डायनासोरको जीवाश्ममाथि गरिएको थुप्रै शोध अनुसार यस जीवलाई पनि अर्थराइटिस र क्यान्सरजस्तो बिमारी हुन्थ्यो । र हालै साइन्टिफिक जर्नलमा प्रकाशित एउटा नयाँ अनुसन्धानले भनेको छ, डायनासोरलाई पनि रूघाखोकी, ज्वरो हुन्थ्यो । वैज्ञानिकले डायनासोरको फोक्सोमा हुने सङ्क्रमणबारे पत्ता लगाएका छन् ।
वैज्ञानिकले यी रोगको प्रमाण डोली नामक एउटा डायनासोरको जीवाश्मबाट पाएका छन् । यो जीवाश्म जुरासिक पिरियडको हो । १५ करोड वर्ष पहिले जीवित यो डायनासोर शाकाहारी थियो र सोरोपोड्स प्रजातिको थियो । यो युवा डायनासोर लगभग १८ मिटर लामो थियो र यसको घाँटी पनि उत्तिकै लामो थियो । १५ वर्षको उमेरमा यसको मृत्यु भयो । यसको जीवाश्म पहिलोपट कअमेरिकाको मोन्टानामा सन् १९९० मा भेटिएको थियो ।
अमेरिकाको मोन्टानास्थित ग्रेट प्लैन्स डायनासोर म्युजियममा पेलियोंटोलोजीका निर्देशक डा कैरी वुडरफको भनाइ छ, हाम्रो टीमले डोलीको घाँटीको हाड जाँच गरे । यसमध्ये तीन हाडको आकार भिन्दै थियो । वैज्ञानिकका अनुसार यो हाड कुनै प्रकारले डायनासोरको सासतन्त्रसँग जोडिएको थियो । सिटी स्क्यान गर्दा डोलीको फोक्सोमा सङ्क्रमण फैलिएपछि त्यो हाडसम्म पुगेको पत्ता लाग्यो ।
वुडरफ भन्छन्, सङ्क्रमणको क्रममा डायनासोरलाई कुनै रोगी मान्छेसरह हाछयूँ गर्दथ्यो, ज्वरो आएको थियो । शोधमा वैज्ञानिकले डोलीको तुलना आजको समयका पक्षीसँग गरे किनभने दुवैको सास लिने तरीका समान छ । यस कुराको पनि सबुत भेटिएको छ कि डोलीलाई एस्परजिलोसिस सङ्क्रमण थियो । यो एक प्रकारको फङ्गल इन्फेक्शन हो, जुन मोल्ड कणलाई सुँघेपछि हुन्छ ।
वैज्ञानिकका अनुसार यो रोगको कारण डायनासोरको मृत्यु भयो । वुडरफका अनुसार उसलाई पनि त्यही रोग थियो जुन अहिले हामीलाई हुन्छ । सङ्क्रमणको कारण डोली निकै कमजोर भयो । एक्लो र लाचार भएपछि उसको शिकार अन्य कुनै डायनासोरले गरेको हुनसक्ने उनको आकलन छ ।