेशीले आराम पाउँछ । सुत्ने समय टेलिभिजन, मोबाइल आदि प्रयोग गर्नुहुँदैन । चिन्ता, तनाव र अवसादबाट बच्न आवश्यक छ । यदि यस्तो समस्या छ भने चिकित्सकसँग उपचार गराउनुपर्छ । चिया, कफी, चुरोट, रक्सी आदि पिउनुहुँदैन । चिकित्सकको सल्लाहमा माउथ गार्ड पनि लगाउन सकिन्छ ।