टुक्राटुक्री

0

कुमार रुपाखेती

अब थेग्दैन

वीरगंज महानगरपालिकाको साँघुरो र जीर्ण मेनरोड र सहायक सडकहरूको खस्ताहालबारे बेला कुबेला चर्चा त भइरहन्छ, तर स्तरोन्नति हुँदैन। दशैं, तिहार र छठजस्ता ठूला चाडबाड र भीडभाडका बेला वीरगंजमा थुप्रै सानाठूला सडक दुर्घटना भए। वीर शम्शेरले बसाएको यो शहरमा कुनै बखत शहरको मेनरोडबाटै नेपाल रेलवेको रेलगाडी कुद्ने गर्दथ्यो। त्यतिखेर नै वीरगंजको एक नम्बर रोड सानो र साँघुरो भयो, दुर्घटनाको त्रास बढ्यो भन्दै वीरगंजको पूर्वपट्टि रेलवे लिक बिछ्याएर रक्सौल–वीरगंज रेल चलाउन थालिएको हो। तर मेनरोडबाट रेल चल्न छाडेपछि सडक विस्तारको साटो रेलवे लिकको खाली जग्गा धमाधम कब्जा गरी घर बनाउन थालियो र अहिलेको मेनरोड झन्झन् साँघुरिंदै गयो।

दशैं, तिहार र छठसम्म वीरगंज बजार गुलजार र भीडभाडमय रहन्छ। यो सिजनमा यहाँ सधैं मेलापातझैं ठेलमठेल रहन्छ, फूटपाथ अस्थायी पसलेहरूको कब्जामा रहन्छ, दुई पाङ्ग्रे सवारीसाधन यही भीडमा, जाममा रहन्छ। दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारीसाधन यही भीडमा जाममा रहन्छ, छाडा चौपायाहरू गाई, साढे, घोडा, सडकमैं विचरण गरिरहन्छन्। यस्तो ठेलमठेली र धक्कामुक्कीको वातावरण भएपनि यहाँको मेनरोडको साँघुरो सडकको एकापट्टि मोटरसाइकल स्टेन्ड बनाइँदा झनै भद्रगोल देखिन्छ। यहाँको गल्लीमार्का दुई नम्बर र तीन नम्बर रोड अचेल ईरिक्शाको जाम र अटेसमटेस देखिन्छ। बनारसको गल्लीभन्दा पनि बदत्तर हालत भएको थियो, वीरगंज महानगरको। प्रदेश २ को एकमात्र महानगका सडकहरूको भद्रगोल अवस्था र बटुवाहरूको बिचल्लि देख्दा जोसुकैले लजाउनुपर्ने अवस्था छ।

केहीले त वीरगंजको मेनरोड फराकिलो नहुनुलाई नै विकास ठान्ने गरेको देखिन्छ। वीरगंजमा दिन दुना रात चौगुना हिसाबले सवारीसाधन बढेका छन् तर यहाँका सडकहरू फराकिलो हुनुको सट्टा खुम्चिंदै गएको देखिन्छ। घण्टाघरदेखि बिर्तासम्म बटुवा हिंड्ने पेटीमा बिजुलीको लठ्ठा विभिन्न केवलवालाहरूको भाँच्चिएर लटपटिएको तार, प्रचार सामग्री तथा आदर्शनगरतिर हरियालीको दुहाई दिंदै फूटपाथ भत्काएर तारबार र जाली हालेर वृक्षारोपण साथै दक्षिणबाट आएका भीखमाग्नेहरूको स्थायी आश्रय बनेका छन्, यहाँका फूटपाथहरू। यस्तो अवस्थामा विवश बटुवा सडकबाटै हिंड्छन, जाम हुन्छ, दुर्घटना हुन्छ। गनिमत छ कि अहिले चाडबाडको समयमा स्कूल, कलेजका बसहरू चलेका छैनन्।

स्कूले नानी बोकेका बसहरूले बटुवा र नानीहरूलाई बचाउँदै दोहोरो सङ्कटको सामना गर्दै गाडी चलाउँछन्। यहाँको मेनरोड अत्यन्तै साँधुरो भएकोले ज्यान हत्केलामा राखेर सडक वारपार गरिन्छ। पहाडमा बरु तुइन चढेर खोला वारपार गर्न सजिलो होला, यहाँ त सडक पार गर्नु नै पहाड छ। कतिपयले भन्छन्– केही धनाढ्य र कालाबजारीयाहरूको व्यापार र महल जोगाउन वीरगंजको मेनरोडलाई बहुरुपियाँ बनाइएको छ। सडक विस्तारका बाधक यिनीहरूले नै वीरगंजलाई आर्थिक नगरी, नेपालको प्रवेशद्वार र औद्योगिक शहरको जामा भिराइ उपहास गरिरहन्छन्। यहाँको मेनरोड फराकिलो पार्ने जमर्काे हुना साथ एउटा गिरोह (झुन्ड) विकल्प लिएर काठमाडौं–वीरगंज गर्न थालिहाल्छ। यस्तो खलनायकीमा स्थानीय नेता, व्यापारी, र तिनका दलालहरू सलबलाउन थालिहाल्छन्। केही नेताले त यस्तो विकासविरोधी क्रियाकलाप गरेर आफ्नो भोट बैंक सुरक्षित गरेको डिङसमेत हाँक्छन्।

हुँदा खाँदाको शहरलाई कुरूप बनाउने अनि स्मार्टसिटीको गफ हाँक्नेहरूलाई त झ्याम्म गालामा हानिदिउँ जस्तो पो लाग्छ। वीरगंजको सडक फराकिलो पार्ने कुरा एकादेशको कथा जस्तै आमजनतालाई झुक्याउने एउटा खेल मात्र बनेको छ। तर पनि सडक फराकिलो गर्ने हल्ला चल्ने बित्तिकै बेसरोकारवालाहरूलाई लकवा मारेको देख्दा म छक्क पर्छु। भनिन्छ, नेपाल सरकारले होइन प्राकृतिक विपदाले मात्र वीरगंजको मेनरोड स्तरीय बनाउन सकिन्छ। हामी चाहन्छौं त्यस्तो नहोस्, सरकारकै चेत खुलोस्।

जनगणना

‘मेरो जनगणना मेरो सहभागिता’ भन्दै अस्ति बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पारिवारिक विवरण टिपाएर विधिवत्रूपमा १२औं राष्ट्रिय जनगणनाको शुभारम्भ गरिन्। तर हाल भारतको कब्जामा रहेको नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले अत्यधिक सङ्ख्यामा फौज राखेर त्यस क्षेत्रको जनगणना गर्न नदिने भएको छ। त्यस्तै, अहिले त्यस क्षेत्रका नेपालीहरू अघोषितरूपमा भारतको बन्दी जीवन बिताउन बाध्य छन्। आफ्नै भूभागमा पस्न नसक्ने लाचार सरकारले अन्ततः त्यस क्षेत्रमा ड्रोन उडाएर जनगणना गर्ने निधो ग–यो। भारतको यस्तै रवैयालाई कहीं नभएको जात्रा हाडी गाउँमा भनिन्छ।

अर्कोतिर केही समयअघिदेखि भारतले दार्चुलालगायत केही अन्य नेपाली भूभागमा हेलिकाप्टरले गोलचक्कर लगाउने, नेपालको भित्री भागसम्म ड्रोन उडाएर फोटो खिच्ने तथा भारतीय सुरक्षाकर्मीहरूले नेपाली जग्गा फित्ताले नाप्न थालेका छन्। सङ्घीयताको उपहार हो प्रदेश। तर यस्ता मामिलामा प्रदेश सरकारहरू चुइँक्क नबोल्ने, केन्द्र सरकारको मुख ताक्ने गरेका छन्।

अर्काेतिर चीनले हालसालै करीब दुई हजार सेनाको बलमा अरुणाचल प्रदेशमा भारतको भूभाग कब्जा गरी रातारात एउटा ठूलो बस्ती बसालिदियो। भनिन्छ, भारतीय भूभाग कब्जा गरी बसालिएको यो बस्तीमा नागरिकको भेषमा चिनियाँ सेना छन्। भारतले यो कुरा राष्ट्रसङ्घमा उठाउने भएको छ। ‘जैसेको तैसा मिला’ अथवा ‘शेरको सवा शेर’ शायद यस्तै हो।

नाङ्गो बादशाह

हामीले नाङ्गो बादशाहको कथा त स्कूले जीवनमा पढेका थियौं। नागाबाबा जस्तो नाङ्गा नेताहरूको त नेपालमा जगजगी नै छ।

अचेल त सर्वाेच्च न्यायालयको समेत चीरहरण गरेर नाङ्गेझार पारिएको छ। न्यायालयमा मुक्कामुक्की, ग्याङ फाइट, प्रहरी हस्तक्षेप, नाराबाजी, कालोपट्टी, बहिष्कार आम भएको छ। न्यायालय परिसर अचेल हाउडे विद्यार्थी पढ्ने कलेजमा परिणत भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई नाङ्गो पारिएको छ। तर पनि उनी बादशाहझैं आफ्नो लाज ढाकिएको महसूस गर्दैछन्। खोइ कसलाई धिक्कार भन्ने मैले भेउ नै पाइनँ।

पूर्वराजा ज्ञानेन्द्रले अक्षम भन्दै बर्खास्त गरेका देउवालाई पाँच दलले भगवान् बनाएको देख्दा आमजनता छक्क छन्। झन् त्यसमाथि उनलाई लगाम लगाउन  (संवैधानिक व्यवस्था नभए पनि) आमनिर्वाचनमा पराजित रामचन्द्र पौडेललाई कुन्नि के जाती संयन्त्रको प्रमुख बनाएर झन् जगहसाइँ गरिएको छ रे। महाभारतमा अर्जुनको सारथि बनेका कृष्णको त स्वार्थ थियो भने प्रचण्ड, माधव, देउवा, मधेसी दल र रामचन्द्रहरूको स्वार्थको त कुरै नगरौं। छद्म भेषमा एकअर्कालाई पाखा लगाउन यिनीहरू खप्पिस मानिन्छन्।

दुई तिहाइको सरकारबाट विपक्षी बनेको ओलीको हबिगत छवटै प्रदेशमा देखिहाल्यौं। अब यी पाँच पाण्डवको हबिगत पनि ओपन सिक्रेट जस्तै त हो नि। जड्याहालाई जाँड लाग्दा मनलाग्दी बोलेझैं चुनाव लागेका यिनीहरू पनि जथाभावी बर्बराउँदै छन्। 

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here