गलेश्वर, १४ पुस/रासस
चैत वैशाखमा फुल्ने लालीगुराँस पुसदेखि नै फुलेर म्याग्दीका ग्रामीण जङ्गल रातै देखिन थालेका छन् । त्यस्तै, काफल, ऐसेलुजस्ता जङ्गली फल पनि बेमौसममा नै फल्न शुरू भएको छ ।
फागुनको मध्यतिरबाट कोपिला लाग्न शुरू हुने लालीगुराँस पुसमा नै फुल्नु र जङ्गली फलहरूको मौसमीचक्र परिवर्तन हुन थालेपछि विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविद्हरूको भनाइ छ ।
सधैंजसो फागुन महीनाको तेस्रो सातातिरै फुल्ने लालीगुराँस यस वर्ष पुस दोस्रो सातादेखि नै पश्चिम र उत्तरी म्याग्दीका जङ्गलमा फुलेको स्थानीयवासी बताउँछन् । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । “लालीगुराँस फूल फागुन–चैत महीनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ,” ज्यामरूककोटका ६८ वर्षीय रामबहादुर खत्रीले भने । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेत यसको प्रभाव देखिएको बेनी नगरपालिका–५ का प्रेम शाहीले बताए ।
“अहिले पुसमा काफल पाकेको र गुराँस फुलेको पाइएको छ,” वातावरणविद् सुरज सापकोटाले भने, “पुसमा गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।”
विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन् । त्यसैगरी, गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भूभागमा पनि पाइन थालेका छन् ।
समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षा समयमा र नियमित नहुने, मौसमी फलफूल तथा तरकारीमा फेरबदल हुने, हिमगलन, अतिवृष्टि, अनावृष्टि, हुरीबतास हुनेजस्ता असर देखा पर्छन् । जलवायु परिवर्तनकै कारण महŒवपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् ।
यसरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजङ्गल नै सुक्ने अवस्था आइरहेको छ । जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोग देखिएका छन् । जुन विश्वकै लागि एक प्रमुख चुनौतीको विषय हो । यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महŒवपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा छ ।
पृथ्वीमा वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षात्मा हुने घटबढका कारण पृथ्वीको कुनै भागमा मौसममा हुने महŒवपूर्ण परिवर्तन नै जलवायु परिवर्तन हो । पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्याँसमा घटबढ भएमा खासगरी जलवायु परिवर्तन हुने गरेको मौसमविज्ञ बताउँछन् ।
हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, नाइट्रोजन, मिथेनजस्ता ग्याँसको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भई हरितगृह ग्याँस बढेर जलवायु परिवर्तन हुने गर्छ । जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत गम्भीर असर देखिन थालेका चिकित्सक तथा वातावरणविज्ञहरूले बताएका छन् ।