प्रस, वीरगंज, ७ मङ्सिर/

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएशन अन्तर्गत पर्सा, बारा, रौतहट र उच्च अदालत वीरगंज इजलासको बारको बैठकले मङ्गलवारदेखि शुक्रवारसम्म बहस पैरवी बन्द गर्ने निर्णय कार्यान्वयन गरेको छ ।

उच्च अदालत वीरगंज इजलासका पूर्वअध्यक्ष अधिवक्ता सुधीर कर्णले तीन जिल्ला पर्सा, बारा र रौतहट र उच्च बारका अध्यक्षहरू क्रमशः ओमप्रकाश गुप्ता, सन्तोष गुप्ता, राजाराम यादव र प्रमोद साहलगायत पदाधिकारी सदस्यहरूले सोमवार उच्च अदालत बारमा बैठक गरी तीन जिल्ला अदालत र उच्च अदालतमा बहस पैरवी बन्द गर्ने निर्णय गरेको बताए । उनले यी चार दिनमा भने बन्दी प्रत्यक्षीकरणका मुद्दाको पेशीमा बहस हुने तर अन्य सबैखाले मुद्दाको पेशीमा बहस बन्द गरिएको बताए ।

मङ्गलवार बिहान ११ देखि दिउँसो १ बजेसम्म धर्ना दिएको र हिजोको निर्णय अनुसार आज तीनवटै जिल्लाका चार अदालतमा बहस र मुद्दा दर्ता नभएको पूर्वअध्यक्ष कर्णले प्रतीकलाई बताए । बुधवार भोलि बिहान १० देखि १२ बजेसम्म धर्ना दिने र दिउँसो १ बजेदेखि केन्द्रीय कार्यक्रम अनुसार विरोधसभा आयोजना हुनेछ ।

यो विरोधसभालाई नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य भीम बन्जारा र वरिष्ठ अधिवक्ता हरिहर दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । यसैगरी, हिजो भएको बैठकले बिहीवार बारा जिल्ला अदालत र शुक्रवार रौतहट जिल्ला अदालतमा धर्ना र विरोधसभा गर्ने कार्यक्रम तय गरिएको छ । पर्सामा नौ र बारा तथा रौतहट उच्च अदालतमा सात/सातवटा इजलास छन् ।

यसैबीच, पर्सा बारका अध्यक्ष ओमप्रकाश गुप्ताले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै पर्सा बारले मङ्सिर १ देखि पर्सा जिल्ला अदालत अगाडि दैनिक धर्ना दिंदै आएको बताए । उनले दैनिक एक घण्टा धर्ना दिंदै आएको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here