• विश्वराज अधिकारी

औद्योगिक क्रान्तिपूर्व वस्तुहरूको उत्पादन गर्दा मेशिन प्रयोग हुन्थेन । मानिसहरू केवल हातले आवश्यक सामान निर्माण गर्थे । हरेक वस्तु हातले निर्माण गर्दा थोरै समयमा ठूलो परिमाणमा उत्पादन सम्भव थिएन । त्यसकारण जे जति उत्पादन वा निर्माण हुन्थ्यो त्यो केवल जीवन निर्वाहका लागि हुन्थ्यो । औद्योगिक क्रान्तिपूर्व उत्पादनका लागि हातको प्रयोग गरिने भएकोले ठूलो परिमाणमा उत्पादन गर्न सम्भव नभएर व्यक्तिहरू धनी हुन कठिन थियो । औद्योगिक क्रान्तिपूर्व धनी र गरीबबीचको दूरी निकै कम थियो । धनीद्वारा गरीबमाथि गरिने शोषणको मात्रा पनि ज्यादै कम थियो ।

सन् १७६० मा बेलायतमा औद्योगिक क्रान्तिको सूत्रपात भयो । सन् १७६० देखि १८४० सम्म चलेको त्यो  औद्योगिक क्रान्तिले बेलायतलगायत युरोपका अन्य मुलुकहरूको आर्थिक स्थिति निकै बलियो पारिदियो । अमेरिकाले पनि औद्योगिक क्रान्तिको ठूलो फाइदा उठायो । बेलायतबाट बसाइँ सर्दा उद्योग व्यवस्थापनको विशेष अनुभव लिएर आएका बेलायतीहरूले उद्योग सञ्चालन गरे र अमेरिकालाई धनी तुल्याए ।

यही कालमा बेलायतमा भापबाट चल्ने इन्जिन भएको रेलको आविष्कार र व्यापक प्रयोग भयो । कपडा उत्पादन, फलाम उत्पादन आदिमा मेशीन प्रयोग गदाए उत्पादन सजिलो भयो र छोटो समयमा ठूलो परिमाणमा अनेक वस्तु उत्पादन गर्न सम्भव भयो । कारखाना प्रणाली र व्यवस्थित वितरणले ठूलो परिमाणमा उत्पादन त सम्भव भयो नै, वितरण पनि अनेक स्थानमा गर्न सकियो । परिणमस्वरूप बेलायत र युरोपका अन्य देशहरूमा धनढ्यहरूको सङ्ख्या ह्वात्तै बढ्यो ।

उपनिवेश स्थापना गर्न दक्षिण एशिया पुगेका अङ्ग्रेजहरूले मुख्यगरी भारतमा औद्योगिक क्रान्तिको विशेष लहर पु¥याए । कुनै समय यस्तो थियो जब औद्योगिक क्षेत्रमा भारत चीनभन्दा निकै अगाडि थियो । अंग्रेजहरूले ल्याएका अनुभवले अहिलेको भारत (त्यस बेलाका अनेक देशहरू) लाई औद्योगिक विकासतर्फ अग्रसर हुन निकै सहयोग पु¥यायो ।

अहिले वर्तमान विश्वमा, औद्योगिक क्षेत्रले चरम विकास गरेको छ । अहिले औद्योगिक उत्पादनको क्षेत्रमा मेशीनको प्रयोगका साथै प्रविधि पनि निकै उपयोग हुन्छ । अहिले उत्पादन र वितरण अभूतपूर्व किसिमले सरल एवं प्रभावकारी भएको छ ।

यस आलेखको उद्देश्य भने अति उद्योगीकरणले मानव जीवनमा कति सकारात्मक र कति नकारात्मक प्रभाव पा¥यो त्यसबारे चर्चा गर्नुरहेको छ । उद्योगीकरणले हाम्रो जीवनमा सकारात्मक प्रभाव पारेको सजिलै देखिन सक्छ, आउनुहोस् यसले पार्ने प्रायः अदृश्य तर नकारात्मक प्रभावबारे चर्चा गरौं ।

विखण्डित परिवारः

औद्योगिक क्रान्तिपछिको स्थिति विशेष किसिमको देखियो । विभिन्न देशमा ठूला–ठूला शहर स्थापना भए । कृषि कार्यतर्फ व्यक्तिहरूको आकर्षण घटेकोले शहरहरूमा ठूलो सङ्ख्यामा बसोवास हुन थाल्यो । शहरहरूमा उद्योग र व्यापार ठूलो परिमाणमा हुने भएकोले रोजगारको खोजी गर्दै मानिसहरू गाउँ छाडेर शहरतिर पलायन हुन थाले । यसरी उदाहरणका लागि, कुनै एउटै परिवारका चार सदस्य रोजगारका लागि चार भिन्न भिन्न शहरमा पुगे । कुनै एक परिवारका चारजना रोजगारका लागि चार पृथकपृथक शहरमा पुग्नु परेकोले पारिवार नराम्ररी विखण्डित भयो । कृषि युगमा भने परिवारका सबै सदस्य मिलेर कृषि कार्य सम्पन्न गर्नुपर्ने भएकोले कृषि युगमा दर्दनाक किसिमले परिवारहरू विखण्डित हुने स्थिति थिएन । अति उद्योगीकरणले अहिले विश्वभरि परिवारलाई अति दुःखद किसिमले विखण्डित पारिदिएको छ । अहिले एउटै परिवारका सबै सदस्य एउटै शहरमा बस्नु प्रायः असम्भव हुन पुगेको छ ।

पारिवारिक कलहः

कृषि युगमा परिवारका सदस्यहरू मिलेर सामूहिक उत्पादन गर्दथे । उत्पादनको वितरण वा उपभोग उनीहरूबीच समान किसिमले हुन्थ्यो । तर मानव सभ्यताले औद्योगिक युगमा प्रवेश गरेपछि एउटै परिवारका सदस्यहरू आफ्नो बौद्धिक क्षमता अनुसार फरक–फरक किसिमले आय आर्जन गर्न सके । एउटै परिवारमा, त्यसका सदस्यहरू फरक–फरक किसिमले आय आर्जन गर्न सक्ने स्थितिमा पुगेको हुनाले फरक–फरक आम्दानीले गर्दा परिवार अनेक कलहमा फसे । एउटै परिवारमा कम आय भएका सदस्य बढी आय भएका सदस्यहरूबाट अपहेलित भएको महसूस गर्न बाध्य भए । यो स्थिति खासगरी दक्षिण एशियामा बढी देखियो ।

अनावश्यक वस्तु एवं सेवा उत्पादनः

अहिले यो अति औद्योगिक युगमा केवल त्यस्ता वस्तु उत्पादन गर्न उत्पादकहरूले बढी जोड दिइरहेका छन् जसमा बढी मुनाफा होस् । कुनै वस्तुले उपभोक्ताहरूको हित गर्नुभन्दा त्यो वस्तुले उत्पादकलाई कसरी बढी मुनाफा हुन्छ, त्यसतर्फ उत्पादकहरूको ध्यान केन्द्रित हुन पुगेको छ । यो अति डरलाग्दो स्थिति हो । यस कारणले गर्दा अहिले बजारमा स्वस्थ खाद्यान्नभन्दा उत्पादक र बिक्रेतालाई बढी मुनाफा हुने वस्तु बिक्रीमा राखिएको पाइन्छ । अबको केही दशकमा धेरै जमीन उपयोग गरेर थोरै फल्ने र उत्पादकलाई मुनाफ कम हुने वस्तुहरू– जस्तै जीरा, धनिया, मेथी, तोरीको उत्पादन कम हुनेछ वा त्यसको मूल्य अति चर्को हुनेछ । यसविपरीत कम जमीन उपयोग गरेर धेरै फल्ने र उत्पादक एवं बिक्रेताहरूलाई बढी मुनाफा हुने वस्तुहरू बिक्री हुनेछन् । जस्तै कोभी, फर्सी, भन्टा आदिको उत्पादन बढी हुनेछ भने करैला, झिगुनी, भिन्डी आदि हराएर जानेछन् ।

यसैगरी बजारमा उपभोक्ताहरूलाई आवश्यक नभएका तर उत्पादकलाई बढी नाफा हुने वस्तुहरू–जस्तै स्मार्ट फोन,  स्मार्ट वाच, आइपैड, टेबलेट बजारमा ठूलो परिमाणमा देखा पर्नेछन् । यी वस्तुहरू प्राप्त गर्न एकातिर उपभोक्ताहरूमा लालसा ह्वात्त बढ्ने छ भने कम आय भएका व्यक्तिहरू यस्ता सामान खरीद गर्न अनेक आर्थिक अपराध गर्न तत्पर हुनेछन् ।

वातावरणीय ह्रासः

सन् २०१९ मा आरम्भ भएको कोभिड–१९ बाट संसारभरिमा अहिलेसम्म जति मानिसको मृत्यु भयो त्योभन्दा बढी मानिसको मृत्यु वातावरणमा आएको ह्रासले गर्दा भएको छ । अहिले संसारका ठूला शहरहरू वायु प्रदूषणले पीडित छन् । लाहोर (पाकिस्तान), गाजियाबाद, (भारत), दिल्ली (भारत), आग्वहुसकालीइन्तेज (मेक्सिको), लखनऊ (भारत), मुजफ्फरनगर (भारत), ढाका (बङ्गलादेश), पेशावर (पाकिस्तान) र हाजीपुर (भारत) विश्वका क्रमशः प्रथम देखि दशौं अति प्रदूषित शहर हुन पुगेका छन् । भनिन्छ दिल्लीमा बस्ने व्यक्तिमध्ये चुरोट नखानेले पनि वायु प्रदुषणले गर्दा दिनको २० देखि २५ चुरोट खाए सरह नोक्सान हुन्छ ।

कसरी विश्वभरि वायु प्रदूषित भएको होला ?

यातायातका साधन (हवाईजहाज, मोटर, पानीजहाज) तथा उद्योग सञ्चालनका लागि ठूलो परिमाणमा फोसिल फ्युल (पेट्रोलिय पदार्थ, कोइला, प्राकृतिक ग्याँस आदि) को प्रयोग हुन्छ । बढीभन्दा बढी वस्तु उत्पादन गरेर ती सामग्री बजारसम्म पु¥याउन उद्योग र यातायातका साधनहरूको निकै प्रयोग हुन्छ । अर्कोतिर बढी मुनाफा गर्न व्यापारीहरूले ठूलो परिमाणमा फोसिल फ्युल उपयोग गर्छन् । विश्वभरि भएका अनेक ठूला–ठूला अनुसन्धानबाट के पत्ता लागेको छ भने फोसिल फ्युलको उपयोगले गर्दा विश्व वातावरणको ह्रास डरलाग्दो किसिमले भएको छ । अति उद्योगीकरणले हाम्रो जीवन पहिलेभन्दा निकै सरल त भएको छ र केही व्यक्ति करोडौं कमाउन र अति धनी बन्न सफल भएका छन् । तर यो स्थितिसम्म पुग्न करोडौं ज्यान बलि भएको छ ।

के अति उद्योगीकरणले हामीलाई यथार्थमा अति फाइदा भएको छ ? अब यो महŒवपूर्ण प्रश्नको उत्तर खोजौं । अति उद्योगीकरणले हामीले जति पाएका छौं त्योभन्दा बढी गुमाएका छौं । अति उद्योगीकरणले गर्दा नेपाल, भारत, बङ्गलादेश, पकिस्तानजस्ता देशमा परिवारहरू अभूतपूर्व किसिमले विखण्डित भएका छन् । आगामी वर्षहरूमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तानजस्ता मुलुकको एकचौथाई जनसङ्ख्याको बसोवास विदेशमा हुने स्थिति आउन सक्छ ।

अति उद्योगीकरणले मानिसमा लालसा यति बढी भएको छ कि जस्तोसुकै राम्रो–नराम्रो काम गरेर पनि व्यक्तिहरू अर्ध एवं पूर्ण विलासी वस्तु खरीद गर्न लालायित छन् । केवल सुवियायुक्त जीवन बिताउने लालसामा अहिले, नेपालको सन्दर्भमा, ठूलो सङ्ख्यामा मानिस आफ्नो परिवार, गाउँ, समाज र संस्कृति परित्याग गरेर विदेश पलायन हुँदैछन् ।

अति उद्योगीकरणको सर्वाधिक ठूलो अवगुण त के छ भने यसले हामीलाई ‘नगद संस्कृतिमा बाँच्ने’ पारिदिएको छ । हामी आफू अब केही पनि उत्पादन नगर्ने र आवश्यक सबै सामल बजारबाट खरीद गर्ने स्थितिमा पुगेका छौं । प्रायः अहिले हामी, विश्वभरि नै, केवल श्रम मात्र उत्पादन गर्छौं । आफूले उत्पादन गरेको त्यो श्रम बेचेर नगद प्राप्त गर्छौं । प्राप्त नगदले जीवन निर्वाहका लागि अवश्यक कुरा खरीद गर्छौं । आफूलाई आवश्यक पर्ने न्यूनतम वस्तुसम्म उत्पादन गर्ने स्थितिमा छैनौं । हामी अहिले डरलाग्दो किसिमले नगदमा निर्भर हुने स्थितिमा पुगेका छौं । के यो स्थिति सुखद हो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here