कोरोना महामारीको समयमा नाइजेरियामा अर्को नयाँ रोग फैलिरहेको छ– लासा फिभर । यसले संसारमा नयाँ चुनौती उत्पन्न गर्न सक्ने चेतावनी दिएको छ । नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल अनुसार नाइजेरियामा यस वर्ष ८८ दिनमा लासा फिभरबाट १२३ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म ६५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
ब्रिटेनमा दुईजना रोगी भेटिएका छन् भने एकजनाको मृत्यु भएको छ । २५ प्रतिशत रोगी, जसले लासा ज्वरोलाई मात दिएका छन्, उनीहरूमा बहिरोपन भएको छ । यसमध्ये आधा रोगीको एकदेखि तीन महीनामा सुन्ने क्षमता फर्किएको पाइएको छ ।
२१ देखि ३० वर्षका मान्छे बढी सङ्क्रमित भए भने ४५ जना स्वास्थ्यकर्मी पनि यसको चपेटमा आएका थिए । ३६ मध्ये २३ वटा राज्यमा सङ्क्रमण पुष्टि भएको छ भने जनवरीदेखि मार्चसम्म १८.७ प्रतिशत मृत्युदर देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन अनुसार लासा फिभर एक्युट भाइरल हैमोरेजिक फिभर हो जुन लासा भाइरसको कारण हुन्छ । लासाको स्म्बन्ध भाइरसको परिवार एरिनाभाइरससँग छ । मनुष्य साधारणतया यसको चपेटमा अफ्रिकी मल्टिमैमेट मुसाको माध्यमबाट हुन्छन् । घरको सामान वा खाद्य पदार्थ जहाँ मुसाको मूत्र र फोहरबाट सङ्क्रमित हुन्छ र त्यसबाट रोग पैmलिन्छ ।
डब्लुएचओ अनुसार लासा फिभरको चपेटमा आउने ८० प्रतिशतमा सङ्क्रमणको कुनै लक्षण देखिंदैन । पाँचजनामध्ये एकजना सङ्क्रमितलाई गम्भीर समस्या हुन्छ । भाइरसबाट शरीरको प्रमुख अङ्ग कलेजो, स्प्लीन र मिर्गौला नराम्ररी प्रभावित भएको साक्ष्य भेटिएको छ । गम्भीर रोगीको मृत्युको कारण अङ्ग फेल हुनु हो ।
मान्छेमाथि लासा ज्वरोको प्रभाव दुईदेखि २१ दिनसम्म रहन्छ । अमेरिकी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनका अनुसार यस रोगको पहिलोपटक पुष्टि सन् १९६९ मा नाइजेरियाको लासा शहरमा भएको थियो । यसैले यसको नाम लासा राखिएको थियो । हरेक वर्ष औसतन एक लाखदेखि तीन लाख व्यक्ति लासा ज्वरोबाट पीडित हुन्छन् भने ५ हजारको मृत्यु हुन्छ । बेनिन, घाना, माली, सियरा लियोन, नाइजेरियामा यसको प्रकोप बढी हुन्छ ।
डब्लुएचओ अनुसार लासा भाइरसबाट सङ्क्रमित व्यक्तिलाई तीव्र ज्वरो, टाउको दुख्ने, घाँटी खसखसाउने, मांसपेशी दुख्ने, छाती दुख्ने, डायरिया, खोकी, पेट दुख्ने र मन आत्तिने हुन्छ । गम्भीर रोगीको अनुहार सुन्निने, फोक्सोमा पानी, मुख र नाकबाट रगत निस्किन्छ । रोगीको रक्तचापमा तीव्र गिरावट हुन्छ । नाइजेरियामा कोरोनाबाट अहिलेसम्म २ लाख ५५ हजार ३४१ सङ्क्रमित भएका थिए भने ३१४२ जनाको मृत्यु भइसकेको छ । २.४९ लाख व्यक्ति स्वस्थ भएका छन् । विशेषज्ञको भनाइ छ महामारीको बीच लासा फिभरको प्रकोप बढ्छ भने नाइजेरियासँगै संसारका अन्य मुलुकका लागि पनि समस्या बढ्न सक्छ ।