काठमाडौं, २ फागुन/रासस

काठमाडौं कपनकी १८ वर्षीया इभाङ्का रानालाई विगत छ वर्षदेखि छारेरोग देखिएको छ । उनलाई १२ वर्षको उमेरदेखि नै छारेरोग देखिएको हो । उनलाई पूरै जीउ काम्ने र बेहोश हुने लक्षण रहेको छ । “छारेरोग देखिने बित्तिकै चिकित्सकको सल्लाहमा औषधिसेवन गरेको हुँ,” उनी भन्छिन्, “नियमित औषधिसेवनले छारेरोग नियन्त्रणमा आएको छ ।” औषधिसेवनले रोग कम हुने उनको अनुभव छ ।

शुरूशुरूमा उनमा छारेरोगको लक्षण दिनहुँ हुने गर्दथ्यो । पछि औषधिसेवनले महीनामा सातदेखि आठपटकसम्म शरीर काम्ने र ढल्ने लक्षण देखिएकामा अहिले भने नियमित औषधिसेवनले लक्षण घटेर चारदेखि पाँचपटक मात्र हुने गरेको छ । उनी ढल्नुअघि कमजोरी महसूस हुने, मांसपेशीले काम नगरेको हुने र काम्नेसँगै तथा त्यसको पाँचदेखि छ मिनेटभित्रमा ढल्ने र बेहोश हुने गछिन् ।

“ढल्ने बेलामा टाउको दुख्ने र थाहा नहुने जस्ता समस्या हुन्छ,” उनी भन्छिन्, “त्यसपछि म बेहोश हुन्छु र ढल्ने गर्दछु ।” उनलाई प्रायः बिहान उठ्ने बेला र साँझ सुत्ने बेला शरीर काम्ने गर्दछ । दिउँसो भने कहिलेकाहीं मात्र शरीर काम्ने गरेको उनी बताउँछिन् । कपनकी राना एउटा उदाहरण मात्र हो । उनीजस्ता हजारौं छारेरोगी नेपालमा छन् ।

के हो छारेरोग, कसरी लाग्छ ?

महाराजगंजस्थित नेशनल न्यूरो सेन्टरका उपनिर्देशक तथा वरिष्ठ न्यूरोलोजिस्ट डा सुमन भट्टराईले नेपालमा प्रति एक हजारमा ७.३ जनामा छारेरोगको समस्या देखिने गरेको बताए । उनका अनुसार छारेरोग बालबालिकादेखि वृद्धवृद्धासम्म लाग्ने गरेको
छ । कसैलाई जन्मिंदा नै मानिसको मस्तिष्कमा अक्सिजन नपुगेर छारेरोग लाग्न सक्ने डा भट्टराई बताउँछन् । मानिसको उमेर बढ्दै गएपछि प्यारालाइसिस, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस जस्ता समस्याले गर्दा पनि छारेरोग देखिने गरेको उनले प्रस्ट पारे ।

“छारेरोग ५० प्रतिशतमा कारण खुल्ने हुन्छन्, तर ५० प्रतिशत भने कारण नदेखिने खालको हुन्छ,” उनले भने, “नून, क्याल्सियम र सुगरको मात्रा कम भएपनि छारेरोग देखिने गर्दछ ।” छारेरोग मानिसको मस्तिष्कमा आउने कुनै पनि अस्वाभाविक विद्युतीय तरङ्ग हो । त्यसले मस्तिष्कको भागलाई अनियन्त्रित गर्दछ । त्यस्तो बेला मानिसको सचेतना र अरू गतिविधि अस्वाभाविक देखिने उनी बताउँछन् ।

छारेरोगका लक्षण

चिकित्सकका अनुसार नेपालमा देखिने जनरलाज्ड टोनिकक्रोनिक छारेरोग हो । यस्तो प्रकारको रोगमा मानिसको सबै भाग काम्ने गर्दछ । यो छारेरोगको शुरूमा मानिस एक्कासि बेहोश हुने, हातखट्टा काम्ने, कहिले खुम्चने र कहिले खुल्ने, हातखुट्टाले झट्का दिने र शरीर कम्पन्न हुने गर्दछ । साथै शरीरको एकै भागमा मात्र पनि छारे देखिन सक्छ, जसलाई फोकल इपिलेप्सी भनिन्छ । यस्तै, मानिसमा जिब्रो टोक्ने, मुखमा फिंज आउने, आँखाको सेतो भाग पल्टिएको, दिसापिसाब आएको लक्षण पनि हुने गर्दछ ।

छारेरोग भएका मानिसमा जटिलता केही नभएमा एकदेखि पाँच मिनेटभित्रमा होश आउन सक्दछ । बिरामी होशमा आए पनि टाउको दुख्ने, वाकवाकी लाग्ने, केही बिर्सिए जस्तो हुने (के हो के हो), निद्रा लागेको जस्तो हुने र केही समय १० देखि १५ मिनेटभित्रमा सामान्य अवस्थामा आउने गर्दछ ।

छारेरोगका बिरामी बेहोश भएर लड्नुभन्दा अगाडि छोटो समयका लागि इन्द्रेणी देखिएको, शरीरमा विद्युतीय तरङ्ग आएको महसूस गर्ने र पेटमा केही असहज महसूस हुने जस्तो पनि समस्या आउने पाटनस्थित मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा वासुदेव कार्की बताउँछन् । छारेरोग जुनसुकै ठाउँमा हुन सक्ने भएकाले दुर्घटनासमेत निम्तिन सक्ने उनले प्रस्ट पारे ।

“लामो समयमम्म उपचार नगरेर छारेरोगले दुर्घटना निम्त्याउन सक्छ,” डा कार्कीले भने, “यसले मानिसमा मनोसामाजिक, बौद्धिक र व्यक्तित्वमा पनि समस्या ल्याउँछ, छारेरोग दीर्घ प्रकृतिको स्नायुसँग सम्बन्धित स्वास्थ्य समस्या भएको र उपचार नगर्दा यसले अरू जटिलता ल्याउन सक्ने भएकाले समयमा नै उपचार गर्नुपर्दछ ।”

मधुमेहको जटिलता, मिर्गाैलाका बिरामी, कलेजोका बिरामी, टाउकोमा चोटपटक लागेका, ट्युमर (मासु पलाएको), दिमागमा सङ्क्रमण जस्ता बिरामीलाई छारेरोग देखिने सम्भावना बढी हुने डा कार्कीको भनाइ छ । छारेरोगको उपचार यस्ता रोगलाई निको पारेर गर्नुपर्दछ ।

नियमित औषधिसेवनबाट नियन्त्रणमा हुन्छ

छारेरोग नियमित औषधिसेवनबाट निको पार्न सकिन्छ । डा कार्कीका अनुसार छारेरोगको लक्षण देखिनासाथ औषधि खाएपछि यो रोग निको हुन्छ । उनले लक्षण नदेखिएको तीनदेखि पाँच वर्षसम्म औषधि नियमित खाँदा निको हुने बताए । गर्भावस्था, सुत्केरी र स्तनपान गराइरहेका महिलाले चिकित्सकको सल्लाहमा नियमित स्वास्थ्य जाँच गरेर मात्र औषधिसेवन गर्नुपर्दछ । नवजात शिशुमा हुने जन्मजात ओठतालु फाट्ने जस्तो समस्या आउने गर्दछ । छारेरोग मानिसमा हुने तनाव, रक्सीसेवन, अनावश्यक औषधिको परिवर्तन, धूमपान, हार्माेन परिवर्तनले गर्दा बढ्दोरूपमा रहेको छ ।

यद्यपि सबै काम्ने बिरामी छारेरोगका बिरामी नहुने न्युरोलोजिस्ट डा भट्टराईले प्रस्ट पारे । “निद्रामा हातखुट्ट झस्किने, सुतेको बेला तर्सने, कसैको मुख चलाइरहने बानी जस्ता समस्या छारे नहुन पनि सक्छ,” डा भट्टराईले भने, “मनको तनावले पनि छारेरोग जस्तै लक्षण देखिन सक्छ ।”

बर्सेनि बढ्दै छारेरोग

हरेक वर्ष नेपालमा छारेरोगीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत पाँच वर्षको तथ्याङ्कले छारेरोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार नेपालमा छारेरोगको सङ्ख्या पनि बढिरहेको हो ।

प्रणालीका तथ्याङ्क अधिकृत पुष्प श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ मा २४ हजार ५३२ जनामा छारेरोग लागेको पुष्टि गरे । यसअघि आव २०७३/७४ मा १५ हजार ६४७ जनामा मात्र छारेरोग पुष्टि भएको थियो । श्रेष्ठका अनुसार आव २०७४/७५ मा १८ हजार ३८८, आव २०७५/७६ मा १९ हजार ६४४ र आव २०७६/७७ मा २१ हजार १६४ जनामा छारेरोग देखिएको छ ।

निश्शुल्क औषधि

छारेरोगका बिरामीलाई सरकारले २०७४ सालदेखि नियमितरूपमा औषधि निश्शुल्क प्रदान गर्ने गरेको छ । सबै स्थानीय तहबाट नै सरकारले नियमित निश्शुल्क औषधि दिंदै आएको छ । छारेरोगका बारेमा अझै पनि समाजमा अन्धविश्वास कायम रहेको मनोचिकित्सक डा कार्की बताउँछन् ।

उनले समाजमा रहेको भ्रम, अन्धविश्वास र गलत धारणालाई चिर्न आवश्यक रहेको
छ । अझ पनि छारेरोग लागेपछि धामी, झाँक्रीकहाँ देखाउने जस्ता अन्धविश्वास रहेको पाइन्छ । पाटनमा दैनिक पाँचदेखि १० जना बिरामी आउने गर्छन् । बच्चामा जन्मजात, अलि ठूला भए सङ्क्रमण र ज्येष्ठ नागरिकलाई क्यान्सर, मधुमेह जस्ता कारणले छारेरोग लाग्ने गर्दछ ।

७० प्रतिशत नियन्त्रण

छारेरोग ७० प्रतिशत बिरामीलाई समयमा नै उपचार गरेर नियन्त्रण हुने गर्दछ । छारेरोग नियमित औषधिसेवन अथवा कुनैको शल्यक्रिया गरेर पनि नियन्त्रण गर्न सकिने नेशनल न्यूरोसेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिस्ट डा लेखजङ्ग थापाले बताए । उनले केही बालबालिकामा देखिने छारेरोग भने पाँचदेखि १५ वर्ष उमेर समूहमा आफैं हराउने पनि बताए ।

बच्चामा छारेरोग निको हुने सम्भावना बढी हुने उनको भनाइ छ । उनले छारेरोग धेरैपटक दोहोरिएर ३० देखि ४० प्रतिशत मानिसमा ज्यान जाने खतरा रहेको उनको भनाइ छ । “छारेरोगले सीधैं मुटुलाई असर गर्दछ,” उनले भने, “मुखमा फिंज आउने गर्नाले श्वासनली रोकिन्छ, त्यसैले मानिसको ज्यान जाने सम्भावना पनि हुन्छ ।”

त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख डा सरोज ओझाले छारेरोग नेपालमा मात्र नभएर संसारमा नै स्वास्थ्य समस्याका रूपमा आएको बताए । “यो वंशाणुगत कारण र दिमागमा चोट लागेपछि देखिन्छ,” उनले भने, “दिमागमा जुकाको अण्डा पुग्यो भने पनि यो रोग लाग्ने गर्दछ ।” उनले छारेरोग नसर्ने रोग भएकाले नियमित तीनदेखि पाँच वर्षसम्म औषधि खायो भने निको हुने उनी बताउँछन् ।

छारेरोगप्रतिको धारणा परिवर्तन गर्न आवश्यक

छारेरोगप्रतिको धारणा समाजमा परिवर्तन गर्न आवश्यक रहेको डा थापा बताउँछन् । “छारेरोगका कारणले ढल्यो भने मानिसले छुप बाल्ने, मोजा तथा जुत्ता सुघाउने जस्ता गर्दछन्,” उनले भने, “तर त्यसो गर्नु गलत हो, मानिस ढलेको बेला उसलाई सहयोग गर्नुपर्दछ ।” अझै नेपाली समाजमा छारेरोग लागेका मानिसले अब जीवनमा केही पनि गर्न सक्दैनन् भन्ने मानसिकता छ । यद्यपि छारे नियन्त्रण भएका मानिसले अरू जस्तै सामान्य जीवन बिताउन सक्ने डा थापा बताउँछन् ।

सबैभन्दा बढी वाग्मती प्रदेशमा

स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार आव २०७७/७८ मा वाग्मती प्रदेशमा सबैभन्दा बढी छारेरोगका बिरामी पाइएका छन् । तथ्याङ्क अनुसार वाग्मती प्रदेशमा १० हजार ८३४ छारेरोगका बिरामी रहेको पाइएको थियो । वाग्मतीपछि लुम्बिनीमा तीन हजार ७४७, प्रदेश नंं १ मा तीन हजार ५८५, गण्डकी प्रदेशमा दुर्ई हजार ५५०, मधेस प्रदेशमा दुर्ई हजार १७, सुदूरपश्चिम प्रदेशमा एक हजार १४९ र कर्णाली प्रदेशमा ६५० जना रहेका छन् ।

यस्तै, पाँच वर्षअगाडि २०७३/७४ मा प्रदेश नंं १ मा एक हजार ६३२, मधेस प्रदेशमा ३१०, वाग्मती प्रदेशमा सात हजार ३०१, गण्डकी प्रदेशमा दुुई हजार ४२४, लुम्बिनी प्रदेशमा दुई हजार ८५९, कर्णाली प्रदेशमा ३६६ र सुदूरपश्चिम प्रदेशमा ७५५ जना छारेरोगका बिरामी रहेका थिए । जिल्ला अनुसार सबैभन्दा बढी शहरी क्षेत्रका जिल्लामा छारेरोग देखिएको छ ।

तथ्याङ्क अनुसार मोरङमा दुई हजार ८९६ छारेरोगी देखिएका थिए । यस्तै, मधेस प्रदेशको पर्सामा एक हजार ९२२, वाग्मतीको काठमाडौंमा छ हजार ९९७, गण्डकीको कास्कीमा एक हजार ३९०, लुम्बिनी प्रदेशको रूपन्देहीमा दुर्ई हजार ५४, कर्णाली प्रदेशको सुर्खेतमा २२७ र सूदूरपश्चिम प्रदेशको कैलालीमा ४९१ जनामा छारेरोग देखिएको छ ।

पाँच वर्षअगाडि आव २०७३/७४ को तथ्याङ्क हेर्दा प्रदेश नंं १ को सबैभन्दा बढी मोरङमा एक हजार २३०, मधेस प्रदेशको पर्सामा २१५, वाग्मती प्रदेशको काठमाडौंमा तीन हजार ८९१, गण्डकी प्रदेशको कास्कीमा एक हजार ४५०, लुम्बिनी प्रदेशको पाल्पामा एक हजार २८५, कर्णाली प्रदेशको पश्चिम रूकुममा १४८ र सूदूरपश्चिम प्रदेशको अछाममा २८५ जना छारेरोगका बिरामी रहेको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here