काठमाडौं, ३ माघ/रासस
सरकारले कोरोना भाइरसविरुद्ध खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । छ महीना अघि बनेको वर्तमान सरकारले नागरिकलाई कोरोनाविरुद्ध खोपलाई प्राथमिकता दिएको थियो र पुस मसान्तसम्म लक्षित समुदायको दुईतिहाई जनसङ्ख्यालाई खोप दिने लक्ष्य लिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले ७९.५ प्रतिशत पहिलो मात्रा र करीब ६१ प्रतिशत पूर्ण मात्राको खोप लगाएको छ । दुईतिहाई ६६ प्रतिशतमध्ये पहिलो मात्रा लक्ष्यभन्दा बढी अर्थात ७९.५ प्रतिशत हो भने पूर्ण मात्रा पनि लक्ष्यको नजीक पुगेको छ ।
सरकारले लिएको खोपको लक्ष्य अनुसार कार्यक्रममा सफलता पाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्मको तथ्याङ्क हेर्दा मनाङ, मुस्ताङ र कास्कीमा शतप्रतिशत खोप दिइएको छ । सरकारले पुस मसान्तभित्र जनसङ्ख्याको दुर्ईतिहाई र चैत मसान्तसम्म १६ वर्ष माथिका सबैलाई खोप लगाउने लक्ष्य लिएको छ ।
यता सरकारले अग्रपङ्क्तिमा काम गर्नेलाई ‘बुस्टर’ डोज दिन थालेको छ । यस्तै माघ १४ गतेदेखि ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई ‘बुस्टर’ डोज दिने भएको हो । सो कार्य शुरू भइसकेको छ । सरकारले १८ वर्षभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो मात्रा एक करोड ५८ लाख ३७ हजार ६७१ जना र पूर्ण मात्रा एक लाख २१ हजार २७ लाख ८२९ जनाले लगाएका छन् । कुल जनसङ्ख्याको भने पहिलो मात्रा ५२.१ प्रतिशत र पूर्ण मात्रा ३९.९ प्रतिशतले लगाएका छन् ।
यस्तै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मन्त्रालयले मोडर्ना र फाइजर खोप लगाइरहेको छ । बालबालिकालाई अहिलेसम्म ५२ प्रतिशत पहिलो मात्रा र ०.१ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए ।
वाग्मती र गण्डकी प्रदेशमा लक्ष्य अनुसारको खोप
उनका अनुसार प्रदेश अनुसार वाग्मती र गण्डकीले लक्ष्य अनुसार खोप लगाइसकेका छन् । वाग्मती प्रदेशले पहिलो मात्रा ८२ प्रतिशत र पूर्ण मात्रा ७६ प्रतिशत तथा गण्डकी प्रदेशले पहिलो मात्रा ८३ प्रतिशत र पूर्ण मात्रा ८२ प्रतिशत खोप लगाइसकेको छ ।
प्रदेश नं १ ले पहिलो मात्रा ७४ प्रतिशत र पूर्ण मात्रा ५४ प्रतिशत, प्रदेश नंं २ ले पहिलो मात्रा ५७ प्रतिशत र पूर्ण मात्रा ४८ प्रतिशत, लुम्बिनी प्रदेशले पहिलो मात्रा ७३ प्रतिशत र पूर्ण मात्रा ५७ प्रतिशत, कर्णाली प्रदेशले पहिलो मात्रा ५६ प्रतिशत र पूर्ण मात्रा ५१ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशले पहिलो मात्रा ६४ प्रतिशत र पूर्ण मात्रा ५९ प्रतिशत खोप लगाइसकेका छन्।
मनाङ, मुस्ताङ र कास्कीमा शत प्रतिशतलाई खोप
महाशाखाका निर्देशक डा लालका अनुसार मनाङ, मुस्ताङ र कास्की जिल्लाले पूर्ण मात्राको शत प्रतिशत नै खोप लगाइसकेका छन् भने बाजुरा जिल्लाले पहिलो मात्रा खोप लक्षित वर्गको शत प्रतिशतलाई लगाइसकेको छ ।
गण्डकी प्रदेशमा नवलपरासी (पूर्व) बाहेक सबै जिल्लाले लक्ष्य अनुसार दुर्ईतिहाई जनसङ्ख्यालाई खोप लगाइसकेका छन् । प्रदेश नंं १ का ताप्लेजुङले ६६.४ प्रतिशत, संखुवासभाले ७७.६ प्रतिशत र ओखलढुङ्गाले ६९.८ प्रतिशत पूर्ण मात्रा खोप लगाइसकेका
छन् । प्रदेश नं २ का कुनै पनि जिल्लाले लक्ष्य अनुसार पहिलो र पूर्ण मात्राको खोप लगाएका छैनन।
वाग्मती प्रदेशका धादिङ, नुवाकोट, सिन्धुली र मकवानपुरबाहेक सबै जिल्लाले पूर्ण मात्राको खोप लक्ष्य अनुसार दुर्ईतिहाई जनसङ्ख्यालाई लगाइसकेका छन् । काठमाडौंमा ९०.६ प्रतिशत, भक्तपुरमा ९२ प्रतिशत र ललितपुरमा ८४.९ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्राको खोप दिइएको छ ।
यस्तै लुम्बिनी प्रदेशमध्ये रोल्पाले ६९.८ प्रतिशत, अर्घाखाँची ६६.६ प्रतिशत, पाल्पा ८०.२ प्रतिशत, रूपन्देही ७८.३ प्रतिशतमा पूर्ण मात्राको खोप लगाई लक्ष्य भेटेका छन् । यस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लाले मात्र पूर्ण मात्रा ६५.३ प्रतिशत र सुदूरपश्चिमको बाजुरा जिल्लाले पूर्ण मात्रा ७४.९ प्रतिशत, दार्चुलाले पूर्ण मात्रा ६८.४ प्रतिशत, कञ्चनपुर जिल्लाले पूर्ण मात्रा ७०.९ प्रतिशत लगाएको छ ।
३३ पालिकाले शतप्रतिशत खोप लगाए
उनका अनुसार ३३ स्थानीय तहले लक्षित जनसङ्ख्याको शत प्रतिशतलाई पूर्ण मात्राको खोप लगाएका छन् । ओखलढुङ्गाका सिद्धिचरण नगरपालिका र खिजीडेम्बा गाउँँपालिका, झापाको कन्काई नगरपालिका र बिर्तामोड नगरपालिका, दोलखाको गौरीशङ्कर गाउँँपालिका र जिरी नगरपालिका, रसुवा गोसाइँकुण्ड गाउँँपालिका र उत्तरगया गाउँँपालिकाले शत प्रतिशतलाई खोप लगाइसकेका छन् ।
यस्तै काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकाले लक्षित जनसङ्ख्यालाई शत प्रतिशत खोप लगाएका छन् ।
यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका, गोर्खाको गोरखा नगरपालिका र धार्चे गाउँँपालिका तथा गण्डकी गाउँँपालिका, मनाड्ढो नामे र नासोङ गाउँँपालिका, मुस्ताड्ढा पाँचैवटा स्थानीय तहले पनि शत प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
कास्की जिल्लाको पोखरा उपमहानगरपालिका, मादी र रूपा गाउँँपालिका, तनहुँको व्यास नगरपालिका, स्याङ्जाको पुतलीबजार र भिरकोट नगरपालिका, बागलुड्ढो ताराखोला गाउँँपालिका, रूपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेका छन् ।
यस्तै पहिलो मात्रा लक्षित समूहलाई शत–प्रतिशत खोप लगाइसकेको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाले मात्र पूर्ण मात्राको खोप पनि शत–प्रतिशत लक्षित समूहलाई लगाइसकेको छ । बैतडीको पाटन नगरपालिकाले ९९.३ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ ।