• सञ्जय मित्र

आजभोलि हरेक क्षेत्रमा परिवर्तन देखिन्छ । कुनै पनि पुरानो मानिसलाई आजसम्म जस्ताको त्यस्तै कुन कुरा रहेको छ भनेर सोध्ने हो भने कुनै पनि कुरालाई जस्ताको त्यस्तै देखाउन सक्दैन अर्थात् सबै क्षेत्रमा परिवर्तन भएको देख्न सकिन्छ ।

होला, आजभन्दा पचास वर्ष पहिले समाजको कुनै एक पक्ष जस्तो थियो, सोही पक्ष सय वर्ष पहिले पनि उस्तै रहेको हुन सक्ला वा निकै थोरै परिवर्तन भएको पनि होला वा परिवर्तनको मात्रा मापन गर्न सकिने रहेको पनि होला । पृथ्वीनारायण शाहको समयमा पनि केही कुरा आधुनिक थिए र त्यति बेलाको आधुनिक अहिलेको सङ्ग्रहालयमा राख्दा पनि पुरातन मान्न सकिएला र हुन सक्छ पृथ्वीनारायण शाहको समयमा पनि कतिपय कुरा पुरातन मानिएको होला । यहाँ भन्न खोजिएको कुरो के हो भने आधुनिकताको पनि समय हुन्छ र परिवर्तन हुँदै गएपछि आधुनिक पनि पुरानो बन्न पुग्दछ । यो कुरो हरेक क्षेत्रमा लागू हुन्छ ।

सामाजिक संस्कृतिको सन्दर्भमा पनि परिवर्तन तथा परिमार्जन हुँदै गएको देखिएको छ । कतिपय संस्कृतिमा निरन्तर परिमार्जनले संस्कृति नै परिवर्तन भएको पनि पाइएको छ । संस्कृतिको स्वरूप बदलिएको छ र अहिलेको नयाँ पुस्ताले जसरी संस्कृतिलाई मानिरहेका छन्, सोही पुस्ताले अबको केही दशकपछि हाम्रो जमानामा रहेको फलानो संस्कृतिको स्वरूप निकै परिवर्तन भइसकेको बताउन थाल्नेछ । यही सन्दर्भले के बताउँछ भने संस्कृतिको स्वरूपमा निरन्तर परिवर्तन भइरहेको हुन्छ ।

गाउँघरमा पनि सामाजिक संस्कृतिको स्वरूपमा परिवर्तन भइरहेको छ । यस प्रकारको परिवर्तन साना भनिने व्यवहारमा पनि भएको पाइएको छ । पहिले आफूलाई पढाउने शिक्षकलाई देख्नासाथ विद्यार्थीहरू खुट्टामा ढोग्न जान्थे । कम्तीमा खुट्टा छोएको जस्तो निहुरेर गर्दथे । यो गर्नैपर्ने बाध्यता भने थिएन तर कतिसम्म हुन्थ्यो भने यदि कसैले आफ्ना गुरुका अगाडि निहुरेर खुट्टा छोएको जस्तो गरी प्रणाम गरेन भने उनलाई अरूले भन्दथे कि फलानोले गुरुलाई ढोग्दैन । गुरुको अगाडि फलाना त यसरी ठाडै शिरले प्रणाम गरेको वा गर्दछ । ठाडै शिर प्रणाम गर्दा प्रणाम गरेको वा नगरेकोमा कुनै फरक छैन । प्रणाम गर्नुको अर्थ हुन्छ झुक्नु । नझुकीकन प्रणाम गर्ने होइन, मुखले प्रणाम भनेर के हुन्छ ? प्रणाम मुखले भन्ने होइन, शरीरले गर्ने संस्कार हो संस्कृति हो ।

बिस्तारै टाउको निहुराएर प्रणाम शब्द उच्चारण गर्न थालियो । यो पनि परिवर्तन नै थियो । त्यसपछि टाउको ठाडै राखेर दुईटै हात जोडेर प्रणाम शब्द उच्चारण गर्न थालियो । अझ यसमा परिमार्जन हुँदै टाउको ठाडै राखेर दुईटै हात जोडी प्रणाम शब्द उच्चारण गर्ने तथा टाउको ठाडै राखेर दुईटै हात अलिकति जोडेजस्तो गरी प्रणाम शब्द उच्चारण गर्न थालियो र अब त शब्दमा पनि प्रणाम खिइसकेको छ । बिस्तारै गुरुलाई पनि नमस्कार भन्ने चलन चलिसकेको छ । नमस्कार पनि मुखले भन्ने गरिएको छ अर्थात् नमस्कार भनेको जस्तो गर्ने गरिएको छ ।

घरमा गरिने स्वागतमा पनि व्यापक परिवर्तन भइसकेको छ । देख्दादेख्दै स्वागत संस्कृतिमा अकल्पनीय परिवर्तन भइसकेको पाइन्छ । पहिले घरमा कोही पाहुना आउँदा पाहुना घरनजीक पुगेपछि घरमा नगई नजीकै उभिएर फलानोको फलानो पाहुना आएका छन् भन्ने खबर घरमा पठाइन्थ्यो । जसको घरमा पाहुना गएका छन्, ती घरका सम्भव भएसम्म ठूलो मानिस त्यहाँसम्म लिन पुग्ने ।

त्यसलाई अगवानी भनिन्थ्यो । पाहुनालाई गरिने स्वागत वा सम्मानको पहिलो संस्कृति अगवानी थियो । अहिले त यो पूरै हराइसकेको छ । सम्भव हुँदासम्म त पाहुना गोआस अर्थात् बैठकामा नै सोझै पुग्ने चलन थियो तर गोआस वा बैठका सबैको हुँदैनथ्यो । जति सम्पन्न मानिस त्यत्ति सम्पन्न बैठका वा गोआस हुन्थ्यो । आजभोजि गोआस र बैठकाको व्यवस्थापन कम हुँदै गएको छ ।

यदि घरमा खबर पठाउने कोही नपाउँदाको अवस्था छ र पाहुना सोझै घरमा पुग्छन् भने सबैभन्दा पहिले घरका मानिसलाई बोलाउँथे । अथवा घरमा मानिसले नै पाहुनालाई देख्दथे । भेट हुनुको अर्थ हो दुवैजनाको नाता अनुरूपको अभिवादन र आशीर्वाद आदानप्रदान हुन्थ्यो । यो बडो हार्दिक हुन्थ्यो, साŒिवक हुन्थ्यो । त्यसपछि सामान्य पाहुना भए लोहोटामा पानी दिएर खुट्टा पखाल्न भनिन्थ्यो । यो खुट्टा पखाल्नु पनि ठूलो महŒवको हुन्थ्यो । विशिष्ट पाहुना भए घरको हैसियत अनुसार काँस वा अन्य कुनै धातुको थाल (छिपा)मा पानी ल्याइन्थ्यो र पाहुनाको एउटा खुट्टा त्यसमा आफैंले जस्तो राख्न लगाएर पखालिन्थ्यो र त्यसपछि अर्को खुट्टालाई पनि थालमा नै राखेर पखालिन्थ्यो ।

खुट्टा पखालेको पानी चाहिं एकातिर मिल्काइन्थ्यो तर खुट्टा पखालेको पानीलाई पनि अपमानपूर्वक फालेको भन्ने भान हुँदैनथ्यो । अहिले पनि कुनै परिवारमा धेरै ठूलो नाता अर्थात् कम्तीमा दुई पुस्ताको नाता पर्ने मान्छे आउँछन् भने कतै कतै गाउँघरमा थालमा पानी हालेर खुट्टा पखाली स्वागत गर्ने हार्दिक सम्मानपूर्ण स्वागत संस्कार रहेको छ । खुट्टा पखालेर घरमा पाइला राख्न अर्थात् घरमा भिœयाउने संस्कार अलिकति भएपनि जीवित रहेको छ तर कहिलेसम्म रहने हो, निश्चित छैन ।

पहिले कोही कसैकहाँ पाहुना जाँदा कोसेली लाने चलन थियो । कोही पाहुना आउँदा बालबालिकाहरूलाई भने खुशी यसै कारण लाग्थ्यो कि पाहुना आउँदा कम्तीमा निम्चुस त खान पाइन्थ्यो । पाहुना आउँदा घरका बालबालिकाहरू भने पूरै सतर्क हुन्थे । जस्तोसुकै चल्ने बालबालिका भएपनि पाहुना आएको थाहा पाउनासाथ सतर्क हुन्थे । सतर्क गराइन्थ्यो पनि ।

पाहुनासित भलाकुसारी हुन्थ्यो सामान्य । पाहुनालाई कम्तीमा तन्ना भएको ओछ्यानमा बस्न लगाइन्थ्यो । पहिले हरेकको घरमा तन्ना हुँदैनथ्यो । सबैको घरमा खाट हुँदैनथ्यो तर पाहुना त सबैका घरमा आउँथे । सुकुल बिछ्याएर त्यसमाथि तन्ना ओछ्याइन्थ्यो । यो पाहुनालाई गरिने आदर सम्मानको एउटा अङ्ग थियो ।

पछि बिस्तारै गाउँमा कुर्सीको प्रवेश भयो । कुर्सीमा बस्न लगाइन्थ्यो । कोही पाहुना गाउँमा पुग्दा कुर्सीमा बसाउनुलाई पाहुनाले पनि ठूलो वा राम्रो सम्मान गरेको भन्ठान्दथे । अरूहरूको नजरमा पनि यो सम्मानलाई राम्रो मानिन्थ्यो । बिस्तारै कुर्सीको प्रयोग बढ्दै गयो र जब प्लास्टिकको कुर्सी आयो, तब कुर्सीमा हुने सम्मान अति सामान्य हुन पुग्यो । यसको अर्थ यो पनि हो कि कुर्सीमा धेरैको पहुँच विस्तार हुन पुग्यो र यो सामान्य हुन पुग्यो ।

पाहुना आउँदा आफ्नो हैसियत अनुसारको अन्य स्वागत र खानपान हुनु एउटा पृथक पक्ष हो तर सम्भव भएसम्म हरेक सदस्यसित व्यक्तिगत भेटघाट र भलाकुसारी हुन्थ्यो । व्यक्तिगत भेटघाट सम्भव नहुने वा गर्न नहुने नाता सम्बन्धका मानिस हुँदा पनि तिनको बारेमा विस्तृत खबर बुझ्ने काम हुन्थ्यो । पाहुना लाग्दा एउटा अर्को पनि काम हुन्थ्यो सम्झाउने । राम्रोलाई अझ राम्रो बन्न प्रेरणा दिने काम हुन्थ्यो । र यदि अलिकति नराम्रो सुनिएको छ भने तिनलाई सप्रिनको लागि सम्झाइन्थ्यो । यसरी कुनै नजीकका नातेदारले आफन्तलाई सम्झाइबुझाइ गर्ने संस्कारले निकै ठूलो महŒव राख्दथ्यो ।

अहिले समय बदलिएको छ । पहिलेको जस्तो तरुआ खुवाउने चलन अब हराइसकेको छ । सडक र सवारीसाधनको विकास भइसकेको छ । यसले गर्दा होटलमा नै खुवाउने चलन बढ्दै छ । यस सँगसँगै स्वागत संस्कृतिभित्रका अन्य धेरै कुरा बिस्तारै हराउन थालेका छन् । पुराना मानिसको अगाडि अहिलेको स्वागत संस्कारमा खासै आफ्नोपन नरहेको गुनासो छ तर समयलाई स्वीकार गरी परिवर्तनलाई सबैले अङ्गीकार गर्दै गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here