वीरगंज सदाकालदेखि नेपाली परिवेशमा नयाँ सोचको उद्गम थलो रहेको छ। यो वीरगंजको इतिहासले स्थापित गरेको तथ्य हो। २००७ सालको राणाशासन उन्मूलनको आन्दोलन होस्, २०१७ सालको घोषणाको सङ्केत होस् वा ०६२–६३ को आन्दोलनमा एकजना महिलालाई जनघोषित राष्ट्रपति बनाएर होस्, वीरगंजले प्रायः नयाँ सोचको प्रतिनिधित्व गरेको छ। सारा मुुलुक पञ्चायतविरुद्ध लागिरहँदा जनमत सङ्ग्रहमा मुलुकभरि नै सबैभन्दा बढी पञ्चायती पक्षमा मत दिने पनि यहीं ठाउँ/जिल्ला हो। पछिल्लोपटक भएको मधेसी आन्दोलनको त यो ऊर्जाभूमि नै बन्यो। त्यसैले होला, देशको सत्ताबाट विस्थापित भएपछि राजतन्त्रले पनि वीरगंजबाटै त्राण पाउने जमर्को गरेजस्तो लाग्छ। यस पालि मधेसको सर्वाधिक श्रद्धेय पर्व छठमा वीरगंजमैं आएर अवशिष्ट राजतन्त्रकी युवराज्ञीले जनतालाई मोहिनी लगाउने प्रयास गरिन्। निश्चय नै युवराज्ञीको स्वागत यहाँ धुमधामले भयो, धेरै उत्सुक नरनारी उनको दर्शन गर्न पनि पुगे, त्यसमा हिमानी शाहलाई हेर्ने रहर कति थियो र उनलाई स्थापित गराउने चाहना कति थियो, त्यसको नाप भने तत्काल देखिइहाल्ने अवस्था छैन।
जे होस्, हिमानी शाहको वीरगंज भ्रमणले यहाँ नयाँ तरङ्ग भने ल्यायो। उनको आगमनपूर्व हेलिकप्टरबाट छरिएका पर्चाको चर्चा पनि चुलीमा रह्यो। उनका दर्शनार्थीहरूको लाम पनि बाक्लै थियो। भर्खरै राजधानीमा प्रधानमन्त्रीस्तरबाट पूर्व राजाको अभिभाषणबारे प्रतिक्रिया सेलाउन नपाउँदै पूर्व युवराज्ञीको वीरगंज भ्रमण निश्चय नै छठप्रति श्रद्धा देखाउने अभीष्टले भएको होइन। प्रजातन्त्रप्रदत्त अभिव्यक्ति स्वतन्त्रताजन्य समूहहरूको गतिविधिलाई आफ्नो हितमा सर्वाधिक उपयोग गर्ने शाह परिवारको रणनीति अन्तर्गत यो भ्रमण भएको हो भन्ने कुरामा सन्देह गर्ने कुनै ठाउँ छैन। मूल कुरा स्वतन्त्रताको हो। त्यसभन्दा पनि महत्वपूर्ण जनमत हो। जनताले हिजो आन्दोलनपछि आन्दोलन ग–यो, पायो शून्य। यसबाट स्वार्थजन्य अभीष्ट पूरा हुन्छ भन्ने सोच पाल्नु गलत होइन। किनभने जुन व्यवस्था आए पनि जनताको हात परेको खोक्रो आश्वासन मात्र हो। तर जनता भने खोक्रो भएको छैन, न भौतिकरूपमा, न मानसिकरूपमा नै। जनता जुझारु छ, चेतनशील भएको छ, उसले चेतनालाई नै प्राथमिकता दिनेछ।
पूर्व युवराज्ञी हिमानी शाहको वीरगंज आगमनको अभीष्ट जे रहे पनि उनी यस नगरकी पाहुना हुन्, उनको यथायोग्य स्वागत र सम्मान हुनुपर्दथ्यो, त्यो वीरगंजवासीले गरे। यसै पनि व्यक्तिगतरूपमा हिमानी शाह कोमल, मृदुभाषी, हँसिली र सेवाकार्यमा समर्पित महिला हुन्। उनले आपत्मा परेका जनताको सेवामा अग्रसरता देखाउने गरेकी छन्। यो अलग कुरा हो, उनको यस कार्यले पर्याप्त समर्थन बटुल्न सकेन। किनकि उनको पृष्ठभूमि सामन्तशाही थियो। सत्तामा रहेको बेला यथाशक्य जनताको झाक्लो झार्ने काम उनको परिवारबाट भएको हो। उनका पति, पूर्व युवराजले त देशमात्र होइन, विदेशमा पनि नेपाली गरिमा झुकाउने काम गरेकै हुन्। तर ती सब कुराले हिमानीको कार्यलाई ओझेलमा पार्न सक्दैन। उनले आफ्नो संस्थामार्फत गरेको कामको नेपाली जनताले अवश्य पनि मूल्याङ्कन गर्नेछ, राजनीतिकरूपमा होइन, व्यक्तिका रूपमा। वीरगंजबाट राजनीतिक अभीष्ट होइन, उनको सेवा र समर्पणको भावलाई पूर्ण सद्भाव प्राप्त हुनेछ।