काठमाडौं, ४ माघ/रासस

पेट्रोलियम पदार्थको कारोबारबाट चर्काे नोक्सानी बेहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इन्डियन आयल कर्पाेरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ ।

पेट्रोलियम पदार्थ खरीदबापत आइओसीलाई जनवरी २३ तारिखमा भुक्तानी गर्न रकम अभाव रहेको निगमले जनाएको छ । उक्त मितिमा आइओसीलाई भुक्तानी गर्न रु दुर्ई अर्ब अपुग हुने स्थिति देखिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

निगमले यसअघि पेट्रोलियम पदार्थको बिक्रीबाट भएको घाटा न्यूनीकरण गर्दै आपूर्ति व्यवस्थालाई चुस्त राख्न बचतमा रहेको सञ्चित मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनसलगायत अन्य प्रयोजनमा छुट्याइ राखिएको रकमबाट आइओसीलाई भुक्तानी गरेको थियो ।

निगमले कर्मचारी आवास व्यवस्था अन्तर्गतको रु तीन अर्ब २६ करोड, कर्मचारी बोनस व्यवस्थाबापत जम्मा भएको रु एक अर्ब ४५ करोड, ¥हासकोषमा रहेको रु एक अर्ब ४२ करोड र मूल्य स्थिरीकरण कोषमा रहेको रु १५ अर्ब ३४ करोडबराबरको रकम आइओसीलाई भुक्तानी गरिसकेको छ ।

निगमसँगको सञ्चित बचत शून्यमा पुगेको अवस्थामा देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

छ महीनामा निगमलाई रु १९ अर्ब घाटा

निगमले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा रु १९ अर्ब २६ करोड घाटा बेहोरेको छ । जनवरी १५ मा आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने मासिक घाटा रु ५ अर्ब पुग्ने उनले बताए । बढेको खरीद मूल्य अनुसार निगमलाई पाक्षिकरूपमा रु दुर्ई अर्ब २४ करोड नोक्सानी रहेको छ ।

माघ १७ गतेसम्म रु २१ अर्ब ५० करोड घाटा बेहोर्नुपर्ने निगमको प्रक्षेपण छ । मूल्य समायोजन गरिए तापनि महीनाका करीब चार अर्ब मासिक घाटा रहेको हुँदा आगामी तीन महीनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न हालको खरीद मूल्य अुनसार न्यूनतम करीब रु १२ अर्ब आवश्यक पर्ने निगमको भनाइ छ ।

फेरि बढ्यो खरीद मूल्य

यसअघि केही महीना अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागे पनि फेरि मूल्य बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै निगमको खरीद मूल्य पनि बढेको छ । जनवरी १६ मा प्राप्त मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपियाँँ १८ पैसा, डिजेलमा आठ रुपियाँँ ८१ पैसा र एलपी ग्याँसमा प्रतिसिलिन्डर ६४६ रुपियाँँ १६ पैसा घाटा रहेको छ ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा पेट्रोलको बिक्रीबाट रु ४२ करोड ७९ लाख, डिजेलको बिक्रीबाट रु ७९ करोड ९९ लाख र एलपी ग्याँसको बिक्रीबाट रु एक अर्ब १४ करोड ८६ लाख घाटा हुने निगमको आकलन छ ।

निगमलाई मटीतेलमा २० रुपियाँँ ५० पैसा र हवाई इन्धनमा १४ रुपियाँँ ७३ पैसा नाफा रहेको छ । मटीतेलको बिक्रीबाट निगमलाई ५० दिनमा रु एक करोड ८७ लाख र हवाई इन्धनबाट रु ११ करोड ३७ लाख नाफा हुनेछ । मटीतेल र हवाई इन्धनको बिक्री न्यून हुने हुँदा त्यसको बिक्रीबाट हुने नाफाले निगमको घाटा पूर्तिमा उल्लेख्य योगदान दिन सकेको छैन ।

आइओसीबाट निगमले प्रत्येक १५/१५ दिनमा डिजेल, पेट्रोल र हवाई इन्धनको नयाँ मूल्य सूची प्राप्त गर्दै आएको छ । यस्तै, मटीतेल र एलपी ग्याँसको मूल्य भने एक/एक महीनामा आउने गर्छ । चालू आर्थिक वर्षको छ महीनाको अवधिमा निगमले आइओसीबाट १२ पटक नयाँ मूल्य प्राप्त गरेको थियो । प्राप्त मूल्यमध्ये अधिकांश बढेर आएको निगमको भनाइ छ । निगमले गत आवमा करीब रु दुर्ई खर्ब ३२ अर्ब बराबरको पेट्रोलियम पदार्थको कारोबार गरेको थियो । भन्सार शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), सडक मर्मत सम्भार शुल्क र प्रदूषण शुल्कलगायत अन्य करबापत निगमले वार्षिक करीब रु ९८ अर्ब राजस्व तिर्दै आएको छ ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भनेर गुनासो आइरहँदा भारतको तुलनामा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३८ रुपियाँँ ३ पैसा, डिजेल ३१ रुपियाँँ १२ पैसा र एलपी ग्याँस प्रतिसिलिन्डर ५० रुपियाँँ ६५ पैसा तथा हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकाताभन्दा नेपालतर्फ प्रतिलिटर ३२ रुपियाँँ ९६ पैसा सस्तो रहेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here