चितवन, २३ माघ/रासस

वर्षाले यहाँका इँटा उद्योगमा एक करोडभन्दा बढी इँटा नष्ट गरेको छ । उद्योगले बनाएका काँचो इँटा पानीले नष्ट गरेको हो । व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँटा पानीले बिगारेर नष्ट गरेको छ ।

माटो प्रशोधन गरेर इँटा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ । काँचो इँटा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ । केही दिन परेको वर्षाका कारण इँटा नोक्सान भएको हो । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँटा नष्ट भएका हुन् ।

कोभिड–१९ अघि १८ वटा उद्योग सञ्चालनमा थिए । अन्य उद्योग कोरोनाका कारण बन्द भएका छन् । सापकोटाको भनाइमा हाल सञ्चालनमा रहेका उद्योगमा सरदर एउटामा १५ लाख काँचो इँटा रहेका थिए । पानीले सबै इँटा नष्ट भएका छन् । उनले भने, “सङ्ख्याको हिसाबले एक करोडभन्दा बढी इँटा नष्ट भएका छन् ।” यसबाट करोडौं रुपैयाँ नोक्सानी भएको उनको दाबी
छ ।

आफ्नो बिके इँटा उद्योगका १५ लाख काँचो इँटा नष्ट भएको उनले जानकारी दिए । इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहेका सापकोटाले बेमौसमी वर्षाका कारण देशभरका एक हजार ५०० उद्योगमा नोक्सान पुगेको बताए । उनले भने, “आत्मनिर्भर इँटा उद्योग कोभिडसँगै बेमौसमी वर्षाले विस्थापित हुने अवस्थामा पुगेको छ ।”

सरकारले समयमैं सम्बोधन नगरेमा आत्मनिर्भर यो व्यवसाय विदेशमा निर्भर हुनुपर्ने अवस्था आउने उनको भनाइ छ । इँटा पकाउन प्रयोग हुने कोइलाबाहेक अन्य कच्चा पदार्थ यहीं
पाइन्छ । केही जनशक्ति भारतबाट ल्याइन्छ । ठूलो सङ्ख्यामा नेपालीले स्वदेशमैं रोजगार पाएका छन् ।

पूर्वी चितवनको खैरहनीस्थित लालपुरमा रहेको मनकामना इँटा उद्योगमा रहेका १० लाख काँचो इँटा नष्ट भएका छन् । उद्योगका सञ्चालक पुष्प पियाले वर्षाका कारण ठूलो नोक्सानी बेहोर्नुपरेको बताए । एक हजार काँचो इँटा बनाउन मजदूरलाई मात्रै रु एक हजार २०० दिनुपर्ने भन्दै उनले माटो, बालुवालगायत सामग्री खरीद गर्दा ठूलो लगानी हुने बताए ।

सर्लाहीमा वर्षाका कारण ३५ करोडको इँटा नष्ट

विगत दुई दिनको वर्षाका कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन् । लगातारको वर्षाले जिल्लाका इँटा व्यवसायीलाई ठूलो क्षति पु¥याएको उनीहरूको गुनासो छ । दुई दिन परेको वर्षाले जिल्लामा रहेका इँटा उद्योगमा करोडौं मूल्यका इँटा नष्ट भएको तारा इँटा उद्योगका सञ्चालक प्रकाश थपलियाले बताए ।

उनका अनुसार पानीले इँटा उद्योगमा चाङ लगाएर राखिएका काँचो इँटा भिजेर नष्ट भएको छ । जिल्लामा रहेका ९३ वटा इँटा उद्योगमा वर्षाले करीब रु ३५ करोड मूल्यबराबरको क्षति पुगेको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष मेथुर चौधरीले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका ९३ वटा उद्योगमध्ये ८४ वटा इँटा उद्योग हाल सञ्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here