महोत्तरी, ९ मङ्सिर/रासस
सामान्यतया पुस लागेपछि देखिने हुस्सु (कुहिरो) जिल्लाको दक्षिणी र मध्यक्षेत्रमा यसपालि मध्य मङ्सिरअघि नै लाग्न थालेको छ । जिल्लाको मध्यक्षेत्रदेखि नेपाल–भारत सीमाको दशगजासम्मकै बस्ती मङ्सिर पहिलो साता बितेलगत्तैदेखि हुस्सुले डम्म ढाकिएका छन् । चीसो सिरेटो बहेसँगै एकाबिहानै हुस्सुले डम्म ढाकिएपछि जाडो एक्कासि बढेको छ ।
जिल्लाको सुदूर उत्तरी क्षेत्र (पूर्व–पश्चिम राजमार्ग वारिपारि) एकाबिहानै पारिलो घाम लागे पनि मध्य र दक्षिणी क्षेत्रमा भने हुस्सु लाग्ने र चीसो सिरेटो बहन थालेपछि जाडो ह्वात्तै बढेको हो । धानबाली थन्क्याइ नसकिएको र हिउँदेबाली लगाउने धमाधमका बेला एक्कासि जाडो बढेपछि जिल्लाका बस्तीमा कृषि कार्य सुस्त भएको किसानले बताएका छन् ।
“खै मङ्सिर १५ अघि त यस्तो भोगिएको धेरै सम्झना छैन, यसपालि त डम्म धुनी (हुस्सु) लागेर काममैं निस्कन नसकिने भइयो,” जिल्लाको मध्यवर्ती क्षेत्रको बलवा नगरपालिकाको धमौरा बस्तीका ७७ वर्षीय हासिम कवारीले भने, “धान अझै खेत र खलियान (खलो)मा असरल्ल छ, गहुँ लगाउने धमाधमको बेला छ, काम नसर्ने छाँट देखायो ।” बाक्लो हुस्सुसँगैको चीसो सिरेटोले जाडो ह्वात्तै बढाएपछि कृषि कार्यमा लाग्ने जन (श्रमिक) घरबाट निस्कन नमान्दा काम नबढेको उनको भनाइ छ ।
जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा जमीनमा चिस्यान बढी भएको, पोखरी/ताल बढी भएको र दक्षिणी समुद्रबाट नजीक भएको हुँदा यो भेगमा पहिले हुस्सुको प्रभाव देखिएको वातावरणविज्ञको भनाइ छ । वायुमण्डलको चापले चिस्यानबाट वाष्पीकरण बढ्दा र तल्लो भेगमा सामुद्रिक हावा पहिले आइपुग्ने भएको हुँदा यस्तो प्रभाव देखिएको वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिवासका अध्यक्ष नागदेव यादवको भनाइ छ । जिल्लाको उत्तरी क्षेत्रको जमीन मध्य र दक्षिणी क्षेत्रको भन्दा रुखो भएको र सामुद्रिक हावा आइपुग्न ढिलो हुने हुँदा सो भेगमा हुस्सुको प्रभाव अलिपछि देखिने उनले बताए ।
बूढापाका भने यसपालि चाँडै हुस्सु र जाडो बढ्नुलाई नयाँ साल (वर्ष) टेकेसँगैको अत्यधिक गर्मी र बर्खाकालमा परेको अत्यधिक पानीको प्रभाव ठान्दछन् । “यस वर्ष लागेसँगै गर्मी पनि अचाक्ली थियो, त्यसैगरी बर्खामा पानी पनि धेरै प¥यो, त्यसैको प्रभावले अहिले हुस्सु र जाडो पनि चाँडै शुरू भएको हो,” मटिहानी नगरपालिका–३ का वडाध्यक्षसमेत रहेका ७० वर्षीय लियाकत कवारीले भने । गर्मी र वर्षा अत्यधिक भएको वर्ष जाडो पनि चाँडै शुरू हुने र धेरै जाडो बढ्ने अनुभव विगतबाट पाएको कवारीको थप भनाइ छ ।
हुस्सु र जाडो बढेसँगै जिल्लाको तल्लो भेगका बस्तीमा एक्कासि बिरामी बढ्न थालेका छन् । श्वासप्रश्वासका बिरामीलाई कष्ट बढेको र खोकी, रुघा र हाडजोर्नी दुख्ने बेथा बढेको स्वास्थ्य संस्थाले जनाएका छन् । गरीब बस्तीका बूढापाका, ससाना बालबालिका र सुत्केरी महिलालाई स्वास्थ्य समस्या बढेको छ । जाडो बढेसँगै स्वास्थ्य कार्यालय, महोत्तरीले घरआँगन सरसफाइ गर्न, सफा, ताजा र स्वच्छ खानेकुरा खान, न्यानो कपडा लगाउन र दाउरा बालेर रापिलो आगो ताप्न सल्लाह दिएको छ ।