महोत्तरी, १ चैत/रासस

मधेसमा उल्लास र उमङ्गको पर्व ‘होली’ (फागु) नजीकिंदै छ । मधेसको प्राचीन मिथिला क्षेत्रमा सामान्यतया सबै घरपरिवार अहिले वर्षभरिका दुःख–सुख बिर्सेर ‘होली’को तयारीमा देखिदा छन् । यही नै मुसहर समुदायको बस्तीमा भने ‘होली’को रङभित्रै किशोर र युवामा पञ्जाब हिंड्ने तयारी छ ।

 “रौ, होली त लक्चियागेलौ, कहिया चल्बे ?” (ल, होली त आइसक्यो, कहिले जाने) मुसहर बस्तीमा आमरूपमा किशोर र युवा पुस्ताले एकअर्कासँग राख्ने जिज्ञासा यस्तै सुनिन्छ । जीवन गुजारा र घरपरिवारको प्रतिपालका लागि पञ्जाब जानु यो समुदायका किशोर र युवाको नियति नै देखिन्छ । थोरै जग्गाजमीन हुनेलाई साहुले ऋण पत्याउँछन्, त्यस्ता विदेश (भारतबाहेकका मुलुक) जान्छन् । आम मुसहर जग्गाविहीन हुनाले यिनीहरूको विदेश कमाइ भनेको भारतको पञ्जाब र हरियाणा नै हुने गर्छ । पासपोर्ट (राहदानी), भिसा केही नचाहिने र एकाध हजार बाटो खर्चको जोहोले पुग्न सकिने भएपछि मुसहर किशोर र युवाको कमाइको गन्तव्य हरियाणा, पञ्जाब हुने गरेको हो ।

कृषि कार्यमा पोख्त मानिने यो समुदायका किशोर र युवा पञ्जाब र हरियाणामा यसै कामले गरेको आर्जनले घरपरिवारमा चाडपर्वको खुशी दिन्छ । मुसहर बस्तीमा जुडशीतल (विक्रम संवत्को नयाँ वर्षमा मनाइने पर्व), छठ र होलीपछि हरियाणा, पञ्जाब जाने लहर चल्छ । ‘जो रे पञ्जाब, चल रे पञ्जाब’ (जाउ पञ्जाब, हिंड पञ्जाब) यी पर्वपछि मुसहर बस्तीमा यस्तै स्वर गुञ्जन्छन् । पाका अभिभावकले आफ्ना किशोर र युवा उमेरका भाइ, छोरा, भतिजालाई ‘जो रे पञ्जाब’ (पञ्जाब जाउ) र यी उमेरका किशोर र युवाले आफ्ना दौंतेरीलाई ‘चल रे पञ्जाब’ (हिंड पञ्जाब) भनेको सुनिन्छ । मुसहर युवाको श्रम गन्तव्य हरियाणा र पञ्जाब भएपनि यिनीहरू बेलीचालीमा भने उता जानुलाई ‘पञ्जाब’ नै भन्ने गर्छन् ।

मुसहर बस्तीमा घरका भाइ, छोरा, भतिजा पञ्जाब जाने तयारीमा लागेपछि यो अवसर नै खास पर्वजस्तै बन्छ । जोरजाम गरेर सुङ्गुरको मासु, घोङी (मुसहरको प्रिय परिकार मानिने शङ्खेकीरा जस्तै हिलोमा हुर्कने जीव) को झोल र मुसाको चटनी अनि लोकल खोयाबिर्के दारू (रक्सी)को चुस्की । बस्तीभरिका मुसहरको जमघट । भोलि टोलैभरिका केटाहरूको पञ्जाब प्रस्थान । पर्वपछि देखिने मुसहर बस्तीको दृश्य यस्तै हुन्छ । यसै क्रममा अहिले मुसहर बस्तीमा ‘होली’ को रङ (उत्सव) सँगै पञ्जाबको तयारी बढ्दो छ । ‘जो रे पञ्जाब, चल रे पञ्जाब’ चाडपर्व मनाएपछि बस्तीका किशोर र युवा पञ्जाब जाने तयारीमा लाग्नु पछिल्लो एक/दुई दशकयता मुसहर समुदायको चलनजस्तै बनेको छ । मुसहर बस्तीमा पर्व सकेर चैत लागेसँगै बुबा, काका पुस्ताले आफ्ना सन्तानलाई पञ्जाब जान अभिप्रेरित गर्न ‘जो रे पञ्जाब’ र किशोर युवा भने पञ्जाब जाने आफ्नो जमात बढाउन सम वयस्कलाई ‘चल रे पञ्जाब’ भनी रहेका भेटिने गर्छन् । जीवन गुजाराको मुख्य काम नै भारतको पञ्जाबमा कृषि मजदूरीलाई बनाएका मुसहर किशोर र युवा त्यता जाने तयारीमा लागेपछि उनीहरू बिदा हुने अघिल्लो रात बस्तीमा भोज खाने यो जातिको परम्पराजस्तै बनेको छ ।

 “हाम्रो टोलका केटाहरू अब एक साताभित्रै पञ्जाब जान्छन्,” महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरस्थित मुसहरीटोलका बिलासवा सादा मुसहरले भावुक हुँदै भने, “हामी होलीसँगै उनीहरूलाई पञ्जाब पठाउने भोजको तयारीमा जुटेका छौं ।” महोत्तरी जिल्लाका सबैजसो मुसहर जातिको बसोबासका बस्तीमा होलीसँगै अहिले पञ्जाबको तयारी छ । जिल्लाको बर्दिबास नगरपालिकाका बर्दिबास मुसहरी, बिजलपुरा, पशुपतिनगर, गौशाला नगरपालिकाका रजखोर र फुलकाहा, भङ्गाहा नगरपालिकाका रामनगर, सकरी, भङ्गाहा मुसहरी, कर्पुरगंज, टिकुलिया, अजगेवा, धर्मपुर, हतिसर्वा, सिङ्ग्याही, मेघरोल, धनसपुर र हरिनमरी, औरही नगरपालिकाका चेप्कोट, टिम्किया, भोइल, औरही मुसहरी, खोपी, एकडारा गाउँपालिकाको भटौलिया, लोहारपट्टि नगरपालिकाको डोठारा, लेउरी, पिपराढी र रामगोपालपुरसहितमा मुसहर जातिको सघन बसोबास रहँदै आएको छ । यी  बस्तीमा अहिले आमाहरू भारी मनले भर्खर १५/१६ टेकेका छोरालाई पञ्जाब बिदा गर्ने तयारीमा छन् ।

सम्पत्तिको नाउँमा सानो पराले झुप्रो मात्र भएका आफ्नो समुदायका किशोर र युवाको वैदेशिक रोजगारको गन्तव्य भनेकै भारतको पञ्जाब रहेको यस समुदायका बूढापाकाको भनाइ छ । “साहुले ऋण पत्याएका गाउँँका अरू समुदायका युवा कमाउन अरब कतार काहाँ काहाँ जान्छन्,” भङ्गाहा मुसहर बस्तीका परेग्वा सादाले भने, “हाम्रा छोरालाई त त्यति टाढा जाने रकम पत्याउने साहु (धनी) नै पाइँदैन, त्यसैले पञ्जाब नै जान्छन् ।”

पञ्जाब जान नागरिकता र राहदानी नचाहिने र बढी खर्च नलाग्ने भएकोले मुसहर समुदायका किशोर र युवाको रोजगारको गन्तव्य पञ्जाब हुने गरेको  छ । ‘कमाइ ल्यायो, भुटी खायो’ आहानका उदाहरण मुसहर समुदायमा अहिले पनि नागरिकता बनाउने, पढ्नुपर्ने र सामाजिक/राजनीतिक गतिविधिमा सरिक हुने मालिक (मुसहर गाउँँका उपल्लो जात भनिने अरू जाति समुदायलाई मालिकको सम्बोधन गर्छन्) हरूको काम भएको धारणा पाइने गरेको सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सामाजिक संस्था प्रयास महोत्तरीका अध्यक्ष जिल्लाकै एकडारा गाउँपालिकाको भटौलियाका बासिन्दा प्रवीण कर्णको भनाइ छ ।

जिल्लामा कृषि मजदूरको अभावले खेतबारी बाँझै रहने र यहींकै कृषि कार्यमा दक्ष मानिएका मुसहर भने कृषि मजदूरी गर्न पञ्जाब जाने कुरा उदेकलाग्दो भएको बुद्धिजीवीको टिप्पणी छ । यहाँको कृषि जनशक्ति यहीं लगाउन राज्यस्तरबाट कुनै अग्रसरता नदेखिनु उदेकलाग्दो कुरा भएको बर्दिबास बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीले बताए । सम्पत्ति कमाउने र  सञ्चित गर्ने सोचसम्म पनि नराख्ने मुसहर समुदायको पञ्जाब पलायन गुजारासँग मात्र जोडिएको छ । आफ्नो गाउँघर वरिपरि नै उचित बनी

पारिश्रमिक) पाए कलकलाउँदो उमेरको छोरालाई पञ्जाब पठाउनु नपर्ने कुरा आफ्ना लागि मीठो कल्पना हुने गरेको मुसहर बस्तीकी आमा बताउँछिन् । “केकरा ललसा नई जे परिवारके सब गोटे दुःखसुख बाइँट क सँगसाथ रही,”

(परिवारका सबै सदस्य एकसाथ दुःखसुख बाँडेर बसौं भन्ने कसलाई लाग्दैन र ?) अब एक साताभित्रै छोरो सुकनालाई पञ्जाब पठाउने तयारीमा रहेकी अजगेवाकी फुलोवती सादाले भनिन्, “मुदा, परिवारके गुजरबसरकेलेल बेटा के पञ्जाब भेज परैछै” (तर परिवारको प्रतिपालका लागि छोरा पञ्जाब पठाउनुको विकल्प छैन) ।

जिल्लाका मुसहर बस्तीबाट एकलट किशोर र युवा छठ सकिएलगत्तै पञ्जाब गइसकेका छन् । होलीका लागि पर्खेका किशोर र युवा अब धमाधम  पञ्जाब जाने तयारीमा रहेका छन् । “धेरैजसो हाम्रा नानीहरू लाग्दो मङ्सिरमैं पञ्जाब गइसके,” धमौराको दलित बस्तीका अगुवा उत्तिम सादा मुसहरले भने, “अब बस्तीमा देखिएका किशोर र युवा पनि एक साताभित्रै पञ्जाब जानेछन् ।”  सम्पत्ति आर्जन गर्ने कुनै लालसा नपालेका मुसहर समुदायका लागि छोरो पञ्जाबबाट फर्किएको दिन मनमाफिकको भोजन गर्ने अवसर हुने गरेको छ । त्यस दिन आफन्तसहित सुङ्गुरको मासु, मुसाको चटनी, घोङीको झोलसँगै घरैया दारू (घरेलु मदिरा) खाएर एकछिन नाचगान गरेपछि छोरो पञ्जाब गएको सार्थक ठानिने मुसहर समुदायको आम धारणा पाइने गरेको छ ।

 “अरू गाउँका मालिकले अरू चाडपर्व मनाउँछन्,” सकरीको मुसहर बस्तीका अगुवा रेबिया सादाले भनिन्, “हामीचैं  छोरो पञ्जाबबाट फर्केपछि जलसा (उत्सव) मनाउछौं ।” आफ्नो गरीबी र पछौटेपनप्रति सरकार, राजनीतिक दल वा राज्यका अन्य कुनै निकायप्रति कुनै गुनासो नरहेको मुसहर समुदाय आफूलाई भगवान्को खटनपटनले नै ठूलाबडाको सेवाका लागि बनाएको विश्वास गर्छन् । कुपोषण र खानकै कमीले ५० वर्ष नपुग्दै मृत्युको मुखमा पुग्ने मुसहर मुलुकमा जातीय उत्पीडन र पछौटेपनबाट मुक्तिका लागि भइरहेका जातीय र क्षेत्रीय आन्दोलनबाट बेखबर देखिन्छन् । यो समुदायका नानीहरूको विद्यालयमा पहुँच छैन । जिल्लामा करीब ३५ हजार हाराहारी जनसङ्ख्या रहेको यस समुदायबाट अहिलेसम्म एसइई उत्तीर्ण गर्नेको सङ्ख्या अझै ५० ननाघेको जिल्ला शिक्षा विकास एकाइ कार्यालय, महोत्तरीले नै स्वीकार गरेको छ ।

कृषि कार्यका लागि दक्ष जनशक्ति मानिने मुसहर समुदायको पञ्जाब पलायन रोक्न राज्य र सङ्घसंस्थाबाट पहलकदमी नभएको जिल्लाका बुद्धिजीवीले टिप्पणी गरेका छन् । यो कृषि मजदूरको जनशक्तिलाई छेक्न नसके मजदूरकै अभावमा जिल्लाका उर्वर जग्गा बाँझो रहने क्रम बढ्दै जाने जिल्लाकै भङ्गाहाको सीतापुरका बासिन्दा कृषि मन्त्रालयकै सहसचिवबाट अवकाश लिएका कृषिविज्ञ रामबहादुर भुजेलको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here