• – राजकुमार पराजुली

काभ्रेपलाञ्चोक, २६ फागुन/रासस

यही फागुन दोस्रो साता बनेपाका एकजना होटल सञ्चालकले पाँचखालका युवकसँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गाैला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवकले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौं रुपियाँँ दिने आश्वासन पनि दिए । युवकले ‘सोचौंला’ भन्दै उनीबाट छुट्टिएको सुनाए ।

मोटरसाइकलमा आउने गरेका केही पुरुषले मिर्गाैलाकै विषयमा पटकपटक कुरा गर्ने गरेको पाँचखाल नगरपालिका–७ जोर पिपलस्थित लामीडाँडा–पलाञ्चोक सडकखण्ड छेउ निवासी एक महिलाले बताइन् । “अहिले यस्तो कुरा नगर्नुस्, मिर्गाैलाको कुरा गर्नेबारे यहाँका नेतालाई भनेर सबै मिलेर लखेट्ने गरेका छौं भनेपछि भाग्छन्”–ती महिलाले भनिन् । उहाँका अनुसार जनप्रतिनिधिद्वारा त्यस्ता शङ्कास्पद व्यक्ति बस्तीमा आए तत्कालै खबर गर्न भनिएको छ ।

पाँचखालको होक्से तथा मण्डनदेउपुरको ज्याम्दी आसपासका बस्तीमा गोप्यरूपमा अझै पनि मिर्गाैला बेचबिखनका विषयमा कुराकानी गर्न जाने गरेको स्थानीयवासी बताउँछन् । “मिर्गाैलाको विषयमा कुरा गर्न कोही आए तुरून्तै खबर गर्न स्थानीयवासीलाई भनेका छौं”–पाँचखाल–८ का वडाध्यक्ष पुष्कार ढकालले भने । उनले फोन आए नम्बर र व्यक्ति स्वयं आए गाडी नम्बरसमेत उपलब्ध गराउन अनुरोध गरिएको बताए ।

मिर्गाैला आवश्यक पर्ने परिवार तथा तस्करी गर्नेले काभ्रे नै सम्झने गरेको घटना विवरणले देखाएको पाइन्छ । जिल्लाको होक्से र ज्याम्दी दुर्ई दशकदेखि ‘बैंक अफ किडनी’को नामले देश–विदेशमा बदनामी कमाएको क्षेत्रमा पर्दछ । पछिल्लो वर्ष मिर्गाैला बेच्नेहरू नै यसबारे चेतनामूलक अभियानमा लागेपछि तस्करीमा केही कमी आएको देखिन्थ्यो । तर यसै वर्ष मिर्गाैला तस्करीका दुर्ई घटना सार्वजनिक भएका छन् ।

गत साउन अन्तिम साता बनेपा प्रहरीले बनेपा नपा–५ का २८ वर्षीय एकजना युवकको मिर्गाैला बिक्री गरेको आरोपमा काभ्रेपलाञ्चोककै तीनजनालाई पक्राउ ग¥यो । उनीहरूले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवकलाई नै झुक्याएर उनको एउटा मिर्गाैला भारतमा लगेर बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । घटनाक्रमले भने जिल्लामा मिर्गाैला तस्कर पुनः सक्रिय भएको देखाएको छ ।

उक्त घटनामा भुम्लु गाउँँपालिकाका ३५ वर्षीय कुमार परियार, उनका भाइ ३३ वर्षीय देवराज र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई मिर्गाैला तस्करीमा संलग्न रहेको जनाउँदै समातिएको हो । आरोपितले ती युवकको एउटा मिर्गाैला भारतको कोलकातास्थित एमआरआई अस्पतालमा शल्यक्रिया गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको थियो । दाजुको मिर्गाैला बिक्री गर्ने तस्कर खोज्दाखोज्दै तस्करले निशानामा पारेका उनै युवकको जाहेरीपछि प्रहरीले तस्करीको खोजबिन थालेको थियो ।

काभ्रेबाट केही वर्षदेखि मानिसको शरीरको महŒवपूर्ण अङ्ग मिर्गाैला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करले काभे्र जिल्ला बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँँका २९ वर्षीय पुरुषलाई झुक्याएर उनको एउटा मिर्गाैला भक्तपुरका ५१ वर्षीय एक पुरुषलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए । उक्त घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । तर प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गाैला तस्करी गर्ने सातजनालाई विसं २०७० वैशाखमा कानूनी कारबाई गरेको थियो ।

जानेर–नजानेर आफ्नो शरीरको महŒवपूर्ण अङ्ग मिर्गाैला बेचेका उनीहरूको जीवनशैली दिनानुदिन कारुणिक बन्दै गएको देखिन्छ । विशेषगरी शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् । घटना विवरण अनुसार काभे्रको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्ष अघिदेखि मिर्गाैला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सातजनाले मिर्गाैला बेचेपछि उनीहरू विसं २०६८ मा गाउँँ छाडेर हिंडेका थिए ।

१९ वर्ष अघि मिर्गाैला बेचेका मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीका नवराज मिजार खुलेरै मिर्गाैला बिक्रीपछि दुखाइ कम गर्न रक्सी खाने गरेको र मिर्गाैला बेचेर आएको पैसा पनि सकेर जमीन पनि सकेको बताउँछन् । “अहिले त मैले रक्सी छाडिसकें, अब हामी मिर्गाैला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भनी सोच्दैछौं”–उनले भने । उनलाई ‘तस्कर’ले भारत, दिल्लीमा जागीर लगाइदिने प्रलोभन दिएर मिर्गाैला बेच्न बाध्य पारेको थियो ।

केही वर्ष अघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनाधिकार संरक्षण मञ्च (पिपिआर)नामक संस्थाको प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गाैला बेचेको उल्लेख छ । उसको प्रतिवेदनमा यीमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

मिर्गाैला तस्करीमा संलग्नलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुर्ई लाखदेखि पाँच लाखसम्म जरिवाना सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी व्यवस्था छ । नेपालमा मानव अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ को संशोधन २०७२ मा नाता पर्ने प्रायः सबैले अङ्गदान गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त ऐनले दुर्ई वा दुर्ईभन्दा बढी परिवारमा अङ्ग साटासाट गर्न सकिने व्यवस्था पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here