• सञ्जय मित्र

कलाकारहरूले दर्शकलाई तानेका हुन्छन् । अझ सिनेमाका कलाकारप्रति साँच्चै धेरै आकर्षण
हुन्छ । विभिन्न सिनेमामार्फत दर्शकहरूमाझ आइरहने कलाकारप्रति सर्वसाधारणको आकर्षण हुनुको कारण यो पनि हो कि लोकप्रिय हुन्छन् कलाकारहरू । कलाकारको लोकप्रियता भन्नु चाहिं तिनका सिनेमा चल्नु हो । सिनेमा धेरै चल्यो भने कलाकार धेरै लोकप्रिय भएको मानिन्छ । लोकप्रियता नाप्ने अन्य आधारहरू पनि छन् ।

अधिकांश मानिस परिचित कलाकारको अभिनय हेर्न चाहन्छन् । कलाकारसित मानिस उनको अभिनयले नै परिचित हुन्छन् । कलाकारको अभिनय हेर्ने दुई माध्यम छन्– प्रत्यक्ष र अप्रत्यक्ष । यदि धरातलमा उभिएर हेर्ने हो भने सबैभन्दा बढी मानिसले कलाकारको अभिनयलाई अप्रत्यक्ष माध्यमले नै देख्दछन् । अप्रत्यक्ष माध्यममा पनि दुई माध्यम हुन्छन्– सम्पादित अप्रत्यक्ष र असम्पादित अप्रत्यक्ष । सम्पादित अप्रत्यक्ष माध्यममा हामीले सोझो भाषामा भन्ने गरेका सिनेमा, टेलिसिरियलहरू पर्दछन् । एकचोटि छायाङ्कन गरेर त्यसलाई ल्याबमा सम्पादन गरी दर्शकमाझ पु¥याइने यस प्रकारका सामग्रीले दर्शकलाई बढी तानेको हुन्छ । यसको कारण के हो भने संवाद तथा गीत वा अन्य क्रियात्मक अभ्यासको समयमा पछाडिबाट अभिनयको भाव अनुसारको सङ्गीत बजिरहेको हुन्छ ।

सङ्गीतले बुझाइको उत्तेजनामा वृद्धि गरेको हुन्छ । बुझाइको उत्तेजना मात्र नभई सङ्गीतले त दृश्यको भावलाई पनि स्पष्ट पार्न सहयोग गरेको हुन्छ । असम्पादित अप्रत्यक्ष माध्यम भनेको ‘लाइभ’ हो । आजभोलि लाइभ अर्थात् प्रत्यक्ष प्रसारणको चलन धेरै बढेको छ । सामाजिक सञ्जाल फेसबूक, युट्युब, टेलिभिजन र यस्ता अन्य सामग्रीबाट धेरै दृश्यलाई प्रत्यक्ष प्रसारण गरिने चलन त बढेकै छ । यसरी प्रत्यक्ष प्रसारण भएपनि जो दर्शकले कुनै माध्यमले देख्दछन्, तिनको लागि त असम्पादित अप्रत्यक्ष नै हो । जसरी पहिले सम्पादित अप्रत्यक्षमा देखिन्छ, त्यसरी नै असम्पादित अप्रत्यक्षमा पनि देख्न सकिन्छ । यदि कोही प्रत्यक्ष प्रसारणलाई तत्काल हेर्न चाहँदैनन् र पछि हेर्न खोज्दछन् भने सम्बन्धित माध्यमले पछि हेर्न सकिने गरी व्यवस्थापन गरिरहेको हुन्छ । यसरी प्रत्यक्ष प्रसारणलाई पनि भण्डारण गरेर पछि हेर्न सकिने गरी व्यवस्था मिलाइएको सामग्रीको गुणस्तरमा खासै हेरफेर गरिएको हुँदैन । यस अर्थमा खासै भिन्न अवस्था देखिंदैन ।

प्रत्यक्ष अभिनय हेर्नु भनेको अभिनय गरिरहेको ठाउँमा हेर्नु हो । यसमा पनि दुई माध्यम हुन्छन्– प्रायोजित प्रत्यक्ष र स्वाभाविक प्रत्यक्ष । प्रायोजित प्रत्यक्ष अभिनयमा कहिले र कहाँ अर्थात् कुनै निश्चित दिन कुनै निश्चित ठाउँमा कलाकारलाई निम्तो दिएर बोलाइएको हुन्छ । यसरी कलाकारलाई निम्तो दिएर बोलाउँदा यसको प्रचारप्रसार गरिएको हुन्छ । प्रचारप्रसारले गर्दा दर्शकहरू पर्याप्त मात्रामा उपस्थित हुन पाउँछन् । जति धेरै दर्शक आउन पायो, कलाकारहरू उति धेरै उत्साहित हुन पाउँछन् । र स्वाभाविक प्रत्यक्ष भन्नु चाहिं कलाकारले अभिनय गरेको समयमा नै हेर्न पाउनु हो । उदाहरणको लागि कुनै सिनेमाको छायाङ्कन भइरहेको छ, त्यहाँ पुगेर हेर्नु । यस प्रकारको अभिनय वास्तविक अभिनय हो ।

यस प्रकारको अभिनय भइरहेको ठाउँमा कलाकारले अभिनय गर्ने हो अर्थात् निर्देशकले जे भन्ने हो त्यही गर्ने हो । जसरी गर्न लगाउने हो, त्यसरी नै गर्दै जाने हो । यसरी छायाङ्कन भइरहेको ठाउँमा भइरहेको अभिनयले अभिनय गर्ने तथा गर्न लगाउने र गराउने पक्षको संलग्नता हुन्छ । यहींबाट कलाकारको अभिनय र अभिनय क्षमताको पहिचान हुन्छ र यहींबाट प्रशंसा अगाडि बढ्न थालेको हुन्छ । यही प्रशंसाले सिनेमा, भिडियो, म्युजिक भिडियो तथा सिरियल निर्माणको क्रममा नै रहेको समयमा कलाकारको अभिनयले चर्चा पाउँदै गएको हुन्छ । कलाकारको अभिनयले पाउँदै गएको प्रशंसाले दर्शकको स्वाभाविक मन जित्दछ र कलाकारको लोकप्रियता बढ्दछ ।

कलाकारको लोकप्रियता बढ्नु भनेको नै धेरैले मन पराउनु हो । धेरै मानिसले मन पराएको कलाकारलाई जब कतै साक्षात् देख्न वा भेट्न पाउने अवसर आउँछ, तब नैसर्गिकरूपमा सर्वसाधारण माहुरी गोलामा झुम्मिएजस्तै आकर्षित हुन थाल्छन् । मानिस यसरी र यति धेरै आइदिन्छन् कि देख्न आएको हो भने कहिलेकाहीं नदेखिन पनि सक्दछ ।

वीरगंजको रङ्गशालामा एकपटक एकजना भारतीय कलाकार आउने कार्यक्रम थियो । कलाकार आएका पनि थिए तर कार्यक्रम खासै सफल हुन सकेको थिएन किनभने रङ्गशालाको क्षमताभन्दा धेरै बढी दर्शक नै आइदिएका थिए । जब कलाकारले अनुहार देखाए, तब होहल्ला भएको थियो ।

अहिले गत तीन वर्षदेखि नेपाली र भारतीय कलाकार मधानी महोत्सवमा मौलापुर आइरहेका
छन् । हरेक वर्ष दर्शक यत्तिकै आएको देखिन्छ । यसपटकको कार्यक्रम सकिएर भारतीय कलाकार खेसारीलाल यादव भारत फर्केपछि एउटा भिडियो जारी गरेका छन्, जसमा आफैंले पाँच लाख दर्शक उपस्थित रहेको र आफूले खूब नाचेको बताएका छन् । यहाँ दर्शकको सङ्ख्याको सन्दर्भ मात्र होइन, कलाकारले पनि धेरै दर्शकको बीचमा आफूलाई उभ्याउँदा अलग्गै अनुभूति हुने गरेको भाव पनि झल्किन्छ । कलाकारलाई दर्शक प्यारो हुन्छ र दर्शकले त कलाकारलाई हेर्न वा सम्भव भएसम्म भेट्नको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा जहाँ जहाँ कलाकारहरूको प्रस्तुति हुन्छ, त्यहाँ त्यहाँ पुग्ने दर्शकको सङ्ख्याले बताउँछ । विदेशमा पनि यसरी प्रत्यक्ष कार्यक्रम गर्दा दर्शकहरू उत्तिकै पुग्ने गरेको देखिन्छ ।

कलाकारमा एक किसिमको आकर्षित गर्ने क्षमता हुन्छ । अझ सिनेमा तथा सिरियलहरूमा सकारात्मक भूमिका निर्वाह गर्ने कलाकार र गीतमा नृत्य गर्ने कलाकारप्रति सर्वसाधारण अलिक बढी नै आकर्षित हुन्छन् । यसमा पनि यदि महिला कलाकार हो भने पुरुषहरू अझ बढी आकर्षित हुन्छन् । र एउटै ठाउँमा हरेक वर्ष विभिन्न कलाकारहरू आउने क्रमजस्तै कार्यक्रम यदि मौलापुरमा बन्दछ भने मौलापुरमा त कहिले जानु छ भनेर सबै काम छोडेर त्यहाँ पुग्ने दिन प्रायः निश्चित नै हुन्छ ।

जब लोकप्रिय कलाकार आउँछन्, तब सबै वर्ग, पेशा तथा समुदायका मानिस कलाकारको प्रस्तुतिलाई आफ्नो आँखाले जस्ताको तस्तै हेर्न पुग्दछन् । जहाँ कलाकारको प्रस्तुतिलाई हेर्नेको लागि कुनै बन्देज हुँदैन अर्थात् कलाकारको प्रस्तुति खुल्ला ठाउँमा र दिउँसो नै हुन्छ । त्यहाँ त सर्वसाधारणको उपस्थिति अति धेरै हुनुलाई स्वाभाविक मान्न थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here