- अनन्तकुमार लाल दास
व्यवसाय यस्तो शब्द हो जो प्रत्यक्ष वा अप्रत्यक्ष हामी सबैसँग जोडिएको छ । व्यवसाय भन्नाले यसको आशय वाणिज्य र उद्योगको सबै जटिल क्षेत्र, आधारभूत उद्योग प्राविधिक वा निर्माण उद्योग तथा सहायक सेवाहरूको जालो–जस्तै वितरण, बैङ्किङ, बीमा, यातायात आदिसँग छ । हावापानी जस्तै व्यवसाय सधैं हामीसँग रहन्छ । व्यवसायले नै देशको अर्थ व्यवस्थाको प्रारूप तयार गर्दछ । समाजरूपी शरीरको मेरुदण्ड भनेको अर्थ व्यवस्था नै हो । कुनै पनि समाजको अर्थ व्यवस्था उसको व्यावसायिक विकासमाथि नै निर्भर हुन्छ ।
एउटा सुदृढ अर्थ व्यवस्थाको लागि के अनिवार्य हुन्छ भने त्यस अन्तर्गत काम गर्ने प्रबन्धतन्त्र यस्तो होस् जसले व्यावसायिक संस्थाको मूल उद्देश्य अर्थात् कम लागतमा अधिकतम उत्पादन, श्रेष्ठ उत्पादन, कुशल सञ्चालन, ग्राहकलाई सन्तुष्टि, कर्मचारीको विकास, आर्थिक न्याय आदिमाथि ध्यान दिन सकोस् र मानवीय एवं भौतिक संसाधनको सही उपयोग गर्नको लागि एउटा कुशल सङ्गठन निर्माण, प्रबन्धन र निर्देशन गर्न योग्य होस् । व्यवसायसँग सम्बन्धित यसै प्रविधि र मनोवैज्ञानिक क्षेत्रको क्रमबद्ध अध्ययनलाई नै व्यावसायिक शिक्षा भनिन्छ ।
यस वैज्ञानिक र प्रतिस्पर्धात्मक युगमा विद्यालयमा दिइने सैद्धान्तिक शिक्षा कति उपयोगी छ भन्ने कुरा सबैलाई थाहा छ । जुन ज्ञान हाम्रो जीवनमा काम लाग्दैन, त्यो निरर्थक र त्याज्य हो । वास्तवमा जुन ज्ञान आफू स्वयंले गरेको अनुभवमा आधारित हुन्छ र जसको प्रयोग हामी आफ्नो दैनिक जीवनमा गर्न सक्छौं त्यही ज्ञान हाम्रो जीवनको अङ्ग बन्न सक्छ । विद्यालयमा दिइने सैद्धान्तिक शिक्षाको आधारमा हामी आफूलाई साक्षर त भन्न सक्छौं तर वर्तमान सन्दर्भमा यो शिक्षा रोजगार उपलब्ध गराउन पूर्णतया असफल साबित भएको कुरा एउटा प्रामाणिक तथ्य हो । त्यहीं अर्कोतिर व्यावसायिक शिक्षाद्वारा आर्जित ज्ञान आफूले गरेको अनुभव र व्यावहारिक हुनुको कारण हाम्रो जीवनको महŒवपूर्ण अङ्ग बन्न पुग्छ ।
आज यदि एउटा साधारण ग्रेजुएट युवा र एउटा व्यावसायिक डिग्री वा डिप्लोमा हासिल गरेको युवा एउटै पदका लागि आवेदन दिन्छन् भने निश्चय नै व्यावसायिक ज्ञान हासिल गर्ने युवाले प्राथमिकता पाउँछ । वर्तमान समयमा व्यवसायको स्वरूप दिन प्रतिदिन जटिल हुँदै गइरहको छ। व्यवसायका बेग्लाबेग्दै अङ्गहरूबीच सामञ्जस्य कायम गर्नु स्वयंमा एउटा जटिल कार्य हो। यसका लागि बाजार र व्यावसायिक सङ्गठनका सिद्धान्तको बृहत् ज्ञान हुनु आवश्यक छ । व्यवसायसँग सम्बन्धित अनिवार्य प्राविधिक र त्यसको विभिन्न पक्षको वैज्ञानिक तवरले व्यवस्थित ज्ञान व्यावसायिक शिक्षाले नै उपलब्ध गराउन सक्छ ।
अब व्यावसायिक सफलताको आधार पैतृक योग्यता रहेन । प्रतिस्पर्धा र विशिष्टीकरणको यस युगमा एउटा नयाँ व्यवसायको स्थापना वा कुनै पनि क्षेत्रमा व्यवसाय सञ्चालन जटिल हुँदै गएको छ । व्यावसायिक शिक्षाले यथार्थमा व्यक्तिलाई सफलताको नयाँ तरीका उपलब्ध गराउँछ। यसले मानिसलाई स्वयं र परिवारको जीवनयापनको लागि आवश्यक व्यावसायिक योग्यता र सीप हासिल गर्ने योग्य बनाउँछ ।
व्यावसायिक शिक्षाले मानिसमा उन्नतिको बाटोमा आउने अवरोध र सङ्घर्षलाई सहजता र धैर्यतापूर्वक सामना गर्ने शक्ति र उर्जा प्रदान गर्छ । व्यवसायमा एउटा मानिसको सम्बन्ध कैयन पक्षसँग हुन्छ । कर्मचारी वर्ग, व्यावसायिक संस्थाको बाह्य पक्षहरू, श्रम सङ्गठन, सरकारी सङ्गठन र अन्य मानिस आदिसँग आफ्नो सम्बन्ध कायम गर्नु वा मधुर सम्बन्ध बनाउनुपर्ने हुन्छ । सबैसँग राम्रो सम्बन्ध बनाउन र आपसमा समन्वय गर्न व्यावसायिक शिक्षाले महŒवपूर्ण भूमिका निर्वाह गर्छ । सँगसँगै श्रम व्यवस्था राम्ररी सञ्चालन गर्नु, त्यसको नेतृत्व–निर्देशन, पथ प्रदर्शन, पर्यवेक्षण, समन्वय आदि सीपको ज्ञान पनि व्यावसायिक शिक्षाले नै दिन्छ ।
यस प्रतिस्पर्धात्मक वैज्ञानिक र औद्योगिक युगमा प्रतिस्पर्धाको सामना गर्नु र आधुनिक वैज्ञानिक र प्रविधिबाट समुचित लाभ हासिल गर्नको लागि पनि व्यावसायिक शिक्षा आवश्यक छ, किनभने सही व्यावसायिक सिद्धान्तले नै मानिसलाई हाम्रोजस्तो गरीब मुलुक, बढी उत्पादन लागत र निम्न उत्पादकता, अदक्ष श्रमिक, पुराना मेशीनहरू र परम्परागत प्रविधिको ठाउँमा आधुनिक प्रविधिलाई उपयोग गरेर उत्पादनलाई उच्चस्तरीय र न्यून लागतको बनाउन सक्छ, जसबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा टिक्न सहज हुन्छ ।
व्यावसायिक शिक्षाले देशमा उपलब्ध संसाधन विवेकपूर्ण ढङ्गले उपयोगमा ल्याउने योग्यता पनि प्रदान गर्दछ । यदि हाम्रो उत्पादन क्षमतामा वृद्धि हुन्छ, प्राकृतिक साधनहरूको उचित व्यवस्थापन र हाम्रो दैनिकीमा उपयोग हुने वस्तुहरूको उत्पादन स्वयं गर्नमा सक्षम हुन्छ भने यसबाट राष्ट्रिय मुद्राको बचत हुन्छ र देश आर्थिकरूपले समृद्ध हुन्छ । वास्तवमा व्यावसायिक शिक्षाले मानिसलाई जीवनको हरेक क्षेत्रमा विकसित हुने अवसर प्रदान गर्दछ ।
प्रयोग र निरीक्षणको आधारमा प्राप्त ज्ञानद्वारा व्यवसायको प्रत्येक पक्षको संयोजन राम्ररी गर्न सक्ने योग्यता व्यावसायिक शिक्षाले मानिसमा उत्पन्न गर्दछ । यसको लागि व्यावसायिक शिक्षा अन्तर्गत विज्ञापन, उत्पादन बेच्ने सीप, विवेक प्रयोग गर्ने सीप, वैज्ञानिक प्रबन्धन आदि विभिन्न सिद्धान्त बनाइएको छ । यी सिद्धान्तहरूले हामीलाई व्यवसायमा अधिकतम सफलता हासिल गर्न के गर्नुपर्छ भन्ने सिकाउँछ । यसै कारणले होला व्यावसायिक शिक्षालाई ‘क्रियात्मक सामाजिक विज्ञान’को संज्ञा दिइएको छ ।
उपर्युक्त विश्लेषणबाट के प्रस्ट हुन्छ भने वर्तमान समयमा औद्योगिक, व्यावसायिक, सामाजिक र सँगसँगै व्यक्तिगत परिप्रेक्ष्यमा व्यावसायिक शिक्षाले आफ्नो महŒव स्वयं स्पष्ट गरेको छ । आज प्रत्येक क्षेत्रमा व्यावसायिक शिक्षाको वर्चस्व छ । बिजनेस म्यानेजमेन्ट होस् वा कम्प्युटर एप्लिकेशन कोर्स, होटल प्रबन्धन वा पैmशन डिजाइनिङ, टेक्सटाइल, इन्टिरियर डेकोरेशन वा अन्य कुनै व्यावसायिक शिक्षाको क्षेत्र, सबैमा विद्यार्थीको रुचि, व्यावसायिक संस्थाहरूको सङ्ख्यामा वृद्धि र विद्यार्थी सङ्ख्यामा पनि बढी मात्रामा वृद्धि भएको छ । यसले व्यावसायिक शिक्षाको उपयोगिता र आजका विद्यार्थी वा युवावर्गमा यसको महŒव स्वयं प्रस्ट गरेको छ । हाल सरकारी र अद्र्धसरकारीस्तरमा कैयन संस्थाहरू व्यावसायिक शिक्षाको प्रसार र विकासको महŒवपूर्ण कार्यमा जुटेका छन् ।
यदि हाम्रो अपेक्षा देशलाई विकसित, सुखी, समृद्ध र आत्मनिर्भर बनाउनु छ भने त्यसको लागि खाँचो छ व्यावसायिक शिक्षाको पर्याप्त विकास र प्रचार–प्रसार । हाम्रो वर्तमान शिक्षा प्रणाली देशको यस आवश्यकता र उद्देश्यलाई पूर्णता दिनमा सक्षम छैन किनभने यसले विद्यार्थीहरूको बौद्धिक विकासमा जोड दिंदैन । वर्तमान शिक्षाले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिंदैन । निष्कर्षतः के भन्न सकिन्छ भने शिक्षा र रोजगारको क्षेत्रमा नेपालजस्तो पिछडिएको देशको लागि व्यावसायिक शिक्षा अत्यन्त महŒवपूर्ण छ ।
वर्तमान प्रगतिशील युगमा व्यापार, वाणिज्य र उद्योगको समृद्धि र वैज्ञानिक प्रगतिको लागि व्यावसायिक शिक्षाको उचित विकास गर्नुपर्छ अनि मात्र हाम्रो युवा वर्गले देश विकासमा सकारात्मक योगदान दिन सक्छ । जीवनको प्रत्येक क्षेत्रमा– जस्तै औद्योगिक, सामाजिक, आर्थिक र व्यक्तिगत क्षेत्रमा समेत व्यावसायिक शिक्षाको उपयोगिता दृष्टिगत गरी छिट्टै हाम्रो शिक्षा प्रणालीमा व्यावसायिक शिक्षा अनिवार्य विषयको रूपमा सम्मिलित गर्नु नै आजको अभीष्ट हो ।