काठमाडौं, ५ मङ्सिर/रासस
नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा काठमाडौंमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । एशोसिएसनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमा उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइयो ।
प्रतियोगितामा हाफ म्याराथनसहित पुरूष १० किमि, महिला पाँच किमि, १२ कक्षासम्मका विद्यार्थीअन्तर्गत पुरूषतर्फ पाँच किमि तथा महिलातर्फ तीन किमि दौड हुनेछ । साथै फरक क्षमता भएका व्यक्तिका लागि ह्वीलचेयर दौड पनि समावेश गरिएको आयोजकका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकरी दिनुभयो ।
प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन तथा जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महिला तथा पुरूषतर्फको हाफ म्याराथन विजेताले समान रू एक लाख तथा दोस्रो हुने खेलाडीले रू ७५ हजार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने खेलाडीले रू ५० हजार पाउनेछन् । चौथो र पाँचौ हुनेले क्रमशः रू ४० हजार र रू ३० हजार प्राप्त गर्नेछन् ।
दश किमितर्फ शीर्षदेखि पाँचौस्थानसम्म हातपार्ने खेलाडीले क्रमशः रू ५० हजार, रू ४० हजार, रू ३० हजार, रू २० हजार र रू १० हजार पाउनेछन् । पाँच किमि तथा ह्वीलचेयरतर्फका शीर्षदेखि पाचौँ स्थानसम्म विजेता हुने खेलाडीले क्रमश रू ३० हजार, रू २० हजार, रू १५ हजार, रू १० हजार र रू पाँच हजार पाउनेछन् ।
त्यसैगरी तीन किमितर्फका शीर्ष पाँचसम्म विजयी हुने खेलाडीले क्रमशः रू २० हजार, रू १५ हजार, रू १० हजार, रू पाँच हजार र रू दुर्ई हजार ५०० प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताका लागि दर्ता शुल्क रू दुर्ई सय तोकिएको छ ।