भनिन्छ, जिम्मेवारीले मानिसलाई समयभन्दा पहिले हुर्काउँछ । यतिबेला एकजना युवकको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।  भिडियोमा एक युवकको जोश र मेहनतले मानिसलाई अचम्ममा पारेको छ ।

सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको भिडियोमा एकजना १९ वर्षीय युवक प्रदीप मेहरा रातिको १२ बजे भारतको राजधानी नयाँ दिल्लीनजीक नोयडाको सडकमा दौडिरहेको देखिन्छन् । युवकका हरेक पाइला उनकी आमाको उपचार र उनको सेनामा भर्ती हुने उद्देश्यले हो, जसले मानिसहरूलाई भावुक बनाएको छ । भिडियोमा युवकको अनुहार पसिनाले भरिएको छ तर पनि उनको अनुहारको चमक मानिसहरूको मुहारमा मुस्कान ल्याउन पर्याप्त छ । यस युवकको भिडियो फिल्म निर्माता विनोद काप्रीले शेयर गरेका हुन् ।

काप्रीले माइक्रो ब्लगिङ साइट ट्विटरमा यो भिडियो शेयर गरेका छन् । यस भिडियोमा काप्रीले युवकलाई कारबाट घरमा छोडिदिने प्रस्ताव राखेको सुनिन्छ तर उनी मान्दैनन् । भिडियोमा काप्रीले युवकलाई किन दौडिरहेको भनेर सोध्छन्, जवाफमा युवकले आफू उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको निवासी रहेको र आफ्नो सपना सेनामा भर्ती हुने रहेको बताएका छन् । फास्टफूड कम्पनी म्याकडोनाल्ड्समा काम सकिएपछि उनी दैनिक दौड्ने अभ्यास गर्छन् । यस क्रममा युवकले आफू नोयडामा आफ्नो दाजुसँग बसेको बताउँछन् । युवककी आमा अस्पतालमा भर्ना छिन् ।

काप्रीले सोध्दा युवकले दौड्ने समय नपाउने भएकोले कामबाट घर फर्कने क्रममा दौडेर घर जाने गरेको बताए । उनले दाइको लागि खाना बनाउन बिहान ८ बजे उठिसक्नुपर्ने बताए । जसले गर्दा उनले बिहान दौड्ने समय पाउँदैनन् । सेनामा भर्ती हुने चाहनाले उनी नोयडा सेक्टर १६ देखि बरौलास्थित आफ्नो घरसम्मको दूरी १० किलोमिटर दैनिक दौडन्छन् । दौडको क्रममा काप्रीले युवकलाई तिम्रो यो भिडियो भाइरल हुन लागेको छ भन्दा युवक भन्छन्, “मलाई कसले चिन्न छ र ? यो भिडियो भाइरल भयो भने ठीकै छ । मैले केही गलत गरिरहेको छैन ।”

काप्रीले युवकलाई डिनरमा जाने प्रस्ताव राख्दा युवकले भन्छन्– “यदि म तपाईंसँग डिनरमा गएँ भने मेरो भाइ भोको हुनेछन् ।” युवकको भाइ कम्पनीमा नाइट शिफ्ट गर्ने हुनाले युवकले घर पुगेर खाना बनाउनुपर्छ । यस्तो कुरा सुनेर काप्रीले युवकको धेरै प्रशंसा गर्दै अगाडि बढ्छन् । यतिबेला युवकको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ र सबैले उनको मेहनतको प्रशंसा पनि गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here