सर्लाही, २१ कात्तिक/रासस
प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ।
सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
उनका अनुसार छठ पर्व सकिएलगत्तै सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधनको विवरण सङ्कलन गरी त्यस्ता सवारीसाधन कहाँ र कसले सञ्चालन गरिरहेको छ सोको विवरण सङ्कलन गर्ने काम हुनेछ। यसैगरी उक्त कार्यालयले जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला पनि बनाएको छ। घुमुवा प्रहरीले जिम्मेवारी अनुसार काम नगरेर सङ्गठनलाई नै बदनाम गर्न थालेकाले आपराधिक गतिविधि र अन्य घटनाको सूचना सङ्कलनका लागि परिचालित यस्ता घुमुवा प्रहरी हटाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।
उनका अनुसार अनौपचारिक पोशाकमा कार्यरत प्रहरीले आचरण विपरीत काम गर्दै सङ्गठनकै बदनाम गराउन थालेकाले हटाइएको हो। “जिल्लाबाट मातहतका युनिटमा खटाइएका चार यस्ता प्रहरीले सूचना दिनेभन्दा बढी बदनाम गर्ने काम गरे, म आएपछि उनीहरूलाई हटाइसकेको छु”– उनले भने–“अब कुनै घटना भए घटनाको प्रकृति अनुसार जिल्ला र मातहतका युनिटबाटै विशेष प्रहरी टोली परिचालन हुनेछ।”
स्थानीयवासी, तालुक कार्यालय, सञ्चारकर्मीलगायतबाट सूचना लिएर शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको उपरीक्षक प्रसाईंले बताए। उनका अनुसार यस अघि अनौपचारिकरूपमा खटाइएका प्रहरीलाई पोशाक लगाएरै नियमित डिउटीमा लगाइसकिएको छ।
प्रहरी उपरीक्षक प्रसाईं जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भएलगत्तै जिल्लामा रहेका घुमुवा प्रहरी हटाउने तयारीमा रहेका थिए। उनले प्रहरी सङ्गठनभित्रका कमी कमजोरी सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको अनुभूति गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस अघि प्रहरी नायब उपरीक्षक हुँदा पनि सर्लाहीमा एक कार्यकाल बसिसकेका प्रहरी उपरीक्षक प्रसाईंबाट सर्लाहीवासीले शान्ति, सुरक्षा र अमनचयनको अपेक्षा गरेका छन्। सिमानाकाका पोस्ट कमाउनका लागि होइन, सेवा पनि गर्नुपर्छ भन्ने मनसाय बनाउन पनि उनले आफ्नो माताहतका प्रहरी कर्माचारीलाई आग्रह गरेका छन्।