• ओमप्रकाश खनाल

पहिलो संविधानसभा चुनावमा हिन्दुत्व र राजतन्त्रको मुद्दालाई जमेरै भजाएका कमल थापा अन्ततः एकता महाधिवेशनमा संसद् नियन्त्रित राजतन्त्रको मुद्दा छिराएर पनि पछारिए । विगतमा राजतन्त्रको तुरूपले उनको सत्ताभोगलाई सघाए पनि यसपटक पार्टी राजनीतिमा चलाखी काम लागेन ।

कमल थापा यस्ता पात्र हुन्, जो सत्तालाई राजनीतिको मुख्य ध्येय बनाउने र त्यसकै लागि छेपारो आचरण उनका निम्ति कुनै अनौठो विषय होइन । २०४६ सालको परिवर्तनपछिका राजनीतिक आरोह–अवरोहरूमा कमल थापाहरूको भूमिकालाई स्मरण मात्र पनि गर्ने हो भने यो बुझ्न असहज हुँदैन ।

समकालीन राजनीति नीति र नैतिकताभन्दा पनि पद, पैसा र यसको बलमा आर्जन हुने शक्तिको पछाडि दौडिएको छ भन्नु नयाँ विषय होइन । राजनीति जनकल्याणमुखी राज्य व्यवस्था सञ्चालनका लागि हुनुपर्ने हो । हाम्रो राजनीति भने नेतृत्वको वैयक्तिक स्वार्थबाट प्रेरित छ । कमल थापा यो प्रवृत्तिको ताजा उपक्रम मात्रै न हुन् ।

अहिलेका शेरबहादुर देउवादेखि, केपी शर्मा ओली, प्रचण्ड, बाबुराम, माधव नेपाल वा झलनाथ सबैका राजनीतिक पहेलीलाई परख गर्ने जोकोहीले यो आचरणको सहजै भेउ पाउन सक्छन् । उनीहरूका अभिव्यक्तिमा व्यक्तिगत स्वार्थका दुर्गन्ध सजिलै महसूस गर्न सकिन्छ । ढिलोचाँडो मात्रै हो, प्रकारान्तरले अवसरवादको अवसानको कारण पनि स्वार्थ नै बनेको छ ।

दुई तिहाइ बहुमतको दम्भले केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोटको बाटो मात्रै देखाएन, नेकपाको त्यो शक्ति आज छिन्नभिन्न भएको छ । नेकपा एमाले दुई टुक्रामा बाँडियो । भन्दा जे भने पनि आज ओली, माधव र प्रचण्ड आआफ्नै अहङ्कार र अवसरवादको शिकार बनेका छन् ।
धरतीबाट बिदा भइसकेका शासकहरूका व्यक्तिवादी र परिवारवादका फेहरिस्ततिर प्रवेश नगरौं । केही अपवाद नभएका पनि होइनन्, उनीहरूलाई नेपाली जनमानसले स्मरण गरिराखेको छ । तीबाहेक राजाहरू नै किन नहोऊन्, उनीहरूको ध्यान देश र जनताको समृद्धितर्फ कहिल्यै गएन। फलतः अति महŒवाकाङ्क्षा र अवसरवाद नै २५० वर्षको राजतन्त्र उन्मूलनको कारण बन्यो ।

आज त्यही राजतन्त्रलाई हतियार बनाएर जनताको मत बटुल्ने र त्यसका बलमा सत्ता र शक्तिमा टाँसिइराख्ने नियतमा उद्यत् कमल थापाको अधोगति कुनै आश्चर्य र अस्वाभाविक विषय होइन । कमल थापाले यसलाई स्वाभाविकरूपमा ग्रहण गर्न नसक्नु चाहिं अस्वाभाविक विषय बनेको छ ।

स्मरण हुन्छ, राजतन्त्र र हिन्दुत्वको कुरा उठाएर पहिलो संविधानसभा निर्वाचनमा गतिलै स्थान बनाएका कमल थापाले त्यो उपलब्धि लगत्तै तुरुन्तै रङ फेरे । प्रत्यक्षमा एक सिट पनि नपाएका कमल थापाले राजतन्त्रलाई भजाएर समानुपातिकमा २५ सिट पाएका थिए । त्यतिखेर हिन्दुत्वको मुद्दालाई रुचाएकाहरूदेखि पूर्वराजाका समर्थकसम्मले ‘एक भोट गाईलाई’ भन्दै मत दिए । खासमा त्यो मत हिन्दुत्व र राजतन्त्रका पक्षधरहरूको विश्वासको परिणाम थियो ।

कमल थापाले राजतन्त्र र हिन्दुत्वको मुद्दालाई उठाएर मत गुटमुट्याए लगत्तै राजतन्त्रको मुद्दा फालिदिए । जनताको सहानुभूति बटुलेर संविधानसभामा गतिलै हैसियत बनाएपछि राजतन्त्र असान्दर्भिक भइसकेको र जनताको चाहना अनुसार नभएको भन्दै बोली मात्रै फेरेनन्, तत्कालीन सत्ता साझेदारहरूसित सत्ता सुखमा समाहित भए । जनताले दिएको मत उनको सत्तायात्राको अस्त्रबाहेक केही पनि बन्न सकेन ।

पहिलो संविधानसभामा प्रवेश लगत्तै सत्ताभोगको अगाडि राजतन्त्रको मुद्दा त्यागेर लम्पसार परेका कमल थापाले हिन्दुत्वको सवालमा सिन्को भाँचेनन् । सत्ताको सुख–सुविधा भने जमेरै उपभोग गरे । पहिलो संविधानसभाले संविधान दिन सकेन । राजतन्त्र र हिन्दुत्वको मुद्दा कमल थापाका लागि सत्तामा उक्लिने भ¥याङ मात्रै बनेको बुझेका जनताले उनलाई दोस्रो संविधानसभा चुनावमा हैसियतमा झारिदिए । उनको अवसरवादी आचरण रोकिएन ।

नेपालमा राजतन्त्रको औचित्य र आवश्यकतामाथिको बहस अलग विषय हो । गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्नेमा यो स्तम्भकार कदापि सहमत छैन । तर कुनै पनि असान्दर्भिक राजनीतिक विषयहरू जनता झुक्याउने र सत्ताभोगको उपाय बन्नुहुँदैन भन्नेमा सचेतना भने जरुरी छ ।

कमल थापा यस्ता राजनीतिक व्यक्ति हुन्, जसले राजनीतिमा अवसरबाहेक कहिल्यै केही पनि देखेनन् । उनका मुद्दा त अवसर प्राप्तिका हतियार मात्रै बन्दै आए । जसलाई उनी आवश्यकता अनुसार उपयोग गरिरहेका छन् । यो उनको सत्तालोलुप विगतले बताइसकेको छ । यतिसम्म कि हिन्दुत्व र राजतन्त्रको कुरा गर्ने थापा धर्मनिरपेक्षता र गणतन्त्रलाई संस्थागत गरिएको संविधानका हस्ताक्षरकर्ता बन्न पुगे । भलै, उनले त्यसमा फरक मत राखेका छन् । त्यस बेला प्राप्त सत्ताभोगको अवसरले उनलाई त्यो संविधानको साक्षी किनारामा सही गर्न उत्साहित गरेको बुझ्न समकालीन राजनीतिक घटनाक्रमप्रति सचेत जोकोहीलाई त्यति असहज छैन ।

हुनत प्रचण्डले कमल थापाको त्यो कदमलाई देश र जनताप्रतिको जिम्मेवारी बोध मात्रै नभएर राष्ट्रवादको संज्ञा दिए । त्यसको अन्तर्यमा देश, जनता र राष्ट्र प्रेम नभएर सत्ता अवसर थियो ।
मानौं, दोस्रो संविधानसभामा झिनो हैसियतमा रहेका कमल थापाहरूले संविधानमा हस्ताक्षर नगरेको भए के हुन्थ्यो ? स्पष्ट छ, मधेसवादीले छ महीनासम्म मधेसमा नाकाबन्दी गर्दा नरोकिएको संविधान सङ्ख्याका हिसाबले खासै हैसियत नभएका कमल थापाहरूले हस्ताक्षर नगर्दैमा रोकिनेवाला थिएन । हस्ताक्षर नगरेको अवस्थामा कमल थापाको सत्तायात्रामा तत्कालका लागि विराम लाग्ने अवस्था थियो ।

सत्तामा पुग्नकै लागि कमल थापाले संविधानमा फरक मतसहित हस्ताक्षर गर्ने चलाखी गरेका थिए । यो पनि अवसरवादको अर्को अध्याय थियो । कमल थापाहरूले त्यतिखेर त्यसलाई जनताप्रतिको जिम्मेवारीको रूपमा अर्थ लगाए पनि खासमा त्यो सत्तालोलुपताको एक अर्को उपक्रम मात्रै थियो ।

जनता मात्र होइन, कार्यकर्ता र सहानुभूति राख्ने स्वार्थ समूहले कमल थापाको चलाखी बुझिसकेको अहिलेको अवस्थामा उनलाई पार्टी र सत्ता राजनीतिमा कायम रहन यस्तो मुद्दाको खाँचो खटकिएको थियो । देशमा दुई तिहाइको सरकार आफ्नै किचलोबाट असमयमा बहिर्गमनमा पर्नु, कम्युनिस्ट पार्टीमा आएको विभाजन र विचलन, प्रतिपक्षी काङ्ग्रेसको नेतृत्वमा अलोकप्रिय सरकारजस्ता कारणले आगामी चुनावमा फ्याँक्न कमल थापालाई पुनः एउटा तुरूप चाहिएको थियो । उनले महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदनमा संसद्को नियन्त्रणमा रहने गरी राजतन्त्रको मुद्दा छिराउनु यही उपायको पदार्पणबाहेक अन्य थिएन ।

मुख्य राजनीतिक दलको प्रवृत्तिबाट असन्तुष्ट औसत जनतामा बरु राजतन्त्र नै ठीक भन्ने पर्न थालेको अहिलको दलीय अन्धआग्रहलाई अप्रिय लागे पनि सत्य हो । दलीय आचरणको आलोचना राजतन्त्रको पक्षपोषण कदापि होइन । यो सत्य हो कि, राजतन्त्र ठीक भएर होइन, राजनीतिक दलले राम्रो काम गर्न नसक्दा जनतामा असन्तोष चुलिएको छ ।

यस्तो असन्तुष्टिलाई भजाउन थापाले पुनः राजतन्त्रलाई तुरूप बनाउन खोजेको स्पष्ट थियो । जनतालाई मात्र होइन, महाधिवेशनलक्षित कार्यकर्तालाई झुक्याउन थापाले पुनः राजतन्त्रको मुद्दा छिराए । उनले महाधिवेशनमा पेस गरेको कार्यपत्रमा ‘विगत १२ वर्षको राजनीतिक घटनाक्रम तथा राजनीतिक अभ्यासले राजसंस्थाको औचित्य पुष्टि हुँदै गएको’ उल्लेख गर्नुको तात्पर्य योबाहेक केही होइन ।

अध्यक्षमा पराजित भएलगत्तै यतिखेर उनले पूर्वराजामाथि विषवमन गरिराखेका छन् । पूर्वराजाले कमल थापालाई सहयोग र असहयोग गर्नुसँग आम सरोकार किन पनि छैन भने जसरी कमल थापाले राजतन्त्रलाई सत्तामा पुग्ने उपाय बनाए, त्यसरी नै पूर्वराजाले पनि कमल थापाहरूलाई राज्यसत्तामा पुनस्र्थापित हुने औजार बनाउन खोजेकोमा किन्तु परन्तु आवश्यक छैन ।

राप्रपालाई पूर्वराजाले अहिले पनि यही उद्देश्यमा उपयोग गरिराखेको त महाधिवेशनको नतीजा र त्यसबाट आएको नेतृत्वका अभिव्यक्तिले खुलस्त पारिसकेको छ । प्रकारान्तरले पूर्वराजा ज्ञानेन्द्र शाह पनि अवसरवादको पदचापमा उद्यत् छन् । अवसरवादको अवसान अकाट्य छ । कमल थापाको पराजय यसको ताजा उदाहरण मात्रै न हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here