• सञ्जय मित्र

अघिसम्म तँछाडमछाड गर्ने कथित गाइडहरू अलप भएका छन् । पसलमा पु¥याएपछि अलप हुनुपर्ने कारण चाहिं अर्को ग्राहकको खोजी हो । कम्तीमा आधा घण्टा त पसलमा लागिहाल्छ भन्ने अनुमान तिनीहरूको हुँदोरहेछ । पसलबाट निस्कँदा नभन्दै पौने एक घण्टा भइसकेको रहेछ । ऊ टुप्लुक्क आइपुग्छ ।

घुमाएर अगाडि बढ्न खोज्छ र अर्को कसैलाई तारन्तार फोन गरिरहेको छ । उसलाई भनेको ठाउँमा भेट्टाउँछ र हाम्रो स्कार्पिओमा बसाल्छ । अनि ताजमहल घुमाउने मुख्य गाइड भनेर हामीलाई भन्दै ऊ फेरि अलप हुन्छ । उसले हामीलाई यति भनेको हुन्छ– ताजमहल पूरै घुमाइदिएपछि पचास रुपैयाँ दिनू ।

अनलाइन टिकट किनिएको छ । समूहबाट हुने काम प्रायः सबै समूहकै रकमबाट हुने गर्छ । हामी पाँच सय वा एक हजारको दरले पैसा एक ठाउँमा जम्मा पार्छौं र खर्च हुँदै गर्छ । सुरक्षाका सबै मापदण्ड अपनाइएका छन् । चेकजाँच राम्ररी गरिन्छ । प्रवेशस्थलमा सुरक्षाको निकै राम्रो प्रबन्ध छ । जाँचस्थलबाट भित्र गएपछि भने अलिक हिंड्नुपर्छ । हिंड्न नसक्ने वा हिंड्न नचाहनेले सानो अलग्गै किसिमको गाडीमा बसेर जान सक्छन् । यो पर्यटकीय रिक्शाजस्तै हो वा बस जस्तै हो तर राम्रो छ । यद्यपि महँगो भने रहेको छ तर पर्यटकीयस्थल भन्नु नै महँगो हुने गरेको सबैले बुझेकै छौं ।

भित्र जहाँसम्म जानुपर्ने हो, त्यहाँ गएर रोकिन्छौं र ओर्लन्छौं अनि ताजमहलको भित्री मुख्यद्वारतर्फ अगाडि बढ्छौं । मुख्यद्वारभन्दा अगाडिको पक्की चौरलाई देखेरै आनन्दित हुन्छौं। नजीकैको मूल ठूलो द्वारबाट भित्र जानलाई एकातिर मन आतुर छ भने अर्कोतिर यहाँको दृश्यमा नै एकछिन रमाउन पाए हुन्थ्यो भन्नेजस्तो भइरहेको छ । त्यहाँ आएर घरीघरी क्यामराम्यानहरूले फोटो खिचाउनको लागि सोध्न आएर सताएको जस्तो लागेको छ । हामीसित मोबाइल छ ।

मोबाइलविना कोही पनि छैनौं र म त झन् यही यात्राको लागि भनेर नयाँ मोबाइल लिएर आएको छु । मैले चलाइरहेको मोबाइलले राम्रै काम गरेको थियो तर फोटोमा केही समस्या थियो। जब वृन्दावन र आगराजस्तो ठाउँमा पुग्दैछु त राम्रो फोटो आउने एउटा मोबाइल त बोक्नुपर्छ भन्ने लागेको थियो । मोबाइलका कतिपय फोटो त अन्य कामको लागि पनि काम लागिहाल्छ ।

क्यामराम्यानहरूलाई पन्छाउँदै अगाडि बढेर प्रवेश गर्दछौं र दर्शन हुन्छ एउटा अद्भुत आश्चर्यको । हो, त्यही अद्भुत आश्चर्य जो विश्वका आश्चर्यमा परेको छ । हामी त्यसको अगाडि छौं, त्यो हाम्रोअगाडि छ । एकअर्काका सम्मुख छौं । मनमा यस्तो अनुभूति हुन्छ– आजको यही भेटको लागि मलाई धेरै दिनदेखि पर्खिरहेको छ, ताजमहल । मेरो प्रतीक्षा युगौंदेखि गरिरहेको ताजमहलले आज मसित साक्षात्कार गर्ने अवसर पाउँदैछ । मेरो मनमा पनि धेरै वर्षदेखि यही उम्रेको थियो कि एक दिन त्यो पल आउला, जब हामी एकअर्कालाई निहारिरहेका हुनेछौं ।

आँखा जुधेपछि त ओठमा मुस्कान आइहाल्छ नि । मेरो आँखामा आँखा जुधाउन नसकेर अलिकति लजाएको जस्तो गरेर ताजमहलले उतातिर आँखा फर्काएको मलाई औधी मन परेको छ । थोरै मात्र बादलले सूर्यलाई छेक्दाको दृश्यले ताजमहललाई घुम्टो ओढेर लाज मानेको बनाइदिएको छ । फेरि कर्के आँखाले देखेजस्तो गर्दछ र बिस्तारै फेरि झलमल्ल हाँसो खुल्छ सर्वाङ्ग । आहा, अद्भुत सुन्दरतामा नुहाएको ताजमहलको शरीर साँच्चै परबाट हेर्दा कति कोमल छ, त्यो अवर्णनीय छ ।

अलिकति परैबाट जति अद्भुत सुन्दर देखिन्छ ताजमहल, अझ नजीक पुग्न त्यत्तिकै हतार हुन्छ तर त्यहाँको संरचना यस्तो छ कि नजीक पुग्नुभन्दा पहिले आफूलाई लाग्छ कि सबै फोटो खिचिहालूँ । कहाँ कहाँ फोटो खिचूँ । हो, फोटो खिच्ने पर्याप्त ठाउँ बनाइएका छन् । एक साथ यताउति सयौं मानिस फोटो खिचिरहेका छन् । कतिपयले सेल्फी लिइरहेका छन् र एकअर्काको फोटो खिच्ने त कति छन् कति । सबैले पृष्ठभूमिमा ताजमहललाई पारिरहेका छन् । यहाँ आएर ताजमहलविनाको फोटो खिच्न कसैको कल्पनामा पनि नआउँदो होला ।

कहाँ पुगूँ र कस्तो फोटो खिचूँ भन्ने भइरहन्छ । कतिवटा फोटो खिचिएछ भन्ने कुराको सम्झना कसैलाई कहिल्यै हुँदैन । कुन ठाउँमा कस्तो पोजको फोटो खिच्दा अझ राम्रो आउला भन्ने मात्र भइरहन्छ । सबैले यही गरिरहेका हुन्छन् । कोही पनि मोबाइल वा क्यामरा विना हुँदैनन् । एक साथ हजारौं मानिस डुलिरहेका हुन्छन् । ठूलो र फराकिलो ठाउँ छ । ताजमहलको चारैतिर घुम्ने ठाउँ छ ।

मुख्यगरी पूर्व, दक्षिण र उत्तरतिर मानिसहरू घुमिरहेका हुन्छन्, बसिरहेका हुन्छन् । यमुनाको किनारमा बसेर तालमहल र यमुनालाई हेर्दै कविता रच्नेहरू पनि कति हुन्छन् । मलाई पनि एकजनाले फोनमा भनेको सम्झना हुन्छ– त्यहाँ बसेर एउटा कविता लेख्नुहोला । मैले भनेको थिएँ– हो, तालमहलअगाडि बसेर कसैलाई सम्झँदै कविता लेख्छु । मैलेचाहिं त्यसरी जिस्केर भनेको थिएँ । यहाँ आएर त्यो कुराको सम्झना त हुन्छ तर ताजमहलअगाडि बसेर कविता लेख्ने मन अलिकति पनि हुँदैन । वास्तवमा लाग्छ ताजमहल आफैंमा सुन्दर कविता हो र तालमहलअगाडि उभिएको म आफैंमा सुन्दर कविता हुँ ।

आठजनाको हाम्रो समूहमा को कता र कसरी डुलिरहेका छन् भन्ने कुराको हेक्का नै हुँदैन । म त साहित्यकार साथी किशुनदयाल श्रीकृष्णसित छु । हामी दुवैजनाले एकले अर्काको फोटो खिचिरहेका छौं र आफ्नो मोबाइलमा सेल्फी पनि लिइरहेका छौं ।

रौतहटबाट करीब पौने नौ सय किलोमिटरको ताजमहल परिसरमा निर्बाध डुलिरहँदा भोक र प्यास केहीको अनुभूति छैन । यमुनाको छेउमा उभिएर एकचोटि आगरा शहरलाई पनि निहार्छु । यमुना नदीले बनाएको जमीनको होचो भाग भएर केही पर अग्ला महलहरू देखिइरहेका छन् तर नजरलाई धेरै बेर तानिरहन सफल हुँदैन ।

यहाँ नजीकको ढोल नै सुहावन लागिरहेको छ । वास्तवमा यति नजीक छ ताजमहल भने कतै टाढा देखिने कुनै सुन्दरताको कुनै अर्थ रहन्छ त ? मनले नै मान्दैन । ताजमहलको कताबाट के फेरि के के हेरिरहूँ भन्ने भइरहन्छ । हेरिरहनुको आनन्द त हेर्नेलाई मात्र थाहा हुन्छ । हेरेर नअघाउने मन जो छ । मनमा जति राखे पनि मनको कुनै कुनामा भरिएको अनुभूति नहुने अद्भुत आश्चर्य जो छ सम्मुख ।

यहाँ नेटवर्क धेरै कमजोर छ । कारण यो पनि छ कि एकपटकमा हजारौंले प्रयोग गरिरहेका छन्। यद्यपि आफू हेर्र्दै र रमाउँदै केही मानिसलाई चाहन्छु यहाँको प्रत्यक्ष भिडियो देखाउन र आफूले गरिरहेको अनुभूति वर्णन गर्न । केही साथीसित सम्पर्क पनि हुन्छ, देखाउँछु पनि र केही साथीसित चाहेर पनि सम्पर्क हुन सक्दैन । अहिले अलिकति मनमा खल्लो लाग्छ । धेरैलाई जानकारी होओस् भनेर केही थान ताजा फोटाहरू सामाजिक सञ्जाल फेसबूकमा सार्वजनिक पनि गर्छौं ।

साँच्चै, एक अद्भुत र आश्चर्यको दर्शन गरेर जे आनन्द प्राप्त भएको छ वा जे अनुभूति प्राप्त हुन्छ, त्यसलाई केवल अनुभूतिले मात्र बुझ्न सक्छ ।

यात्राको गन्तव्यमध्ये एकमा आगराको तालमहलको दर्शन पनि राखेकामा अहिले सुखानुभूति भइरहेको छ । यस्तो लागिरहेको छ, सबै यात्राको थकान मेटिसकेको छ र सबै भ्रमणको सार यही नै हो । एकछिन यस्तो लाग्दछ, सम्पूर्ण भ्रमणहरूको सर्वोच्च प्राप्ति यही हो । भ्रमणहरूको पूर्णविराम यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here