• अनन्तकुमार लाल दास

आज प्लास्टिक प्रदूषणले तीव्र गतिले हाम्रो पर्यावरणलाई हानि पु¥याइरहेको छ । प्लास्टिकजन्य पदार्थबाट उत्पन्न फोहरलाई निस्तेज गर्नु धेरै कठिन हुन्छ । पृथ्वीमाथि हुने प्रदूषणमा यसको अहम् योगदान रहेकोले वर्तमानमा यो वैश्विक चिन्ताको विषय बनेको छ । प्लास्टिकका झोला, भाँडा र फर्निचरको बढ्दो प्रयोगले प्लास्टिक प्रदूषण जस्ता विकराल समस्या उत्पन्न भएको छ । आज हामी सबैले यस समस्यामाथि गम्भीरतापूर्वक विचार गरेर समाधानका प्रयासको थालनी गर्नुपर्छ ।

एकातिर आफ्नो उपयोगिताको कारण प्लास्टिक हाम्रो दैनिकीमा जीवनबाट बाहिर निकाल्न सम्भव नहुनेगरी सामेल भएको छ । त्यहीं अर्कोतिर यसले प्रदूषणको समस्यालाई पनि बढाएको छ, जनु एउटा नौलो प्रदूषण हो र जसलाई हामीले प्लास्टिक प्रदूषणको नाम दिएका छौं । प्लास्टिकमा धेरै विशेषता हुन्छन् । जस्तै यो हलुका हुन्छ, जलावरोधी हुन्छ, यसमा खिया प्रतिरोधक शक्ति हुन्छ र यसमा चीसो–तातो सहन गर्ने क्षमता हुन्छ । प्लास्टिकको यिनै विशेषताका कारण हेर्दाहेर्दै मानवजीवनमाथि यसले आफ्नो वर्चस्व कायम गरेको छ र आज जीवनका हरेक क्षेत्रमा यसको प्रयोग बढेको छ ।

यस्ता विशेषताका बावजूद प्लास्टिकले खतरनाक हदसम्म प्रदूषणको समस्यालाई वृद्धि गरेको छ । प्लास्टिकका कैंयन विशेषतामाथि यसको एउटा अवगुण हाबी भएको छ र त्यो के हो भने प्लास्टिक प्राकृतिकरूपले विघटित हुँदैन । दीर्घकालसम्म आफ्नो अस्तित्वलाई जोगाइराख्ने कारणले गर्दा यसले पर्यावरण र प्रकृतिलाई व्यापकरूपमा क्षति पु¥याउँछ । आज प्लास्टिक प्रदूषणको एउटा भयावह दृश्य हाम्रो सामु छ र यो एउटा वैश्विक समस्या बनेको छ ।

विश्वमा हरेक वर्ष अर्बौंको सङ्ख्यामा खाली प्लास्टिकका झोला फ्याँकिन्छन्, जो नालामा गएर त्यसको प्रवाहलाई अवरुद्ध गर्दछ । यसको सफाइ त खर्चिलो छँदैछ, सँगसँगै पानीसँग बगेर नदी वा समुद्रमा पुग्दछ । प्राकृतिकरूपले विघटित नहुने आफ्नो स्वभावले गर्दा त्यहाँ हुने जीवन र पर्यावरणलाई प्रतिकूलरूपले प्रभावित गर्दछ । प्लास्टिक प्रदूषणले गर्दा वैश्विक स्तरमा लाखौंको सङ्ख्यामा चराहरूको मृत्युको खबर प्राप्त भइरहन्छ । यो प्रदूषण ह्वेल, सील र कछुवा आदिका मृत्युको कारण पनि बन्छ । यिनीहरूले प्लास्टिकका टुक्रा निल्नाले कालको गाँस बन्छन् । आज विश्वका प्रायः हरेक देश प्लास्टिकबाट उत्पन्न प्रदूषणको विनाशकारी समस्यालाई झेलिरहेका छन् । नेपालको स्थिति पनि सन्तोषजनक छैन ।

एक अनुमानको आधारमा यसबेला विश्वमा करीब डेढ अर्ब टन प्लास्टिकको उपयोग भइरहेको छ, जो हरेक दिन बढिरहेको छ । हुनत प्लास्टिकको उत्पादन र उपयोगको क्षेत्र वृहत् छ तर यसको व्यापकतालाई बुझ्नको लागि केही संक्षिप्त उपयोगको चर्चा गर्न यहाँ आवश्यक रहेको छ। सबैखाले क्यारी बैगको निर्माणमा, पानीको टङ्की, पाइप र कलसम्बन्धी अन्य उपकरणको निर्माणमा, मिनरल वाटर, पेय पदार्थ, दूध, बिस्कुट, खाद्य तेल, अनाज आदि खाद्य सामग्रीको प्याकिङमा, दैनिक उपभोग्य वस्तु जस्तै टूथपेस्ट ट्यूब, टूथब्रश, शैम्पुको बोतल, चश्मा र काइयो आदिमा, ओखति र बट्टा, रगत संरक्षक ब्याग, विभिन्न फर्निचर जस्तै मेच, कुर्सी, आलमारी, ढोका र हलुका भवन निर्माणमा, वाहन, हवाईजहाज तथा अन्य उपकरणका हिस्साको निर्माणमा, इलेक्ट्रिक सामग्री, इलेक्ट्रोनिक उपकरण, टेलिभिजन, रेडियो र टेलिफोनको निर्माणमा, कृषि उत्पादनलाई बढाउनको लागि कृत्रिम घाँस आदिको निर्माणमा, खेलौना, डाइपर, क्रेडिट कार्ड आदिको निर्माणमा प्लास्टिकको प्रयोग गरिन्छ । यहाँ के बुझ्नु आवश्यक छ भने वैश्विक स्तरमा न्यूनतम प्रतिव्यक्ति प्लास्टिकको उपयोग जहाँ १८ किलोग्राम छ, त्यहीं यसको पुनप्र्रयोग दर १५.२ प्रतिशत रहेको छ ।

सँगसँगै के जान्नु पनि आवश्यक हुन जान्छ भने प्लास्टिकसँग सम्बन्धित कुन–कुन समस्याहरू हाम्रो सामु उपस्थित भएका छन्, जसले प्लास्टिक प्रदूषणको समस्यालाई वृद्धि गरेको छ । ध्यान दिनुपर्ने कुरा के हो भने प्लास्टिक नैसर्गिकरूपले विघटित हुने पदार्थ होइन । एकपटक निर्माण भइसकेपछि प्रकृतिमा स्थायीरूपले बास गर्दछ र प्रकृतिमा यसलाई नष्ट गर्ने कुनै सूक्ष्म जीवाणु पनि छैन । यस गम्भीर परिस्थितिका कारण वातावरणमा असन्तुलन र पर्यावरणमा प्रदूषण पैmलिन्छ । त्यहीं अर्कोतर्फ पानीमा घुल्ने नभएको कारण नाला, पोखरी र नदीहरूमा जम्मा हुन्छ, जसबाट जलप्रवाह अवरुद्ध हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन्छन् । जलप्रवाह अवरुद्ध भएपछि झिङ्गाको उत्पत्ति हुन्छ र झिङ्गाजनित रोग जस्तै मलेरिया, डेंगु आदि पैmलिन थाल्छन् । त्यहीं समुद्रको पर्यावरणमा प्लास्टिकको विसर्जनले त्यहाँ बस्ने जीवले यसको उपभोग गर्छन् र कालको गाँस बन्छन् ।

यसैगरी, प्लास्टिक उद्योगमा कार्यरत श्रमिकहरूको स्वास्थ्यमाथि पनि यसको नराम्रो प्रभाव पर्छ र उनीहरूको फोक्सो, मिर्गौला र नसाहरू दुष्प्रभावित हुन्छन् । गुणस्तरहीन प्लास्टिकमा प्याक गरिएका खाद्यपदार्थ, औखतिसँग रासायनिक प्रतिक्रिया गरेर त्यसलाई दूषित गर्न सक्छ, जसबाट त्यसका उपयोगकर्ताको स्वास्थ्यमाथि नराम्रो असर पर्न सक्छ । यसैगरी, प्लास्टिकलाई जलाउँदा त्यसबाट निस्कने ग्याँसले गम्भीर वायु प्रदूषणको समस्या उत्पन्न गर्छ।

नेपालमा पनि प्लास्टिकजन्य फोहरको व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । फालिएका प्लास्टिकलाई पुनप्र्रयोग गर्नुपर्छ । प्रत्येक मानिसले प्याकिङमा प्रयोग गरिने र फालिने प्लास्टिकको उपयोगमा कमी ल्याउनुपर्छ । यस्तो सामग्री किन्नुपर्छ, जसको प्याकिङमा थोरै प्लास्टिकको प्रयोग गरिएको होस् । ग्राहकहरूले आफ्नो निजी कपडाको झोला आदिको उपयोग गर्नुपर्छ । कुनै पनि प्लास्टिकबाट बनेका सामग्रीलाई प्रयोगपछि नाला, नदी वा समुद्र छेउमा फाल्नुहुँदैन । यसको व्यवस्थापन तोकिएको फोहर व्यवस्थापन गर्ने ठाउँमा नै गर्नुपर्छ । प्रत्येक गाउँपालिका, नगरपालिका र महानगरपालिकाले प्राकृतिकरूपले विघटित हुने र नहुने फोहरलाई बेग्लाबेग्लै फोहरपेटीमा फाल्ने व्यवस्था गर्नुपर्छ र पटक–पटक त्यसको अवलोकन र जनचेतना जगाउने प्रयास गरिराख्नुपर्छ ।

उदाहरणका लागि वीरगंज महानगरपालिकाले प्रत्येक वडाका हरेक घरमा दुई/दुई वटा डस्टबिन यसै कार्यको लागि दिएर खूब वाहवाही लुट्यो तर सो अनुरूप कुनै पनि वडामा हालसम्म काम भएको छैन, न त फोहर सङ्कलन गर्न आउने ट्याक्टरमा नै दुई प्रकारका फोहर व्यवस्थापनको खण्ड छ । भन्नुको अर्थ के हो भने प्रदूषण एउटा गम्भीर समस्या हो । यसप्रति सबै सचेत हुनैपर्छ र कसैले खेलबाड गर्छ भने त्यो क्षम्य हुनेछैन ।

प्लास्टिकबाट उत्पन्न खतराप्रति जनसाधारणलाई जागरूक बनाउनु वर्तमानमा आवश्यक छ । यसको थालनी विद्यालयस्तरबाट गरी बजार, कार्यालय र कार्यालयमा कार्यरत जनतासम्म प्रचारित र प्रसारित हुनुपर्छ । यस प्रयासको थालनी वीरगंजमा नभएको पनि होइन तर आवश्यकता यस प्रकारको प्रयास हरेक वर्ष सप्ताहव्यापीरूपमा गर्नुपर्छ र सबैले पनि आआफ्नोतर्फबाट यसमा सक्दो सहयोग पु¥याउनुपर्छ । परिवारका प्रत्येक सदस्यलाई प्राकृतिकरूपले विघटित हुने र नहुने बेग्लाबेग्लै डस्टबिनको उपयोग सम्बन्धमा स्थलगतरूपमा शिक्षित गर्नुपर्ने खाँचो रहेको छ, जसबाट फोहरलाई बेग्लाबेग्लै गर्न सजिलो हुनेछ ।

प्लास्टिक उद्योगीहरूले आआफ्नो उत्पादनलाई कसरी पुनप्र्रयोग गर्ने कुरा आम जनतालाई सूचित गर्नुपर्छ वा सरकारले यसको लागि उनीहरूलाई बाध्य गरिनुपर्छ । यसैगरी, सबैखाले पुनप्र्रयोग परियोजनालाई सफलतापूर्वक सञ्चालनका लागि बैंक तथा अन्य सरकारी संस्थाहरूले अघि बढेर बढीभन्दा बढी सहयोग उपलब्ध गराउनुपर्छ । निरन्तर समय अनुसार र खासगरी वर्षात्को मौसमभन्दा पहिला नालाहरूको सफाइ राम्ररी गरिनुपर्छ ।

वास्तवमा प्लास्टिक जसरी हाम्रो दैनिक जीवनमा सामेल भएको छ, त्यसलाई हेर्दा यसलाई जीवनबाट पूर्णरूपले निकाल्न सम्भव छैन तर समझदारीपूर्वक यस समस्यालाई नियन्त्रित अवश्य गर्न सकिन्छ । यसको लागि तीन पाइला बलियोसँग उचाल्नुपर्ने हुन्छ । पहिलो, प्लास्टिकको उपयोगलाई न्यून गर्ने प्रतिबद्धताका साथ यसको उपभोगलाई कम गर्दै जाने । दोस्रो, प्लास्टिकबाट बनेका सामग्रीको पुनप्र्रयोगमाथि ध्यान दिनुपर्छ अर्थात् फाल्नुको साटो घरका अन्य काममा प्रयोग गर्नुपर्छ र तेस्रो पाइला हो, रिसाइक्लिनिङ अर्थात् पुनर्प्रयोग गर्नु । अन्त्यमा, हामी सबैले भावी सन्ततिको ख्याल गरी नेपाललाई प्लास्टिक प्रदूषण मुक्त बनाउन आजैदेखि सक्दो प्रयासको थालनी गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here