प्रमोद यादव, पंचगावाँ, ५ मङ्सिर/

विद्युत् महसूल नबुझाएका उपभोक्ता समितिको लाइन नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले काटेको छ । पटेर्वासुगौली गाउँपालिका–१ र ३ को सोनवर्षा, देकुली, मलाहीटोल र सखुवाप्रसौनी गापा–४ देउरवानाको विद्युत् लाइन काटिएको हो ।

विद्युत् उपभोक्ता समितिले महसूल नबुझाएकाले लाइन काटेको नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रका प्रमुख जगरनाथप्रसाद जयसवालले बताए । देउरवाना उपभोक्ता समितिको नाममा ४६ लाख ४० हजार ४ सय, देकुली उपभोक्ता समितिको नाममा ३० लाख ५३ हजार र सोनवर्षा विद्युत् उपभोक्ता समितिको नाममा १९ लाख ६८ हजार रुपैयाँ बक्यौता रहेको प्रमुख जयसवालले जानकारी गराए ।

उपभोक्ता समितिका अध्यक्ष र सचिवले आआफ्नो क्षेत्रका ग्राहकसँग रकम असुल गरेको तर बक्यौता नतिरेको स्थानीय ग्राहकहरूको आरोप छ । ग्राहकहरूले सम्बन्धित उपभोक्ता समितिका अध्यक्ष, सचिवलाई यसबारे दबाब दिएपछि तुरुन्तै बक्यौता बुझाउने आश्वासन दिएका छन् ।

सोनवर्षा उपभोक्ता समितिका अध्यक्ष नुरुलहोदा मियाँ चुडिहार, देकुली उपभोक्ता समितिका अध्यक्ष रामदेव दहित, देउरवाना विद्युत् उपभोक्ता समितिका अध्यक्ष नुरबक्स अन्सारीलाई ग्राहकहरूले रकम लिएर पनि नबुझाएको भनी दबाब दिएपछि उनीहरूले अविलम्ब रकम बुझाउने आश्वासन दिएका छन् ।

पोखरिया वितरण केन्द्रले कात्तिक २९ गते बक्यौता रहेका यी तीनवटा उपभोक्ता समितिबाहेक निम्न उपभोक्ता समितिको पनि विद्युत् लाइन काटेको छ । गोविन्दपुर विद्युत् उपभोक्ता समितिले रु ४ लाख ३० हजार बक्यौता राखेको छ भने प्रकाश विद्युत् उपभोक्ता समिति, तीनडोबियाले रु ५ लाख ८८ हजार र प्रकाश विद्युत् उपभोक्ता समिति, रविदासले रु ७ लाख ९३ हजार बक्यौता राखेका छन् ।

यसैगरी, शिवशक्ति, धोबिनीको नाममा रु ४३ लाख २ हजार, उजाला, गुलरियाको नाममा रु ३० लाख ३२ हजार, जीवनज्योति, आसवारीको नाममा रु ४२ लाख ३० हजार, पारसनाथ, महुवनको नाममा रु ३८ लाख ६१ हजार, आदर्श, सेढवाको नाममा रु ४ लाख ६ हजार र विद्युत् उपभोक्ता समिति, दसौताको नाममा रु ६ लाख १९ हजार बक्यौता रहेकाले लाइन काटिएको पोखरिया वितरण केन्द्रका प्रमुख जयसवालले बताए ।

उपभोक्ता समितिहरूको लाइन काटेसँग सम्बन्धित समितिका ग्राहकले आआफ्नो क्षेत्रका अध्यक्ष, सचिवहरूलाई बक्यौता तिर्न दबाब दिइरहेका छन् । यसैबीच, पोखरिया वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रणको क्रममा ११ जनालाई नियन्त्रणमा लिएको छ । विभिन्न ठाउँमा राति हुकिङ गरेर विद्युत् चुहावट गर्ने ११ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here