फेरि गाँजाकै कथा

0

एक समय गाँजा खेतीका लागि बदनाम पर्सा जिल्ला, पछिल्लो समय गाँजा उन्मूलन भएपछि निकै प्रशंसनीय बनेको थियो । गाँजा उत्पादन नेपालमा प्रतिबन्धित छ । हुनत गाँजाको पक्ष र विपक्षमा निकै तर्क–वितर्कहरू छन् । गाँजा पूर्णतः हानिकारक वस्तु होइन, तर यसको प्रयोग बढीजसो नराम्रैका लागि हुने गरेको छ । यसबाट प्राप्त गर्न सकिने फाइदाबारे कसैले सोच्दैन । जस्तै गाँजाको झारबाट वस्त्र बनाउन सकिन्छ, गाँजाको बीउबाट प्राप्त हुने तेल, हाडजोर्नीमा मालिश गर्दा निकै आराम हुन्छ । तर गाँजा स्वयंमा लागू पदार्थको श्रेणीमा आउने हुँदा यसको त्यसै उद्देश्यका लागि मात्र प्रयोग हुन्छ । अर्थात् गाँजाखेती गरेर त्यसको पातबाट लागू पदार्थ बनाउने बिक्री गर्नेसम्म सबैले गर्छन्, बीउबाट तेल वा बोटबाट कपडा बनाउने चासो कसैले राख्दैन । यसबाहेक अन्यान्य यसका फाइदा–बेफाइदाहरू छन् जसको मानिस आप्mनो मतलब अनुसार व्याख्या गर्दछन् । समग्रमा हामीकहाँ गाँजाले पार्ने प्रभाव प्रतिकूल नै हुने गरेको छ । जिल्लामा गाँजाको बेरोकटोक खेती हुँदा, खासगरी नयाँ पुस्तामा यसको लत सर्दै गएको थियो। देशमा एउटा समानान्तर अर्थ व्यवस्था कायम हुन थालेको थियो । किनभने यसमा आम्दानी प्रशस्त छ, जसको शुद्धीकरण गैरकानूनी हुने हुँदा विलासितामा खर्च बढेर समाज विकृत हुने अवस्थासम्म पुगेको थियो ।

झन्डै दुई दशकदेखि यस कारोबारमा मन्दी आएको थियो । सरकार र प्रशासनले निकै चनाखो भएर यसको उन्मूलन गरेको थियो । तर यताका दिनमा बिस्तारै गाँजाखेती फस्टाइरहेको कुरा बेलाबेला प्रहरीले फडानी गर्ने समाचारबाट थाहा हुन्छ । यस्तो किन भइरहेको छ ? खेती गर्नेले त अत्यधिक नाफा पाउँछ, उसको प्राथमिकतामा पर्ने नै भयो, तर प्रहरी प्रशासनका लागि त यो टाउको दुखाइ नै हो । प्रहरी कार्यालयहरूबाट दुई सय ग्राम पनि गाँजा समातियो भने समाचार बनाइन्छ, तर खेती रोक्ने पहल गरिंदैन । वर्षमा एकपटक सम्पूर्ण प्रहरी बल लगाएर खेती फडानी गर्ने रौस चाहिं अवश्य उत्पन्न हुन्छ, खेती नै गर्न नदिएर जनशक्ति अभाव रहेको प्रहरी सङ्गठनलाई अन्य लोककल्याणका काम लगाइँदैन । गाँजा एकैपटक हलक्क बढेर बिरुवा बन्ने त होइन । यसको बीउ छर्नुपर्छ, बीउबाट बेर्ना तयार हुन्छ, बेर्ना रोपेपछि केही महीना लाग्छ, वयस्क झार बन्न । यतिञ्जेल प्रहरी के गरी बस्छ र फसल तयार हुन थालेपछि फडानी गर्न पुग्छ ? अनि यस्तो भएपछि प्रहरीमाथि विभिन्न आरोप लाग्ने गर्छ–जसले पैसा ख्वायो उसको मासिएन, जसले दिन सकेन उसको फसल फडानी भयो ।

अन्तर्राष्ट्रियरूपमा देशलाई बदनाम गर्ने, राष्ट्रियरूपमा जिल्ला बदनाम हुने, देशको अर्थतन्त्रमा चुनौती बढाउने, मानिसको नैतिक पतन गराउने, समानान्तर अर्थतन्त्र खडा भई उपभोगलाई बढावा दिने, समाजमा आर्थिक विभेद ल्याउनेजस्ता तमाम गतिविधि गाँजाखेतीबाट हुने गरेको, भुक्त यथार्थ हो । अवैध वस्तुको प्रभाव कहिले पनि सकारात्मक हुन सक्दैन । हो, तत्कालका लागि केही व्यक्ति लाभान्वित भएको देखिन्छ, तर त्यसले ल्याउने विकृति सम्पूर्ण समाज र राष्ट्रका लागि नै अभिशाप हो । फेरि शुरूमैं यसको नियन्त्रण गर्न नसक्दा जानेर वा नजानेर खेती गर्नेहरूको पनि समय र पैसाको बर्बादी त हुन्छ नै । अटेर गर्ने, पैसाको शेखीले कानूनको हुर्मत लिनेले दुःख पाउनु सह्य भए पनि लहैलहैमा यस कार्यमा लाग्ने गरीब किसानको त बिचल्ली नै हुन्छ । यसमा सरकार र प्रहरी, प्रशासन चनाखो हुनुपर्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here