- सञ्जय मित्र
आश्चर्य भन्नुको तात्पर्य मानिसका लागि अपत्यारिलो हुनु हो । संसारमा धेरै कुरा अपत्यारिला पनि छन् । कतिपय कुरा रहस्यात्मक पनि छन् । रहस्यलाई नबुझेसम्म आश्चर्य पनि मानिन्छन् । सबै रहस्य बुझेर पनि यदि साधारणतया मानिसबाट कुनै काम हुन कठिन हुन्छ भने त्यो पनि आश्चर्य हो । मानिसले बनाएको कतिपय कुरा मानिसकै लागि आश्चर्यको विषय बन्ने गरेको छ ।
केही दशक पहिलेसम्म काठमाडौंको धरहरालाई हेरेर उपत्यकाबाहिरबाट जानेहरूले आश्चर्य मान्ने गरेका थिए । मैले पनि पहिलोचोटि धरहरालाई विस्फारित नयनले अपत्यारिलो र अविश्वासिलो दृष्टिले अपलक हेरेको थिएँ । मैले हेरिरहेको छु र मैले देखिरहेको छु तर यो आश्चर्य हो भन्ने भइरहेको थियो । म भर्खरको नवयुवा थिएँ र पहिलोचोटि काठमाडौंमा पाइला टेकेको थिएँ । त्यत्ति बेलासम्म काठमाडौं उपत्यकालाई बुबाले नेपाल नै सम्बोधन गर्नुहुन्थ्यो ।
विश्वमा अनेक आश्चर्य छन् तर हाम्रो देशको नजीकमा दुई आश्चर्यलाई विश्वले पनि आश्चर्य मानेको छ । नेपालको उत्तरी छिमेकी चीनमा रहेको पर्खाललाई आश्चर्यको रूपमा मानिएको छ । के भनिन्छ भने चन्द्रमाबाट पृथ्वीमा स्पष्ट देखिने मानवनिर्मित त्यही पर्खाल मात्र हो रे । यो कहाँसम्म सत्य हो, आफ्नै ठाउँमा छ तर माटो र ढुङ्गाले निर्माण भएको यो पर्खालको निर्माणमा करीब एक हजार वर्ष लागेको पनि बताइन्छ ।
बीसदेखि तीस लाख मानिसले यसको निर्माणमा आफ्नो जीवन खर्च गरेको पनि मानिन्छ । पुरातŒव सर्वेक्षण विभागले केही समय पहिले गरेको सर्वेक्षणले संरचनासहित यस पर्खालको लम्बाइ आठ हजार आठ सय एकाउन्न किलोमिटरभन्दा बढी रहेको छ । युनेस्कोले यसलाई विश्वको धरोहरको रूपमा पनि स्वीकार गरिसकेको छ ।
छिमेकी भारतमा रहेको आश्चर्य ताजमहल हो । ताजमहल भारतको उत्तर प्रदेशमा पर्दछ । आगरा सम्भवतः जिल्ला हुनुपर्दछ । आगरा शहरको नजीकै छ ताजमहल । गत भदौ (२०७८) को दोस्रो हप्तासम्म भारतको झारखण्ड प्रान्तको देवघर जिल्लामा रहेको बाबाधामको मुख्य द्वार खुलिसकेको थिएन । मानिसहरूको आवतजावत दर्शन गर्नको लागि भइरहेको थिएन । यद्यपि कोरोनाको कहर निकै कम भइसकेको थियो ।
हरेक वर्ष बाबाधाम पुगेर दर्शन गरेपछि कतै नयाँ ठाउँको यात्रा गर्ने हाम्रा साथीहरूको परिपार्टी गत वर्षको कोरोना कहरले हुन नसकेको अवस्थामा यसपटक त कतै न कतै निस्कनुपर्ला भन्ने थियो र पहिलो रोजाइमैं विश्वका आठ आश्चर्यमध्ये हाम्रो नजीकमा रहेको ताजमहलसम्म पुग्नुपर्दछ भन्ने भयो । हरेक वर्ष हामी बोलबमको भेषमा हुन्थ्यौं तर यसपटक भने साधारण पोशाकमा जानुपर्ने निर्णय भएको थियो । बाबाधामको क्षतिपूर्ति बनारसको काशी विश्वनाथ मन्दिरको दर्शन गर्ने भन्ने थियो । पहिले हामीले बनारसको काशी विश्वनाथ मन्दिरको दर्शन ग¥यौं र त्यसपछि प्रयागराज (इलाहाबाद) हुँदै बढ्यौं आगरातर्फ ।
आगरा जानको लागि लखनऊको बाटो धेरै राम्रो हुन्थ्यो तर हामीलाई यो पनि थियो कि कानपुर भएर जाऔं र लखनऊ भएर फर्कौंला । यसरी गर्दा उत्तर प्रदेशका दुई प्रमुख शहर कानपुर र लखनऊको पनि दर्शन हुनेछ । र ग¥यौं पनि यसैगरी ।
पुग्दापुग्दै झन्डै अबेर भइसकेको थियो आगरा । त्यसमाथि सडकमा जाम । हामीले पुरानो हाइवे समातेका थियौं, यस कारण ठाउँ–ठाउँमा जामको अवरोध सिर्जना हुन्थ्यो भने पुरानो सडक भएकोले आवश्यकता अनुसार तीव्र गतिमा चलाउन पनि पाउने अवस्था हुन्थेन । अझ जब ताजमहललाई परैबाट देख्ने भयौं, तब एक स्थानीय सज्जनले यो बताउँछन् कि आज बन्दको दिन हो । हप्तामा एक दिन ताजमहल बन्द गरिन्छ ।
कर्मचारीहरू बिदामा हुन्छन् । तालमहलको सफाइ गरिन्छ, सेनिटाइज गरिन्छ । अनि हामी बढ्छौं वृन्दावनतर्फ । वृन्दावन र ताजमहलको दूरी धेरै छैन । डेढदेखि दुई घण्टाको फरक छ । हुनत यो फरक पनि गाडीको गतिमा निर्भर हुन्छ । स्कार्पिओ सामान्यरूपमा चलाउँदा वृन्दावनबाट डेढदेखि दुई घण्टामा मज्जाले पुग्न सकिन्छ ताजमहल । करीब ७५ किलोमिटरको मात्र दूरीमा छन् दुवै स्थान ।
आजभोलि गूगलको सहायताले बाटो हिंड्ने चलन बढिसकेको छ । गूगल म्याप निकालेर त्यसले जताजता निर्देश गर्दछ, उतातिर अगाडि बढ्ने धेरै छन् । यसले धेरै सहयोग पनि पुगेको हुन्छ तर यसमा केही समस्या हुन्छ । यसले धेरै बाटो देखाउँछ र सबैभन्दा नजीकको बाटो देखाउने हुन्छ । यद्यपि हामीले गूगलको भन्दा मानिसलाई सोध्दै अगाडि बढेका छौं । सबैभन्दा हतार हाम्रो स्कार्पिओको चालकलाई छ । किनभने ऊ मुस्लिम समुदायको हो । उसले जीवनमा एकपटक आगराको ताजमहल हेर्ने इच्छा राखेको छ तर कहिले पूरा होला भन्ने थिएन ।
गाडी चलाउने भएको हुँदा हिजैदेखि उसलाई कतिखेर पुगेर ताजमहल हेरूँ भन्ने उसलाई भइरहेको छ । आगरा पुग्नुभन्दा केही किलोमिटर पहिले उसले आफूलाई सजाएको थियो हिजो। एउटा सैलुनमा पुगेर दारीलाई आफ्नो अनुकूल बनाएर, फेसियल गरेर तयार पारेको थियो तर त्यस दिन बन्द भएको सूचना पाउँदा ऊ निकै निराश भएको थियो । त्यही निराशामा उसले हामीलाई वृन्दावन पु¥याएको थियो, गोकुल र मथुरा घुमाएको थियो । प्रेम–मन्दिरको दर्शन गराएको थियो । आज जतिजति नजीक ताजमहल आउँदैछ, ऊ त्यत्ति उत्साहित हुँदैछ । उसको उत्साहले हाम्रो उत्सुकतालाई पनि बढाएको छ । आज हामी पहिलोचोटि विश्वका अनेक आश्चर्यमध्ये एकलाई आफ्नै आँखाले हेर्न पुगिरहेका छौं ।
कतिपय हिन्दू मन्दिरमा विभिन्न पण्डा पुजारीले गर्दा सर्वसाधारणलाई धेरै पीडा दिने गर्दछ । बलजफ्ती यो गर, त्यो गर, यो गर्दा यो हुन्छ र त्यो गर्दा त्यो हुन्छ भन्छन् । ती सबै नाममा अनिच्छापूर्वक यात्रीसित सम्भव भएसम्म बढी रकम थुत्छन् । यो मलाई मन पर्दैन तर धेरैपटक यसरी रकम तिरेको छु । यात्रुको अप्ठ्यारो नबुझी केवल आफ्नो कमाइ हेर्ने चलन आगरामा झन् बढी छ । केही किलोमिटर पहिलेदेखि नै बाहिरबाट आउने गाडीलाई रोक्दै वा बिस्तारै चलाउँदा सँगसँगै दौडेर तथा कतिपय अवस्थामा मोटरसाइकलमा दौड्दै म डुलाउँछु भन्ने गर्दछन् । यसरी डुलाउँछु भन्नेले शुरूमा आफूलाई गाइड भन्छन्, असली गाइड भएको परिचयपत्र पनि देखाउँछन्, अरूलाई नक्कली पनि भन्छन् ।
यहाँ हेर्नलायक अरू के के छन् भन्ने पनि बताउँछन् तर यी सबैमा तिनीहरूले आफ्नो नाफा खोजिरहेका हुन्छन् । वास्तवमा कुनै पसलमा पु¥याएर केही सामान किन्न लगाउने र उक्त सामानको नाफाबाट आएको कमिशन पाउने योजना हुन्छ तिनीहरूको । अझ कतिपय यस्ता गाइडहरू त ताजमहलसम्म जाँदा पनि जाँदैनन् । पसलमा सामान किन्न लगाएर रफुचक्कर हुन्छन् फेरि अर्को मुर्गा फसाउन ।
हाम्रो स्कार्पिओका चालकदेखि हामी सातैजना गरी सम्पूर्ण आठजनाको लागि यो ठाउँ बिल्कुलै नयाँ छ । यस कुरालाई त्यहाँका गाइड भनाउँदा ठगहरूले राम्ररी बुझेका छन् । उनीहरूको पेशा नै त्यही हो । वास्तवमा ताजमहल घुम्नलाई कुनै गाइडको आवश्यकता पर्दैन । यदि कोही डुल्न जानुहुन्छ भने ताजमहल पुग्ने बाटोको नक्शा देखाउने मोबाइल एप हेर्दै पुग्ने हो भने सबैभन्दा सजिलो । धेरै समय पनि जोगिन्छ र पैसा पनि धेरै कम खर्च हुन्छ । कथित गाइडहरूले दुई सयमा घुमाइदिन्छु भन्नेदेखि पचास रूपैयाँमा सारा ताजमहल देखाइदिन्छु र सबै कुरा बताइदिन्छु भनिरहेका हुन्छन् । त्यसको चक्करमा बिल्कुलै पर्नुहुँदैन भन्ने मलाई लागेको छ ।
हामीलाई तीन समूहबिच डुलाइदिन झडप मात्रै भएन, झन्डै हात हालाहालको अवस्था भयो । हामी चाहन्थ्यौं कि कोही पनि गाइड नहोओस्, बरू बाटो देखाइदेओस् तर उनीहरू आफैं गालीगलौज गर्दै पहिले मैले देखेको, पहिले मैले बोलेको हो, पहिले मेरो कुरो सुनेको हो आदि के के भन्दा हामीलाई कसले घुमाउने भन्ने प्रतिस्पर्धा गरिरहेको देख्दा तिनीहरूप्रति नै घृणा उब्जेको थियो तर हाम्रोलागि ठाउँ नयाँ थियो । कतै हराउँछौं कि भन्ने चिन्ता थियो । अन्तमा एउटा गाइडको कुरा अरू दुई/तीन जना गाइडले सुने, तिनीहरूको कुरो मिल्यो । उसले हामीलाई ताजमहलको साटो पहिले मिनी ताजमहल देखाउन भन्दै एउटा पसलमा पु¥यायो । पसलमा बाँस र केराबाट बनेका साडीहरू हेर्दछौं र त्योभन्दा पहिले शोकेसमा सजाइएको अद्भुत मिनी ताजमहल ।