नरेश यादव, पर्सागढी, २ वैशाख/

पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा चुनावी सरगर्मी बढेको छ ।

गत स्थानीय चुनावमा नगरप्रमुखमा निर्वाचित नितेन्द्र साहका साथै राकेशकुमार यादवको पनि यसपटक नगरप्रमुखमा दाबेदारी रहेको छ । गत चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर दोस्रो भएका सिंहासनसाह तेली यसपटकको चुनावमा जनता समाजवादी पार्टीबाट नगरप्रमुखको दाबेदार भएका छन् ।

गत चुनावमा मधेसी जन अधिकार फोरमबाट उम्मेदवारी दिएका रामबाबू साह तेलीको दाबेदारी यसपटक शिथिल भएको छ । माओवादी केन्द्रबाट शिवशङ्कर यादवको नाम चर्चामा छ । उनी गत स्थानीय चुनावमा नेकपाबाट उम्मेदवार भएका थिए । गत स्थानीय चुनावमा राजपाबाट उम्मेदवार भएर तेस्रो भएका शिव पटेल यसपटक नेकपा एमालेबाट दाबेदार छन् । उनीसँगै यो पदमा वर्तमान उपप्रमुख गायत्रीदेवी यादवका पति राजदेवप्रसाद यादवको पनि दाबेदारी देखिएको छ ।

गायत्री देवी पतिसँगै नेका परित्याग गरी हालै एमालेमा प्रवेश गरेकी छन् । एमालेबाट यहाँका दुवै दाबेदार नवप्रवेशी हुन् ।

अहिले सत्ता साझेदार दलहरूबीच गठबन्धन बनेपछि नेका, जसपा, माओवादी पार्टीका आकाङ्क्षीहरूको मनोबल घटेको छ ।

गठबन्धनबाट कसले टिकट पाउने भनेर उनीहरूमा निराशा छाएको हो । यी दलका नेताहरूले यस अघि गरेको चुनावी प्रचार शैलीमा अहिले शिथिलता आएको छ ।

उपप्रमुखमा गत स्थानीय निर्वाचनमा विजयी गायत्रीदेवी यसपटक नलड्ने भएकी छन् । उनको स्थानमा नेकाबाट सोनमतीदेवीको नाम चर्चामा छ । उपप्रमुख पदमा जसपाबाट हीरादेवी यादव, एमालेबाट सुषमा कुशवाहा र माओवादीबाट गेवान्ती सहनीको नाम चर्चामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here