• अनन्तकुमार लाल दास

कोरोनाको भय बिस्तारै मन्द हुँदै गएको छ तर पूर्णरूपेण अन्त्य नभएकोले सतर्क रहनु र सतर्कताका हरेक उपाय अवलम्बन गर्नु अहिले पनि नितान्त आवश्यक छ । मौसमले पनि बिस्तारै काँचुली फेर्दैछ । विद्यालयहरू पनि खुलिसकेका छन् । शैक्षिक सत्रको अन्त हुन अब केही महीना मात्र बाँकी छ । वर्षभरि तपाईंले के–के गल्ती गर्नुभयो, कति मस्ती गर्नुभयो त्यो सबै बिर्सेर अब स्मार्ट विद्यार्थी बन्ने बेला आइसकेको छ ।

वार्षिक परीक्षा कहिले हुने गाईंगुईं पनि सुन्न थालिएको छ । तर अहिले पनि केही विद्यार्थीको के शिकायत छ भने हामी रातभरि जागेर पढ्छौं र दिनभरि कठिन परिश्रम पनि गर्छौं तर आफूभन्दा कम मेहनत गर्ने साथीहरू परीक्षामा सफल हुन्छन् र आफ्नो तुलनामा धेरै अघि रहन्छन् । यदि तपाईं पनि यस्तै समस्याबाट ग्रसित हुनुहुन्छ भने यो आलेखले तपाईंको भ्रम भङ्ग गरेर सही दिशा निर्देश गर्नेछ, जसले तपाईंको अध्ययनलाई परिणाममुखी र तपाईंलाई स्मार्ट र तीक्ष्णबुद्धि भएको विद्यार्थी बनाउने छ ।

विद्यार्थीहरूले बुझ्नुपर्ने कुरा के हो भने पढाइको मामिलामा कति पढ्नुहुन्छ भन्ने महŒवपूर्ण नभई कसरी पढ्नुहुन्छ भन्ने कुराको महŒव हुन्छ । यदि तपाईं चौबीस घण्टामा १५ घण्टा पढ्नुहुन्छ तर पढ्ने तरीका सही छैन भने यसबाट लाभ हासिल हुँदैन । सही तरीकाले पढेर सात–आठ घण्टामैं अध्ययनलाई परिणाममुखी बनाउन सकिन्छ । यसको लागि सबैभन्दा पहिले अध्ययन गर्ने ठाउँ छनोट गर्नुपर्छ । त्यो घरको कुनै एउटा वा दुईटा कोठा हुन सक्छ वा घरको कुनै यस्तो कुना जहाँ टेलिभिजन नहोस् र बढी कुराकानी हुने ठाउँ पनि नहोस् ।

यदि तपाईंको सामु टेलिभिजन चलिरहेको छ वा मानिसहरू आवतजावत गरिरहेका छन् भने एकाग्रता भङ्ग हुन्छ र पढ्न मन लाग्दैन । अर्को त्यहाँ मेच र टेबल लगाउनु पनि त्यति आवश्यक छैन तर के सुनिश्चित गर्नुपर्छ भने त्यहाँ सही तरीकाले बस्ने ठाउँ होस् जहाँ तपाईं मन लगाएर वा ध्यानपूर्वक पढ्न सक्नुहोस् । एउटै ठाउँमा लगातार बसेर पढ्दा मन दिक्क हुन सक्ने भएकोले कुनै वैकल्पिक कोठा वा कुना पहिलेदेखि नै रोजेर राख्नु उचित हुन्छ ।

अहिले सबैको हातमा कोरोनाकालमा अनलाइन पढाइको लागि मोबाइल फोन पुगिसकेको छ । तर जब अफलाइन कक्षा प्रारम्भ भइसकेको छ त्यस अवस्थामा पढाइ गर्न बस्दा आफूसँग भएको स्मार्टफोनलाई साइलेन्स मोड वा पढ्ने बेला आफूभन्दा टाढा राख्नु नै बेस हुन्छ । यदि स्मार्टफोनलाई आफूसँग राख्नुहुन्छ भने पटकपटक फेसबूक नोटिफिकेशन त कहिले व्हाट्सऐप चेक गर्ने मन हुन्छ । केही होइन भने पढाइ गरिरहेको पोजमा सेल्फी लिने र साथीहरूलाई पढिरहेको जानकारी पठाउने मन हुन्छ । यदि तपाईं यी सबै केही गर्नुहुन्न भने पनि कहिले सेल्स प्रमोशनको एड वा कहिले कुनै साथीको फोन आउन सक्छ । यसबाट तपाईंको एकाग्रता भङ्ग हुन्छ । मनोवैज्ञानिकहरूका अनुसार स्मार्टफोन ध्यान भङ्ग गर्ने मामिलामा सबैभन्दा कुख्यात गजेट
हो ।

विद्यार्थीहरूले ध्यान दिनुपर्ने अर्को कुरा के हो भने भोक लाग्दा कोही पनि काम गर्न रुचाउँदैन । भोकाएको मानिसलाई रिस पनि चाँडै उठ्छ । पेट खाली छ भने एकपटकमा कुनै पनि विषय समझमा आउँदैन जसले गर्दा रिस उठ्नु स्वाभाविक हुन्छ । खान मन लाग्छ र तपाईं एकाग्रचित्त भएर पढ्न पाउनुहुन्न । स्वास्थ्य विशेषज्ञहरूको भनाइ के छ भने भोको पेट पढ्न बस्दा टाउको वा पेट दुखाइको समस्या हुन सक्छ । यस कारण राम्ररी खाजा वा खाना खाएर नै पढ्न बस्नु राम्रो हुन्छ । तर आफूसँग पानीको एउटा बोतल अवश्य राख्नुहोस् र अलिअलि गरेर पटक–पटक बिस्तारै पानी खानुहोस् । सँगसँगै केही ड्राइफ्रुट्स र स्वस्थकर स्नैक्स पनि राख्न सक्नुहुन्छ र भोक लाग्दा खान सक्नुहुन्छ ।

विद्यार्थीहरूले गुणस्तरीय अध्ययनको लागि हरेक दिन बिहान वा एक दिन पहिले राति सुत्नुभन्दा अगावै वा एक साताको लागि हरेक दिन विषयगत प्राथमिकताको आधारमा के, कहिले, कति र कसरी पढ्ने भन्ने कार्यतालिका बनाउनु पर्छ नत्र एक–एकगरी सबै किताब पल्टाउन थालियो भने के पढ्ने, के नपढ्ने सोच्दासोच्दै भ्रमित भई पढ्नै नसकिने हुन्छ र तपाईंको बहुमूल्य समय खेर जान्छ । कैयनपटक त कस्तो पनि हुन्छ भने कुनै कुरो नबुझ्दा पढ्न मनै लाग्दैन ।

यस कारण सबैभन्दा पहिले एक दिन वा दुई दिनका लागि बढीमा तीन विषय मात्र छनोट गर्नुहोस् तर एकपटकमा एउटै विषय पढ्नुहोस् । धेरै प्रकारको शोधले के देखाएको छ भने यदि तपाईं निरन्तर दुई–तीन घण्टासम्म कुनै विषय पढिरहनुहुन्छ भने तपाईंको मस्तिष्कले बिस्तारै कुरा ग्रहण गर्न बन्द गरिदिन्छ । राम्रो त के हो भने एक घण्टा पढेपछि पाँच–दश मिनेटको लागि ब्रेक गर्नुहोस् । यस बेला घरमैं यताउता घुम्न सक्नुहुन्छ वा झ्यालबाट बाहिर हेर्न सक्नुहुन्छ वा कुनै मीठो सङ्गीत सुन्न सक्नुहुन्छ वा हातमुख चीसो पानीले धुन सक्नुहुन्छ वा आँखा बन्द गरेर केही क्षणको लागि नाकको चौकीदारी गर्न सक्नुहुन्छ । यसबाट तपाईंको मस्तिष्कलाई आराम महसूस हुन्छ र त्यो रिचार्ज हुन्छ । दिमाग फ्रेश भएपछि पढेको कुरा सजिलै ग्रहण गर्न सकिन्छ ।

जब तपाईं पढ्न बस्नुहुन्छ त्यस बेला एकैपटक धेरै कुरा गर्ने गल्ती कहिल्यै पनि गर्नुहुन्न । कुनै एउटा चेप्टरमाथि मात्र फोकस गर्नुहोस् । एकपटकमा एउटा विषयको एउटै किताब पढ्नुहोस् वा नोट्स तयार गरेर त्यसबाट पढ्नुहोस् । मनलाई विचलित हुन नदिनुहोस् । यदि कुनै विषय विशेष पढ्न मन लागिरहेको छैन भने त्यस बेला आफे रुचिको विषय पढ्नुहोस् । तपाईंसँग हरेक विषयको पाठ्यक्रम अवश्य हुनुपर्छ । शुरु चरणमा तपार्इंको पूरा फोकस पाठ्यक्रम सम्पन्न गर्न हुनुपर्छ । अतिरिक्त कुराका लागि पछि विचार गर्नुपर्छ र पाठ्यक्रम बाहिरका कुरा पढ्न जोगिनुपर्छ । यदि पाठ्यक्रम सम्बन्धमा कुनै पनि प्रकारको भ्रम छ भने समयमैं विषयगत शिक्षकहरूलाई भेटेर भ्रमको निराकरण गर्नुपर्छ । यसबाट तपाईंको परिश्रम खेर जाने छैन ।

पढाइ गर्दा मनमा नकारात्मक सोच राख्नु भविष्यको लागि धेरै घातक हुन्छ । फेल हुने भय वा कुनै विशेष विषयप्रति भय तपाईंको वशको कुरो होइन । यस कारण यस खाले जुन पनि भय छ त्यसलाई मनबाट निकालेर बाहिर फ्याँक्नु नै तपार्इंको हितमा हुन्छ । विद्यार्थीहरूले के कुरा ध्यानमा राख्नुपर्छ भने कुनै पनि विषय विशेष कठिन हुँदैन । त्यसप्रति तपाईंको रुचि कम भएको वा त्यस विषयप्रति नकारात्मक धारणा भएकोले तपाईं राम्ररी ध्यान दिएर पढ्नुहुन्न जसले गर्दा तपाईंको परिणाम पनि त्यस विषयमा त्यस्तै प्राप्त हुन्छ । यदि तपाईंले आफ्नो दृष्टिकोणमा परिवर्तन गरेर सकारात्मक सोचका साथ राम्ररी ध्यान दिएर पढ्नुहुन्छ भने हरेक विषयमा तपाईं अब्बल हुन सक्नुहुन्छ । जुन विषयमा तपाईं स्वयंलाई कमजोर ठान्नुहुन्छ त्यस विषयमा बेग्लाबेग्लै लेखकहरूको किताबको अध्ययन गर्नुपर्छ । जुन लेखकको किताब तपाईंलाई बढी सजिलो लाग्छ त्यसबाट पढ्नुहोस् ।

कैयनपटक कुनै विषय वा पाठ वा कुनै सिद्धान्त लाख कोशिश गर्दा पनि बुझिंदैन । त्यसमा बढी समय खर्च गरेर मुड बिगार्नु वा निराश हुनुको साटो त्यस बेला त्यसलाई छाडेर अन्य कुनै विषय पढेर समयको सदुपयोग गर्नुपर्छ । पछि साथी वा समूहमा त्यसबारे छलफल गर्नुपर्छ । त्यहाँबाट पनि निष्कर्ष ननिस्केमा विषय शिक्षकलाई भेटेर आफ्नो शङ्काको समाधान गर्नुपर्छ र शिक्षक पनि उपलब्ध नभए गुगल बाबाको शरणमा जानुपर्छ र तपाईंको शङ्काको समाधान सजिलै भइहाल्छ । तर गुगलले दिएको सबै जवाफ सही नै हुन्छ भन्ने पनि होइन ।

यदि तपाईं साधारण विद्यार्थीजस्तै कुनै प्रकारले परीक्षा उत्तीर्ण गर्न चाहनुहुन्छ भने अर्को कुरा हो । यसका लागि ‘सुग्गा’ मात्र बने पुग्छ । तर यदि तपाईं एउटा स्मार्ट र तीक्ष्ण बुद्धि भएको विद्यार्थीको सूचीमा आफूलाई सामेल गर्न चाहनुहुन्छ भने कुनै पनि विषय र त्यसको अवधारणालाई राम्ररी बुझ्ने बानी बसाल्नुपर्छ । यसका लागि कुनै पनि पाठ पटकपटक पढ्नुपर्छ । कक्षामा शिक्षकको कुरा ध्यापूर्वक सुन्नुपर्छ र नबुझेका कुरामा अन्तक्र्रिया गर्नुपर्छ । घरमा गएर त्यस विषयको पुनरावृत्ति र अन्य सहयोगी पुस्तकहरूको अध्ययन गर्नुपर्छ । सँगसँगै इन्टरनेटमा सर्च गरेर त्यसमा अन्तर्निहित वस्तुमाथि ध्यान पु¥याउनुपर्छ । यसरी त्यस विषयमा अपडेट हुनुको साथै गहिरो दखल पनि बनाउन सकिन्छ ।

अन्त्यमा दिनभरि पढेका कुराको छोटकरीमा टिपोट बनाउनुपर्छ । दिनभरि पढेका कुरा राति एकपटक अवश्य सरसर्ती ध्यान दिनुहोस् । विषयले खोजेको ग्राफिक्स, चार्ट र ड्राइड्ढो सक्दो प्रयोग गर्नुहोस् । कुरा बुझ्न स्वयं ग्राफ, चार्ट र ड्राइङ तयार गर्नुहोस् । पढेका कुराबारे सम्बन्धित इन्टरनेटमा के जानकारी छ भन्ने ठम्याउनुहोस् । पाठ पढ्दा मुख्य कुरा हाइलाइट गर्ने बानी बसाल्नुहोस् । यसको लागि टेक्स्ट लाइनर पेंसिल प्रयोग गर्नुहोस् । पाठ पढ्दा मस्तिष्कमा आएका कुनै नौलो आइडिया वा नयाँ शब्दलाई कापीमा भएको मार्जिनभित्र पेंसिलले लेख्नुहोस् । मनोवैज्ञानिकहरूका अनुसार बोलेर पढ्दा छिट्टै र बढी समय याद रहन्छ । त्यसैले कहिलेकाहीं सस्वर पढ्नुहोस् यसरी पढ्दा जिभ्रो, आँखा, कान र मस्तिष्क एकाग्र र सक्रिय हुन्छन् । यस किसिमको स्मार्ट अध्ययनले स्मार्ट विद्यार्थी बन्न कुनै कुराले छेकबार लगाउन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here