काठमाडौं, १५ मङ्सिर/रासस

चालू आर्थिक वर्षको पहिलो चार महीनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको शुरूको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुर्ई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सो अवधिमा रु सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवको तुलनामा आयात ६१ दशमलव ५७ प्रतिशतले बढेको छ । गत आवको पहिलो चार महीनामा रु चार खर्ब दुर्ई अर्ब ४९ करोड एक लाख ७८ हजार मूल्य बराबरको आयात भएकामा चालू आवको कात्तिक मसान्तसम्म रु छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार पुगेको छ ।

त्यस्तै, गत आवको पहिलो चौमासिकको तुलनामा चालू आवको निर्यात १०४ दशमलव २९ प्रतिशतले बढेको छ । गत आवको पहिलो चौमासिकमा रु ४० अर्ब दुर्ई करोड ६४ हजारको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा रु ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजारको निर्यात भएको छ ।

विभागका अनुसार चालू आवको कात्तिकसम्म व्यापार वृद्धि भएपनि मुलुकको व्यापार घाटा ५६ दशमलव ८३ प्रतिशतले बढेर रु पाँच खर्ब ६८ अर्ब १७ करोड १८ हजार पुगेको छ । गत आवको पहिलो चार महीनामा व्यापार घाटा रु तीन खर्ब ६२ अर्ब २९ करोड एक लाख १३ हजार थियो ।

गत आवको पहिलो चौमासिकसम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ९२ प्रतिशत रहेकामा यस्तो हिस्सा दुर्ई दशमलव ३४ प्रतिशतले घटेर चालू आवमा ८८ दशमलव ७९ प्रतिशतमा आएको छ । त्यस्तै, वैदेशिक व्यापारमा निर्यातको हिस्सा २३ दशमलव ४८ प्रतिशतले बढेको छ । गत आवको कात्तिक मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा नौ दशमलव ०८ रहेकामा चालू आवमा ११ दशमलव २१ प्रतिशत पुगेको छ ।

चार महीनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालू आवको पहिलो चार महीनामा रु ३४ अर्ब ३३ करोड २१ लाख ९७ हजार बराबरको डिजेल आयात भएको देखिन्छ । त्यस्तै, आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ ।

नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनः निर्यात गर्दै आएका छन् । चालू आवको पहिलो चार महीनामा करीब १७ करोड लिटरभन्दा बढी भटमासको तेल रु २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार मूल्य बराबरको आयात भएकोे छ । त्यस्तै, टेलिफोन रु २० अर्ब ३५ करोड ८६ लाख १६ हजार, पाम आयल रु १९ अर्ब १७ करोड ५७ लाख २८ हजार र पेट्रोल रु १८ अर्ब ६६ करोड ६५ लाख ९४ हजारको आयात भएको विभागले जनाएको छ । नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ ।

विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार स्वदेशबाट रु २६ अर्ब ४० करोड ११ लाख एक हजार मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि हो ।

सार्वजनिक विवरण अनुसार चालू आवको पहिलो चार महीनामा रु १९ अर्ब दुर्ई करोड ३० लाख ९० हजार मूल्य बराबरको पाम तेल निर्यात भएको छ । रु तीन अर्ब ९३ लाख १७ हजार बराबरकोे गलैंंचा तथा रु दुर्ई अर्ब ३१ करोड ५५ लाख ७८ हजार मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।

विभागको विवरण अनुसार सबैभन्दा धेरै वीरगंज नाकाबाट रु दुर्ई खर्ब २३ अर्ब ९० करोड ५० लाख ७४ हजार मूल्य बराबरको आयात तथा भैरहवा नाकाबाट रु एक खर्ब छ अर्ब ४८ करोड ८३ लाख ३० हजार र त्रिभुवन विमानस्थल नाकाबाट रु ८१ अर्ब ७० करोड ९१ लाख ५६ हजार बराबरको वस्तु आयात भएको छ ।

त्यस्तै, नेपालले निर्यातमा वीरगंज भन्सारबाट रु ३९ अर्ब ५६ करोड ३४ लाख ५० हजार, विराटनगर भन्सारबाट रु २२ अर्ब ५१ करोड ४७ लाख ५२ हजार तथा त्रिभुवन विमानस्थल नाकाबाट रु ११ अर्ब ७५ करोड ४१ लाख ३५ हजार बराबरको वस्तु विदेश निर्यात गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here