– विश्वराज अधिकारी
पूँजी, प्रविधि र ज्ञान सजिलै एउटा मुलुकबाट अर्को मुलुकमा निर्यात गर्न सकिने यस उत्तर आधुनिक युगमा कुनै पनि राष्ट्रले चाहेमा आफ्नो आर्थिक स्थिति सजिलै बलियो पार्न सक्छ। वर्तमानको यो विश्व–आर्थिक वातावरणको उच्चतम सदुपयोग गरेर मलेशिया, सिंगापुर, बङ्गलादेश, इन्डोनेशिया, दक्षिण कोरियाजस्ता मुलुकले आफ्नो आर्थिक स्थितिमा धेरै सुधार ल्याए। विश्व बजारमा आफ्नो स्थिति र उपस्थिति अर्थपूर्ण पारे।
यस उत्तर आधुनिक युगमा गरीबीको सम्बन्ध रुपियाँ, पैसा, धन, सम्पत्तिसँग छैन। गरीबीको सम्बन्ध ज्ञानसँग छ। संस्कृति र जनताको राष्ट्रिय मनोविज्ञानसँग सम्बन्धित छ। आफ्नो ज्ञानको उच्चतम प्रयोग गरेर एउटा सानो राष्ट्र कतार अहिले आफ्नो क्षेत्रको शक्तिशाली राष्ट्रहरूमध्ये एक हुन पुगेको छ। अहिले सानो राष्ट्र कतारले आफूभन्दा ठूलो राष्ट्र साउदी अरेबियाको राजनीतिलाई प्रभावित गर्न सक्छ। सुडान, इथियोपिया, लिबिया, इरान, इराकजस्ता तुलनात्मकरूपमा ठूला राष्ट्रहरू आर्थिक समस्याको जालोमा फसेका छन्। आफ्नै गृह राजनीतिले गर्दा आर्थिक विकासको क्षेत्रमा पछाडि परेका छन्। इरानले त अहिले विश्वका अनेक मुलुकले लगाएको आर्थिक नाकाबन्दी बेहोरिरहेको छ। र त्यो आर्थिक नाकाबन्दीले गर्दा कुनै समयको सम्पन्न राष्ट्र इरानमा अहिले गरीबहरूको आर्थिक जीवन कष्टकर हुन पुगेको छ। इरान, पाकिस्तान, अफगानिस्तान यस्ता राष्ट्र हुन् जहाँ धार्मिक कट्टरता छ। अफगानिस्तानको शासन व्यवस्था नै कट्टर धार्मिक व्यक्ति (तालिबानी) हरूको हातमा छ भने इरानको सर्वोच्च पदमा धार्मिक गुरु–अली खमनेइ छन्। ती देशहरूमा प्रजातान्त्रिक कानून होइन, धार्मिक कट्टर नियमको सर्वोच्चता छ।
अब हामी आफ्नो देश नेपालको कुरा गरौं। हाम्रो देशको गरीबी हाम्रो ज्ञान एवं राष्ट्रिय मनोविज्ञासँग सम्बन्धित छ, धन, सम्पत्ति, रुपियाँ, पैसासँग सम्बन्धित छैन। सगरमाथाको अवस्थितिले गर्दा पर्यटनटका लागि विश्व प्रख्यात हुन पुगेको हाम्रो मुलुकमा जल स्रोतको कुनै अभाव छैन। वन, जङ्गल, जडीबुटीजस्ता प्राकृतिक साधन हाम्रो देशमा पर्याप्त मात्रामा छ। कृषिका लागि नेपाली भूमि विश्वमैं ज्यादै उपयोगी मानिन्छ। यहाँ जनतामा सीप छ, कुशलता छ। नेपालीहरू अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका छन्। भनिन्छ अहिले एक करोड जति नेपाली मुलुक बाहिर छन्। नेपालमा ठूलो परिमाणमा ‘रेमिट्यान्स’ आउने गरेको छ।
यति हुँदाहुँदै पनि हाम्रो मुलुककले किन आर्थिक विकास गर्न सकिरहेको छैन ? यति हुँदाहुँदै पनि हाम्रो देशले आर्थिक विकास गर्न नसक्नुको प्रमुख कारण हाम्रो राष्ट्रिय मनोविज्ञान हो। हाम्रो राष्ट्रिय मनोविज्ञानमा समस्या भएकोले हामी अक्षम, स्वार्थी, पदलोलुप, लोभी, अपराधी व्यक्तिहरूलाई निर्वाचित गरेर देशको नेतृत्व गर्ने स्थानमा पु–याउँछौं। त्यस्ताहरूलाई मन्त्री, प्रधानमन्त्री बनाउँछौं। अनि त्यस्ता व्यक्तिहरू शक्ति र सत्तामा पुगेपछि जनताप्रति जवाहदेह हुनुको साटो केवल आफ्नो स्वार्थमा केन्द्रित हुन पुग्छन्। उदाहरणको रूपमा, अहिले राष्ट्रिय राजनीतिमा, एमसिसी सहयोग विषयलाई लिएर नेताहरूले गरिरहेको भद्दा अभिनय हेरौं। उनीहरूको पदलोलुप व्यवहार र उनीहरूले व्यक्त गर्ने स्वार्थी विचारहरूको विश्लेषण गरौं।
यो आलेखमा मैले एमसिसी सहयोग नेपालले लिनुपर्छ वा लिनुहुँदैन भन्नेबारे चर्चा गर्नेछैन। यस आलेखमा केवल हाम्रा नेताहरूले एमसिसी सहयोगको व्याख्या कसरी आफ्नो स्वार्थका लागि गरिरहेका छन् त्यसबारे चर्चा गर्नेछु। हाम्रा नेताहरूको यस्तै स्वार्थी प्रवृत्तिले गर्दा देशको आर्थिक विकास हुन नसकेको हो भन्नेबारे चर्चा गर्नेछु। र यसरी जनता र नेताहरूको मनोविज्ञान एवं व्यवहारले गर्दा मुलुक साधन, स्रोत, धन, सम्पत्ति आदिले परिपूर्ण भए पनि गरीब हुन पुग्छ भन्नेबारे चर्चा गर्नेछु।
अहिले नेताहरूले धेरै भ्रमका खेती गरिरहेका छन्। त्यसमध्ये केवल एउटा खेतीको कुरा गरौं। र त्यो भ्रमको खेती उपर जनताले कसरी विश्वास गरिरहेको छ त्यसबारे चर्चा गरौं।
नेपालले एमसिसी सहयोग लिएमा तत्काल अमेरिकी सेना नेपालभित्र प्रवेश गर्नेछ भन्दै केही नेताहरूले भ्रम छर्दैछन्। सरकारको विधोध गर्न, अमेरिकाको विरोध गर्न, आफ्ना समर्थक एवं दलका कार्यकर्ताहरूलाई सडकमा प्रदर्शन गर्न, प्रहरीमाथि ढुङ्गा बर्साउन, सडक भत्काउन पठाइरहेका छन्। तर अर्कोतिर विरोधका लागि आफ्ना कार्यकर्ताहरू सडकमा पठाउने नेताहरूले देउवा सरकारको समर्थन मात्र गरेका छैनन्, एमसिसी सहयोग सम्झता स्वीकृत गर्नेछौं भनेर भित्रीरूपमा अमेरिकी दूतावासलाई भन्दै पनि छन्। यस्तो दोहोरो चरित्र भएको, देशको स्वार्थभन्दा आफ्नो स्थार्थ ठूलो देख्ने नेताहरूबाट पनि देशको आर्थिक विकास हुन्छ ? अनि यस्ता नेताहरूलाई पटकपटक निर्वाचित गरेर देशले गरीबीबाट उन्मुक्ति पाउँछ ?
अब अमेरिकी सेना नेपाल प्रवेश गर्ने बारे चर्चा गरौं। वर्तमान स्थितिमा अमेरिका कुनै पनि देशमा आफ्नो सेना पठाउने मनस्थितिमा छैन। उसको परराष्ट्र नीति (राष्ट्रपति जो बाइडेनको समयमा) द्वन्द्वग्रस्त राष्ट्रमा समेत अमेरिकी सेना नपठाउने रहेको छ। र यो नीति पछिसम्म कायम रहने छ। आफ्नो यस्तै नीतिले गर्दा सन् २०२१ को अगस्त महीनामा अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाएको थियो। छोटो सूचना र राम्रो तयारी नगरी अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएकोमा विभिन्न देशमा बाइडेन सरकारको आलोचना भएको थियो। अमेरिकाको यस्तो कदमको स्वयं हजारौं अफगानीले आलोचना गरेका थिए। जबकि अफगानिस्तानभित्र अमेरिकी सेनाहरू वर्षौंदेखि बसेको थियो।
अब एक अर्को विश्व परिस्थितिको कुरा गरौं। युक्रेनका दुई द्वन्द्वग्रस्त क्षेत्र–लुहान्स र डोनेस्क आफूलाई अलग देश मान्दछन् तर यो कुरा युक्रेनलाई कदापि मान्य छैन। युक्रेनले यी दुई क्षेत्र आफ्नो मुलुकको अभिन्न भाग मान्दछ। यसैबीच रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका यी दुई क्षेत्र लुहान्स र डोनेस्क स्वतन्त्र देश हुन् भन्ने वक्तव्य केही दिन पहिले दिएर अन्तर्राष्ट्रिय राजनीतिमा हलचल उत्पन्न गराएका छन्। त्यति मात्र होइन, पुटिनले ती दुई क्षेत्र लुहान्स र डोनेस्कमा रूसबाट शान्ति सेनासमेत पठाएका छन्। युरोपको यो क्षेत्र नै अहिले तनावग्रस्त छ।
पुटिनको त्यो कदमको विरोध गर्न चाहेको भए बाइडेन प्रशासनले लुहान्स र डोनेस्कमा अमेरिकी सेना पठाउन सक्थ्यो। युक्रेनलाई खुलेर सेनासहित सैनिक सहयोग गर्न सक्थ्यो। अमेरिका अहिले आफ्नो जनताले दिएको कर अन्य कुनै देशमा भएको द्वन्द्व साम्य पार्न खर्च गर्ने पक्षमा छैन। अर्थात् अमेरिका कुनै पनि देशमा आफ्नो सेना उतार्ने पक्षमा छैन। यस्तो स्थितिमा नेपालमा एमसिसी सम्झौता पारित भएमा कसरी अमेरिकाले सेना पठाउँछ ? भारत र चीनजस्ता अति शक्तिशाली राष्ट्रको माझमा रहेको देश नेपालमा आफ्नो सेना पठाउँदा अमेरिकालाई कुनै पनि किसिमको रणनीतिक फाइदा हुँदैन भन्ने कुरा अमरिकालाई राम्ररी थाहा छ। त्यसकारण अमेरिकी सेना नेपाल आउने कुरा नेपालका केही स्वार्थी नेताहरूले नेपालीमाझ छरेको भ्रम मात्र हो।
आफ्नो राजनीतिक लाभका लागि नेताहरूले एससिसी सहयोगबारे भ्रम छरिरहेका छन्। अनि त्यस्ता राजनीतिक दलका भ्रमित कार्यकर्ताहरू सडक तोडफोड गरिरहेका छन्, प्रहरीमाथि ढुङ्गा बर्साइरहेका छन्। ती कार्यकर्ताहरूले आफ्नो देशको सम्पत्ति (सडक, संरचना आदि) तोडफोड गरेर, आफ्नै दिदी बहिनी, दाजुभाइ (प्रहरी) लाई कुटेर एमसिसीको विरोध गरिरहेका छन्। के संरचना भत्काएर, प्रहरीलाई कुटेर मात्र विरोध हुन्छ ? नेताहरूले जस्तो सिकाए कार्यकर्ताहरूले पनि त्यस्तै गर्ने हो।
दोहोरो चरित्रका नेताहरू र त्यस्ताबाट भ्रमित कार्यकर्ताहरूबाट कसरी हुन सक्छ देशको आर्थिक विकास ?
अब एमसिसी सहयोगबारे सङ्क्षिप्त चर्चा गरौं। सबैभन्दा उत्तम विकल्प वा निर्णय एमसिसी सहयोग नलिनु हो। एमसिसी सहयोगबाट जति रकम प्राप्त हुन्छ त्यतिकै रकम नेपाल सरकारले जनतासँग ऋण (प्रचलित दरमा ब्याज भुक्तान गर्नेगरी) लिएर त्यो ऋण विद्युत्, सडकलगायत अन्य संरचना निर्माणमा खर्च गर्न सक्छ। तर सरकारमा रहेका वा अन्य राजनीतिक दलका नेताहरू त्यस्तो गर्दैनन् किनभने त्यस्तो गरेमा आफ्नो स्थार्थको राजनीति गर्न पाउँदैनन्। आफ्नो स्वार्थको राजनीति गर्न पाउने हुनाले अहिले नेताहरू आआफ्नो व्यक्तिगत र दलगत स्वार्थको हिसाबले एमसिसीको व्याख्या गरिरहेका छन्। कतिपय नेताहरूले एमसिसिलाई आउने चुनावमा उपयोग गर्ने रणनीति तयार पारेर बसेका छन्। कुनकुन नेताले दोहोरो चरित्र प्रदर्शन गरिरहेको छ, कुनकुन नेताले एमसिसी सहयोगलाई आआफ्नो स्वार्थ अनुरूप व्याख्या गरिरहेको छ हामीलाई थाहा भएकै कुरा हो। अनि फेरि त्यही कुरा आउँछ, यस्ता नेताबाट कसरी हुन्छ देशको आर्थिक विकास ? त्यसकारण म पुनः त्यो भनाइ दोहो–याउँछु– नेपालको गरीबी, हाम्रो देशको गरीबी धन, सम्पत्ति, स्रोत, साधनहरूको अभावसँग सम्बन्धित छैन, हाम्रो गरीबीको प्रत्यक्ष सम्बन्ध हाम्रो मनोविज्ञानसँग छ। हाम्रो दूषित र स्वार्थी राजनीतिसँग छ।
जबसम्म इमानदार नेता निर्वाचित गरेर शक्ति र सत्तामा पु–याउँदैनौं, जबसम्म राम्रो होइन हाम्रो मान्छे (नेताहरूलाई) भनिरहन्छौं, हामीलाई गरीबीले पछ्याइ नै रहने छ। त्यसकारण सर्वप्रथम सामाजिक मनोविज्ञानमा परिर्वतन गरौं। इमानदार नेतृत्व मात्र चयन गरौं।
नेताहरू इमानदार भएको भए एउटा साझा सहमतिमा पुगेर एमसिसी सहयोग लिने वा नलिने भन्ने ठोस निर्णय गर्थे। अहिलेजस्तो भद्दा सडक नाटक प्रदर्शन गर्ने थिएनन्।