फुङ्लिङ, १४ पुस/रासस

आइतवार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चीसो ह्वात्तै बढेको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चीसो बढेकाले जनजीवन प्रभावित भएको हो ।

घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात शुरू भएपनि गएरातिदेखि निकै बाक्लो हिमपात पर्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताए । उनले भने, “अहिले पनि हिउँ परिरहेको छ । मौमस खराब छ । चीसोले बाहिर निस्कनै समस्या भएको छ ।” हिमपातका कारणले अत्यधिक चीसो बढेकाले सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको शेर्पाले बताए ।

हिमपात पर्न शुरू भएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए । उनले भने, “चीसोले केटाकेटीको हात कक्रिन्छ । कक्षा कोठामा बस्नै सक्दैनन् । हिमाली गाउँमा न्यानो कपडा किन्न पसल पनि हँुदैन । त्यसैले विद्यालय अहिले बन्द गरिएको छ ।” हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीयवासी टासीतेन्जी शेर्पाले बताए ।

हिमाली क्षेत्रका प्रमुख पुख्र्यौली पेशा पशुपालन हो तर हिमपातको समय पशु जोगाउन मुश्किल पर्ने उनको भनाइ छ । सबैभन्दा याक, चौंरीका बाछाबाछीलाई हिमपातको समयमा जोगाउन समस्या हुने शेर्पाले बताए । त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा निकै बाक्लो हिमपात भइरहेको स्थानीयवासी तेन्जी शेर्पाले बताए ।

त्यस्तै, समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुड्ढो प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिए । यता ताप्लेजुड्ढो सदरमुकाम फुङ्लिङमा पनि गएरातिदेखि वर्षा हुन जारी रहेको छ । हिमपात भएसँगै चीसो बढेको छ । अध्यधिक जाडोेले जनजीवन प्रभावित भएको छ ।

हुम्लामा भारी हिमपात

हुम्ला, सिमकोटमा पनि भारी हिमपात भएको छ । भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ । आज बिहानदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।

लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटबाट उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ । हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको लिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले बताए । यस वर्षकै ठूलो हिमपात भएको बताएका लामाका अनुसार हिमपातले मुचुकाखोलामा पानी जमेर बहाव कम भएको छ । सबैतिरको पानीसमेत जमेर पूरै ठोस भएको छ । जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चीसोले खानेपानीका धारा जमेका छन् । मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानीसमेत ठोस बनेका हुन् ।

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

पश्चिमी वायुको प्रभावले बुधवार देशका अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवं हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । “सो प्रणाली बिहीवारदेखि क्रमिकरूपमा कमजोर बन्दै जाने देखिएको छ,” उनले भनिन् । आज देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको छ ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चीसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here