बग्दाद २१ कात्तिक/सिन्हवा
इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको हत्या प्रयास भएको छ। प्रधानमन्त्री निवासमैं रहेका बेला उनको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल भएका सैन्य अधिकारीहरूले जनाएका छन्।
इराकी संयुक्त कारबाई कमान्डले जारी गरेको वक्तव्यमा उनीमाथि अज्ञात व्यक्तिहरूले आइतवार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ।
घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उनलाई कुनै असर नपरेको र उनको अवस्था सामान्य रहेको अधिकारीहरूले जनाएका छन्। घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र चिन्ता नलिन सबैलाई आग्रह गरेका छन्। उनले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन पनि आह्वान गरेका छन्।
अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो। धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिक नियोगहरूको कार्यालय रहेको क्षेत्रमा भएको आक्रमणमा परी प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएका अधिकारीहरूले जनाएका छन्।
अमेरिकालगायत विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले घटनाको भत्र्सना गर्दै आक्रमणकारीहरूबाट अक्षम्य अपराधको प्रयास भएकोले घटनाबारे पर्याप्त अनुसन्धान गरी दोषीलाई कारबाई गर्न माग गरेका छन्। आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ। रासस