जनकपुर, २९ चैत/रासस

मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरणसँगै पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा गर्ने लोकप्रिय योजना अघि बढाएको छ ।

मधेस प्रदेश सरकार अन्तर्गतको आमसञ्चार प्राधिकरणले प्रदेशको आठवटै जिल्लाबाट प्रकाशित–प्रसारित सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण तथा पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा गर्ने योजना बढाएको छ ।

प्रदेश सरकारले सञ्चारमाध्यम तथा सञ्चारकर्मीको आर्थिक अवस्थामा सुधार ल्याउँदै पत्रकारिता क्षेत्रको संरक्षण, संवद्र्धन गर्ने नीतिअनुरूप प्रदेश सरकारले प्रदेशभरिका पत्रपत्रिका, रेडियो एफएम, टेलिभिजन र अनलाइनलगायतका सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन दिने जनाएको छ ।

सञ्चारमाध्यमलाई उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन व्यवस्थापनसम्बन्धी कार्यविधि तयारी भइसकेको र सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा लगिने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । “हामीले २०७९ वैशाख महीनादेखि नै सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने तयारी गरिरहेका छौं,” उनले भने, “यसका लागि मुख्य कुरा कार्यविधि हो, हामीले कार्यविधि तयार पारेर छलफलमा लगिसकेका छौं ।” सरोकारवालाबाट आएको सुझावका आधारमा परिमार्जन गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाइने अध्यक्ष यादवको भनाइ थियो ।

प्रदेश सरकार अन्तर्गतको मिडिया काउन्सिलले प्रदेशभरिका सञ्चारमाध्यमको वर्गीकरण गर्ने र मिडिया काउन्सिलकै वर्गीकरणका आधारमा आमसञ्चार प्राधिकरणले लोककल्याणकारी विज्ञापन वितरण गर्ने प्रदेश सरकारको तयारी छ । तर मिडिया काउन्सिलले सञ्चारमाध्यमको वर्गीकरण गर्न नसकेकाले हालका लागि प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणकै आधारमा सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि, २०७८ मा आमसञ्चार प्राधिकरणले प्रस्ताव गरेको छ ।

लोककल्याणकारी विज्ञापनका लागि चालू आर्थिक वर्षमा रु दुर्ई करोड बजेट विनियोजन गरेको र आगामी वर्षहरूमा थप रकम विनियोजन गरिने प्रदेश सरकारबाट आश्वासन पाएको प्राधिकरणका अध्यक्ष यादवले बताए । यस्तै, इजाजत नवीकरण गरी कम्तीमा एक वर्षसम्म नियमितरूपमा प्रसारण गरेको विद्युतीय माध्यम तथा नियमानुसार दर्ता भई कम्तीमा एक वर्ष नियमितरूपमा समाचार अद्यावधिक गर्ने अनलाइन मिडियालाई मात्र प्रदेश सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने प्रस्तावित कार्यविधिमा उल्लेख छ ।

लोकल्याणकारी विज्ञापन प्रकाशन–प्रसारणका लागि सञ्चारमाध्यमले आमसञ्चार प्राधिकरणसँग स्वीकृति लिनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । आमसञ्चार प्राधिकरणले लोककल्याणकारी विज्ञापन गरेबापत सञ्चारमाध्यमले पाउने रकमसमेत कार्यविधिमार्फत प्रस्ताव गरेको छ ।

प्रस्तावित कार्यविधिमा क, ख, ग र घ वर्गका दैनिक पत्रिकाले क्रमशः १५ हजार, १२ हजार, नौ हजार र छ हजार रुपैयाँ पाउनेछन् भने क, ख, ग र घ वर्गका साप्ताहिक तथा अर्धसाप्ताहिक पत्रिकालाई क्रमशः १० हजार, आठ हजार, छ हजार र चार हजार रुपैयाँ भुक्तानी दिने प्रस्ताव गरिएको छ ।

पाक्षिक, मासिक, द्वैमासिक अन्य पत्रिकातर्फ क, ख, ग र घ वर्गमा रहेका पत्रिकालाई क्रमशः आठ हजार, छ हजार, चार हजार र दुर्ई हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने क, ख, ग र घ वर्गका समाचारमूलक अनलाइन मिडियालाई क्रमशः १३ हजार, ११ हजार, आठ हजार र  छ हजार रुपैयाँ भुक्तानी दिने प्रस्ताव गरिएको छ । त्यस्तै, एमएम रेडियोतर्फ क, ख, ग र घ वर्गका रेडियोलाई क्रमशः १२ हजार, नौ हजार, सात हजार र पाँच हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने टेलिभिजनतर्फ क, ख, ग र घ वर्गका टेलिभिजनलाई क्रमशः २५ हजार, २२ हजार, १९ हजार र १७ हजार रुपैयाँ भुक्तानी दिने उल्लेख छ ।

आमसञ्चार प्राधिकरणले प्रस्ताव गरेको लोककल्याणकारी विज्ञापनबापतको रकम कम भएको भन्दै सञ्चारकर्मीले पत्रपत्रिकाको रकम बढाउनुपर्ने सुझाव दिएका छन् । “प्राधिकरणले प्रस्ताव गरेको विज्ञापन रकम अत्यन्तै कम हो,” नेपाल पत्रकार महासङ्घ, धनुषाका उपाध्यक्ष अवधेश कामतले भने, “पत्रिकाका लागि प्रस्ताव गरेको भुक्तानी रकम अत्यन्तै कम हो, त्यसैले पत्रपत्रिकाको रकम बढाउनु आवश्यक छ ।” यससँगै बर्सेनि लोककल्याणकारी विज्ञापनबापतको रकम अनिवार्यरूपमा बढाइने व्यवस्था कार्यविधिमा गर्नुपर्ने उनको सुझाव थियो ।

यसका साथै सञ्चारकर्मीले लोककल्याणकारी विज्ञापन वितरण र भुक्तानीका लागि सहज प्रावधान राख्नसमेत सुझाव दिएका छन् । पत्रकारको क्षमता, दक्षता अभिवृद्धिसँगै सञ्चारमाध्यमको सबलीकरणका लागि कार्य गर्दै आएको आमसञ्चार प्राधिकरणले प्रदेशभरिका पत्रकारको लागि स्वास्थ्य र दुर्घटना बीमा गराउने योजनासमेत अघि बढाएको छ । जसका लागि प्राधिकरणले पत्रकारको स्वास्थ्य र दुर्घटना बीमासम्बन्धी कार्यविधि तयार पारेर सरोकारवालासँग छलफल शुरू गरेको छ ।

प्रस्तावित कार्यविधि मस्यौदामाथि महासङ्घ, रेडियो प्रसारक सङ्घ, टेलिभिजन सङ्घलगायतका सरोकारवाला सङ्घसंस्थाका पदाधिकारी तथा पत्रकारसँग कार्यविधिमा प्रस्ताव गरिएको व्यवस्थाबारे अन्तक्र्रिया गरी सुझाव सङ्कलन गरिरहेको आमसञ्चार प्राधिकरणका सदस्य अमरेन्द्र यादवले बताए । सरोकारवालाबाट आइरहेको सुझावका आधारमा कार्यविधिलाई अन्तिम रूप दिने र त्यसलाई पनि स्वीकृतिका लागि मन्त्रालयमा पठाइनेछ । मन्त्रालयबाट स्वीकृत भएपछि प्रदेशभरिका पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा गर्ने काम अघि बढ्ने सदस्य यादवको भनाइ छ । पत्रकारका लागि रु सात लाखको दुर्घटना बीमा र रु दुर्ई लाखको स्वास्थ्य बीमा गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

आमसञ्चार प्राधिकरणले लोककल्याणकारी विज्ञापन वितरण र पत्रकारको बीमा योजना शुरू गर्न लागेपछि मधेस प्रदेश सरकार अन्तर्गतको मिडिया काउन्सिलले पत्रकार आचारसंहितासम्बन्धी अन्तक्र्रिया सम्पन्न गरेको छ । पत्रपत्रिकाको वर्गीकरण, अनुगमन, पत्रकार आचारसंहिताको परिपालना गराउनेलगायतका जिम्मेवारी पाएको मिडिया काउन्सिलले प्रदेशभरि पत्रकार आचारसंहितासम्बन्धी अन्तक्र्रिया सम्पन्न गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here