- सञ्जय मित्र
अनाथ भनेका त ती हुन्, जसका कोही पनि छैनन् । जसका कोही हुँदैनन्, तिनका लागि भगवान् हुन्छ भन्ने गरिन्छ । यस अर्थमा अनाथहरूको सेवा गर्ने जो कोही छन् ती भगवान् हुन्।
मैले हरेक भगवान्लाई यसै अर्थमा सम्मान गर्ने गरेको छु । भगवान् भनेपछि मेरो मनभित्रको शिर यसै अर्थमा झुक्ने गरेको छ । किन कोही भगवान् भए भन्ने कुराको यथार्थ हेर्दै र बुझ्दै जाने हो भने आफ्नो समयमा तिनले समाजका लागि, असहायका लागि वा पीडितका लागि निकै सकारात्मक काम गरे, आफ्नो स्वार्थ हेरेनन्, वैयक्तिक सुख र सम्पत्तिको लागि मात्र गरेनन् भन्ने नै पाइन्छन् । यदि अहिले पनि कोही यसरी गरिरहेका छन् भने ती श्रद्धेय छन्, सम्मान्य छन् ।
म यो पनि भन्दिनँ कि सबै मानिस भगवान् नै बनून् तर केही समयको लागि भगवान् बनिदिन सकिन्छ । यदि कोही मानिस कुनै ठाउँमा कुनै कारणले आफ्नो मूल भूमिका छाडेर केही समयको लागि नै अर्को भूमिका खेल्नुपर्ने हुन्छ भने त्यस भूमिकामा देख्नेको नजरमा ऊ केही समयकै लागि किन सही नहोओस् तर त्यसकै प्रतिरूप देख्न पुग्दछ ।
उदाहरणको लागि कुनै नाटकमा कुनै साधुले चोरको भूमिका खेल्यो वा कुनै डाँकूले कुनै भगवान्को भूमिका सफलतापूर्वक निर्वाह गर्न पुग्यो भने साधुलाई देख्दा एक छिन चोरको प्रतिरूप मनमा उब्जिने र डाँकूलाई देख्दा एक छिन भगवान्को प्रतिरूप मनमा उब्जन्छ । यदि अनाथहरूका लागि एक छिन खुशी दिन सक्यौं भने त्यस खुशीका वा मुस्कानका मालिक कहलाउन सक्छौं ।
मैले देखेको छु अनुहारमा नक्कली मुस्कान तर हृदयमा अनगिन्ती प्रफुल्लित गुलाफहरू । कसैले केही दिंदा अनाथहरूलाई प्रिय नलाग्ने वा आफूलाई नहुँदा पनि हुने कुरा कसैबाट पाउँदा अनाथहरूको ओठमा मुस्कान हुन्छ । त्यो मुस्कान यस कारण हुन्छ कि दाताको मनमा असन्तोष नहोओस् । दाताले सन्तुष्टि पाऊन् । दाता फेरि पनि कुनै अवसर पारेर अर्कोपटक आऊन् । दाताको मनमा, मनोविज्ञानमा, मस्तिष्कमा र हृदयमा स्नेह, सहानुभूति, प्रेमको आलोक बलिरहोस्, जसले आफूहरू आलोकित भइरहूँ, भइरहौं । ओठमा देखावटी मुस्कान छरे पनि दाता आफूलाई केही दिए भन्ने प्रफुल्लताले हृदयकमल पल्लवित भएको हुन्छ । यो कुनै अद्वैतवाद होइन ।
एउटा साधारण मानिसको लागि हुने विशेष दिनलाई नै उत्सव भन्न सकिन्छ । सामाजिक, सांस्कृतिक तथा राजनीतिक उत्सवहरू पनि छन् । यस्ता सामाजिक, सांस्कृतिक तथा राजनीतिक उत्सवहरूलाई पनि अनाथहरूका लागि विशेष बनाउन सकिन्छ । अनाथहरूले यस प्रकारका उत्सवहरूबाट पनि कतिपय कुरा पाउन सक्छन् । यस्ता उत्सवहरूको महŒव बुझ्न सक्छन् । धार्मिक उत्सवहरूका बारेमा त समाजका अधिकांश व्यक्ति वा व्यक्तित्व पूर्व जानकार हुन्छन् र यस प्रकारका उत्सवमा अनाथहरूसित रमाउँदा पुण्यको प्राप्ति हुन्छ भन्ने विश्वास धेरैमा रहेको छ । यस विश्वासले पनि अनाथहरूको अनुहारमा चमक ल्याउँछ ।
व्यक्ति विशेषको उत्सवको दिन भनेर सामान्यतया एउटा क्रममा चल्ने जन्म दिवस र विवाह दिवस हुन् । यसैगरी, कुनै विशेष उपलब्धि प्राप्त गरेको अवसर पनि हो वा हुन सक्छ । विशिष्ट उपलब्धि प्राप्त गरेको दिनलाई साथीभाइसित बसेर रमाइलो गर्ने प्रचलनको विकास त भइसकेको छ । यसले यदि सामाजिक विकृति ल्याउँदैन भने यसलाई पनि सकारात्मक मान्न सकिन्छ । उपलब्धिको समयमा रमाउने प्रचलन पहिलेदेखि नै रहेको छ ।
आफू रमाउने, आफ्नोलागि अरूले रमाइदिने, आफू अर्काको लागि रमाइदिने, अर्काको लागि रमाउँदा ऊ पनि रमाउने र अरू रमाएको देखेर आफूलाई पनि खुशी लाग्ने जस्ता कुराहरू एकापसमा गाँसिएका भएपनि अलग–अलग हुन् । हामी अर्काको लागि रमाउनुपर्छ भन्नुको अर्थ यो कदापि होइन कि अर्काको लागि जसको लागि रमाइरहेका छौं, उनलाई थाहै नदिई रमाइरहेका होऔं । यसले त रमाउनुको पनि सीमा निर्धारण गर्दछ ।
यद्यपि देवकोटाले भनेका छन् कि वास्तविक खुशी त आफूलाई मिटाएर अरूलाई दिनुमा छ तर हरेक परिस्थितिमा यो लागू नहुन सक्छ । आफूलाई मिटाएर अरूलाई खुशी बनाउने कुरो अहिले त्यत्ति समय सान्दर्भिक नहोला । यद्यपि यो सदैव असान्दर्भिक नै छ, सर्वत्र असान्दर्भिक नै छ भन्न खोजिएको भने पक्कै होइन ।
आफू एक्लै रमाउनु पनि राम्रो हो । आफ्नो खुशीमा अरूलाई सामेल गराउन सक्नु झन् राम्रो हो। आफू खुशी हुनुपर्ने दिन अनाथहरूलाई खुशी पारेर आफ्नो खुशी बाँड्दा अझ धेरै अनुहारमा खुशी फलेको पाउनु कता हो कता धेरै गुणन बढी खुशी हुनु हो ।
कतिपय खुशी एक छिनमा बिलाउन सक्छन् । खुशी भएर पिएको नशा ओर्लेपछि खुशी समाप्त हुन सक्छ । यस प्रकारको खुशीको सिमाना साँघुरो हुन्छ तर अनाथहरूसित केहीबेर मात्र पनि रमाउन पाउँदा वा आफ्नो खुशीमा अनाथहरूको ओठमा मुस्कान ल्याउन पाउँदाको क्षण कैयौं दिन वा महीना वा वर्षपछि जब सम्झना हुन्छ, तब आफ्नो हृदयमा त्यो खुशीको, खुशीको त्यो क्षणको र खुशीको त्यो कारणको स्मृतिले फेरि हृदय प्रफुल्लित बन्न पुग्दछ ।
मनमा प्राप्त हुने यस प्रकारको सन्तोषको अङ्कुरले जब उक्त क्षणको सम्झना हुन्छ, तब अलिकति त्यो अड्ढुरण अझ अङ्कुरित भएको अनुभूति हुन्छ । यथार्थमा अनाथहरूसित मनाइएको खुशी आफ्नो जीवनको यादगार पलहरूमा गनिन सक्छ । आफ्नोलागि सदैव सुखीको क्षण भनिन सक्छ ।
कतिपय खुशी भएर सकिने हुन्छ र कतिपय खुशी निरन्तर बढ्ने हुन्छ । हराउने खुशीको महŒव हुँदैन खासै । कतिपय खुशी लुकाउने किसिमको हुन्छ भने कतिपय खुशी त यस्तो हुन्छ कि अहिले भएको खुशीले पछि पनि खुशी नै दिने हुन्छ । मानौं खुशी हुने वा बनाउने बोट मनको आँगनमा लगाएको हो । अनाथहरूसित रमाउने खुशीको बोट हो । यस खुशीको बोटमा जब फूल फुल्छ, तब राम्रो लाग्छ र जब फूलको वास्ना आउँछ, तब झन् मीठो आनन्द दिन्छ ।
अनाथहरूसित वर्षमा एक दिन कम्तीमा सानो नै भएपनि खुशी हुन सिक्ने कि ? म यो कदापि भन्दिनँ कि समाजमा कोही अनाथ हुनु राम्रो हो । सकेसम्म कोही अनाथ नहोऊन् भन्ने हाम्रो सामाजिक अवस्था बन्न सके कति राम्रो हुन्थ्यो तर यदि कोही अनाथ छन् भने ती अनाथ पनि रमाउनुपर्दछ, फक्रनुपर्दछ र अनाथको जीवन पनि फुल्नुपर्दछ । अनाथको जीवनमा सहयोग गर्दछौं, तब तिनीहरू समाजमा एक्लो अनुभूति गर्दैनन्, जीवनवृत्तिको विकासमा गतिरोध उत्पन्न हुँदैन ।
हामीजस्तै ईश्वरका सुन्दर सिर्जना अनाथहरू पनि हुन् । ईश्वरका सुन्दर सिर्जनाहरू संरक्षणका हकदार हुन्छन् । संरक्षण गर्नमा हाम्रो भूमिका हुनुपर्दछ र हामी हाम्रो जीवनको विशेष दिनहरूमध्ये वर्षमा कुनै एक दिन अलिकति भएपनि आफ्नो खुशी अनाथहरूसित बाँड्न सिक्नुपर्दछ । उत्सव अनाथहरूसित मनाउन सक्नुपर्दछ, सिक्नुपर्दछ ।
अनाथहरूसित मनाइएको उत्सव ब्याजमा गरिएको ठूलो खुशीको लगानी हो । लगानीले ब्याज दिन्छ वा प्रतिफल दिन्छ । अनाथहरूमा खुशी लगानी गर्दा मनभित्र खुशीको ब्याज निरन्तर खुशी आइरहन्छ । आत्मामा सन्तुष्टिको प्रतिफल निरन्तर प्राप्त भइरहन्छ र यस्तो अनुभूति हुन्छ कि मैले आफ्नो केही कुरा यस परम पवित्र काममा पनि लगानी गरेको छु । अन्य खेर जाने कुराहरूमा गरिएको लगानीको कुनै सम्झना हुँदैन तर अनाथहरूसित उत्सव मनाएको सम्झना भने भइरहन्छ । यसरी अत्यन्त स्मरणीय र अरूहरूका लागि पनि स्मरणीय आनन्ददायी आफ्नै उत्सवमा आफूलाई सहभागी गराउने उत्सवको नवीन यात्राका यायावर बन्न आफैंलाई प्रेरित गरौं ।