- अनन्तकुमार लाल दास
सामाजिक अध्ययन एउटा चाखलाग्दो विषय हो । यो हाम्रो जीवनसँग जोडिएको विषय हो । हाम्रो वरिपरि हुने समसामयिक घटना र हामीमाथि पर्ने प्रभावप्रति सचेत गराउने विषय हो । विगतका अनुभवबाट पाठ सिकेर वर्तमानलाई सुन्दर बनाउने विषय हो । राष्ट्रियता र राष्ट्रप्रति समर्पणको भावना जगाउने विषय हो । देश विकासमा नागरिकले के भूमिका खेल्न सक्छ त्यो सिकाउने विषय हो । परिवार, समाज, राष्ट्र र विश्वबन्धुत्वको भावना जागृत गर्ने विषय हो । हामी सबैलाई आफ्नो माटोसँग जोड्ने विषय हो । यही कारण होला, कक्षा १२ सम्म यस विषयलाई अनिवार्य बनाइएको छ । तर यसलाई राम्ररी नबुझेकाहरूले ‘इतिहास, भूगोल है बेवफा/रातको रटे और सुबह सफा’ भन्ने गर्छन् ।
वर्तमान समाजले पनि आज यस विषयलाई उपेक्षाको दृष्टिले हेर्ने गरेको छ । यसमा समाज, पाठ्यपुस्तक लेखन सँगसँगै हामी शिक्षकहरू पनि केही हदसम्म जिम्मेवार छौं । यदि सामाजिक शिक्षाको उपयोग कक्षा कोठामा सही ढङ्गले गरियो भने निश्चितरूपले राष्ट्रिय गौरवमा अभिवृद्धि हुने विश्वास लिन सकिन्छ । यसका लागि सामाजिक शिक्षा पढाउने शिक्षकले पाठ्यपुस्तकमा दिएको विषयवस्तु कण्ठ पार्ने होइन, बरु विषयवस्तुको प्रयोग गरेर असल नागरिक बन्न अभिप्रेरित गर्नुपर्दछ । यदि हाम्रो अपेक्षा शिक्षकहरूले सबै द्यार्थीलाई पाठको अवधारणा बुझाउनुपर्छ भन्ने हो भने पाठ्यपुस्तकले पनि उनीहरूलाई त्यसमा सघाउनुपर्छ र परिवारले पनि यस कार्यमा विद्यार्थीहरूलाई सहयोग गर्नुपर्छ ।
सङ्क्षिप्त प्रस्तुतिले केटाकेटीहरूले केही नबुझी घोक्न मात्र सक्छन् । कुनै पनि पाठको अवधारणालाई सङ्क्षिप्त रूपमा प्रस्तुत गर्नु एक प्रकारको सीप हो जसको विकास विद्यालय शिक्षामा हुनु अति आवश्यक हुन्छ तर अभिभावकको दबाब र समाजको सोचले गर्दा यो सम्भव हुन सकिरहेको छैन । अर्कोतिर सामाजिक अध्ययनको पुस्तकमा धेरै विषयवस्तु समेटिएको छ, तर ती विषयवस्तु सङ्क्षिप्तरूपमा प्रस्तुत गरिएका छन् जसले त्यसको अवधारणा बुझ्ने प्रश्न नै उठ्दैन । यस परिप्रेक्ष्यमा विद्यार्थीहरूसँग एउटै विकल्प के रहन्छ घोक्नु वा अझ सरल तरीकाको खोजी गर्नु । यहींनिर के प्रश्न उठ्छ भने अवधारणा सँगसँगै विभिन्न सीप विकसित गर्ने उद्देश्यले लेखिएका पुस्तकहरू कस्तो हुनुपर्छ र त्यसमा कुन कुरालाई ध्यानमा राख्ने आवश्यकता हुन्छ ?
सबैभन्दा पहिलो आवश्यकता हो जुन विषय बुझ्नुछ त्यसको एउटा सजिलो र प्रस्ट छवि विद्यार्थीहरूको मस्तिष्कमा कोर्नुपर्छ किनभने त्यसकै आधारमा उनीहरूले अवधारणालाई आत्मसात् गर्न सक्छन्, त्यसलाई व्यक्त गर्न सक्छन् र त्यसबारे छलफल गर्न सक्छन् । यस उद्देश्यको पूर्तिका लागि पाठ्यपुस्तकमा तपसीलका उपायहरू गर्न सकिन्छ । यसको लागि पाठ्यक्रमको छनोट गर्दा उमेर अनुसार केटाकेटीहरूको लागि सार्थक, उनीहरूको क्षमता र रुचि अनुसार दृष्टिकोण तयार पार्नुपर्छ । इतिहास, भूगोल, नागरिक जीवन आदि पाठ अन्तर्गत यो–यो विषय र यति पढाउनु पर्छ भन्ने बाध्यात्मक सोच हाबी हुन नदिई सार्थक सोच र उद्देश्य अनुसार पाठ्यक्रम विकसित गर्नुपर्छ ।
पाठ्यपुस्तकमा प्रयोग हुने भाषा सरल र प्रस्ट बुझिने खालको हुनुपर्ने कुरामा शायद नै कोही असहमत होला, तर वर्तमानमा परिमार्जन हुँदै गएको पाठ्यपुस्तकको भाषा लगाातार क्लिष्ट हुँदै गएको छ । माध्यमिक र खासगरी आधारभूत तहसम्म आम बोलचालको भाषा नै प्रयोग हुनुपर्छ । जुन ठाउँमा कठिन र नयाँ शब्दको प्रयोग आवश्यक छ त्यसलाई पनि बुझेर जहाँसम्म हुन सक्छ सजिलो बनाउने प्रयास हुनुपर्छ । यसैगरी त्यस्ता शब्दको उपयोग बुझाउने प्रयास हुनुपर्छ । त्यस्ता वाक्यांश जसमा अवधारणा बुझाउन खोजिएको हुन्छ त्यो विद्यार्थीहरूको लागि ‘कठिन’ हुने भएकोले विस्तारपूर्वक उदाहरणसहित बुझाउनुपर्छ ।
केटाकेटीहरू प्रायः अमूर्त पारिभाषिक चिन्तन गर्न सक्दैनन् । उनीहरू स्थितिसापेक्ष चिन्तन गर्छन् । यस कारण अवधारणा बुझाउनको लागि त्यसको विस्तृत विवरण दिनु आवश्यक हुन्छ । उदाहरणको लागि विभिन्न खाले औद्योगिक संरचना जस्तै घरेलु उद्योग, साना तथा मझौला उद्योग, ठूला उद्योगबारे पढाउँदा उनीहरूलाई सोझै परिभाषा दिई यस्तालाई घरेलू उद्योग भनिन्छ भन्न सकिन्छ तर यो त्यति प्रभावकारी हुँदैन जति हरेकको दुई–तीनवटा उदाहरण दिई त्यसको सविस्तार बयान गरेर वा यदि छेउमा त्यस्तो कुनै उद्योग छ भने त्यहाँ लगेर बुझाउन सकिन्छ । त्यसपछि सबैलाई सहभागी गराई तुलनात्मक छलफल गरेर निष्कर्ष निकाल्न र अवधारणा बुझाउन सजिलो हुन्छ ।
सामाजिक अध्ययन विषयका धेरैजसो पाठहरूलाई कथाको माध्यमले पढाउँदा केटाकेटीहरू त्यस विषयप्रति आकर्षित हुन्छन् । कहानीबाट कुनै पनि कुराको एउटा ठोस छवि निर्मित हुन्छ र जटिल कुरो सजिलै बुझाउन सकिन्छ । यहाँनिर शिक्षकहरूले ध्यान दिनुपर्ने कुरो के हो केटाकेटीहरूलाई कहानीको काल्पनिक दुनियाँमा अल्झिन नदिनको लागि बीच–बीचमा सामान्य कुरा सोध्दै जानुपर्छ । यसबाट विद्यार्थीहरू प्रश्नको जवाफ खोज्न बाध्य हुन्छन् किनभने उनीहरूलाई त्यसपछिको कुरो जान्ने उत्सुकता हुन्छ । यसरी पढाउँदा विद्यार्थीहरू रमाइरमाई पढ्छन् र उनीहरूमा कल्पनाशीलताको पनि विकास हुन्छ ।
सामाजिक शिक्षाको पुस्तकमा नक्शा र चित्रहरूको धेरै महŒव छ । वर्तमान पुस्तकमा त्यसमाथि बढी ध्यान दिइएको छैन । बुझ्नुपर्ने कुरो के हो भने जुन कुरा कैयन पृष्ठ पढेर पनि बुझ्न गा¥हो हुन्छ त्यसलाई नक्शा र चित्रको सहायताले सजिलै बुझाउन सकिन्छ । यसैगरी आर्थिक र राजनीतिक संरचनालाई पनि रेखाचित्रबाट सजिलै बुझाउन सकिन्छ । पाठको बीचमा प्रश्न सोधेर विशेष जानकारी आदान–प्रदान गर्नुपर्छ । यसैगरी जटिल अवधारणाहरूलाई पनि कैयन खण्डमा विभाजित गरेर क्रमबद्धरूपमा पढाउन सकिन्छ । जस्तै नागरिक चेतनामा प्रजातान्त्रिक व्यवस्था एउटा संयुक्त अवधारणा हो, जसमा चुनाव, प्रतिनिधित्व, बहुमतको शासन, मानिसप्रतिको जवाफदेहिता आदि अवधारणाहरू छन् । यसलाई एउटै पाठमा समावेश गरी पढाउनुको साटो कक्षागतरूपमा विभाजित गरी सजिलै बेग्लाबेग्लै पाठ अन्तर्गत पढाउन सकिन्छ ।
शिक्षाशास्त्रमा अवधारणा सिकाउनका लागि एउटा सर्वमान्य सिद्धान्त अनुसार गतिविधि अर्थात् क्रियाकलाप एउटा प्रमुख साधन हो र गतिशील विद्यार्थीहरू नै सिक्न सक्छन् । यस कारण विद्यार्थीहरूलाई क्रियाशील बनाउनको लागि विभिन्न खाले क्रियाकलाप गराउन आवश्यक हुन्छ । जसरी विज्ञानमा केटाकेटीहरूले प्रयोग गरेर सिक्न सक्छन् त्यसैगरी सामाजिक अध्ययनमा उनीहरूलाई सिकाउनको लागि शिक्षकहरूले हरेक पाठको बीच–बीचमा प्रश्न सोध्नुपर्छ । यसबाट विद्यार्थीहरूले बुझिरहेका छन् वा छैनन् भन्ने थाहा हुन्छ । पाठको बीचमा सोधिने प्रश्नहरू पनि कैयन प्रकारका हुन सक्छन् । जस्तै चित्र, नक्शा, तालिका, सही–गलत, कठिन शब्द, शब्दको अर्थ आदिमा केटाकेटीहरूसँग छलफल गरेर जवाफ खोज्नुपर्ने हुन्छ । कैयन प्रश्न तुलनात्मक हुन्छ जस्तै दुई समयबीच तुलना गर्ने, बेग्लाबेग्लै ठाउँमा हुने परिवर्तनबारे तुलना गर्ने । पाठ पढाउँदै गर्दा बीचमा सोधिने यस्ता प्रश्न हल गर्दा विद्यार्थीहरू पढाइएका कुराहरूमाथि ध्यान दिन्छन् साथै शिक्षक र विद्यार्थीबीच अन्तक्र्रिया पनि हुन्छ ।
अर्को तरीका हो केटाकेटीहरूमा भएको अनुभव उपयोग गर्नेस अर्थात् उनीहरूसँग आआफ्नो समाजको अवलोकनको आधारमा प्राप्त ज्ञान र बुझाइको एउटा ठूलो भण्डार हुन्छ । प्रायः सामाजिक अध्ययन शिक्षणमा यस भण्डारको कुनै उपयोग हुँदैन तर यसको उपयोगले शिक्षण सिकाइलाई धेरै रोचक बनाउन सकिन्छ । पाठको बीचमा सोधिने प्रश्न र यस्ता अनुभवको साटासाटले केटाकेटीहरूलाई विषयसँग जोड्नुको साथै उनीहरूमा भएको ज्ञान पनि फराकिलो बनाउने काम गर्दछ । जस्तै भूगोलमा प्रदेश र विदेशको जानकारी र इतिहासमा अन्य कालको जानकारीलाई आफ्नो परिवेश र समयसँग तुलना गरेर सजिलै बुझ्न सकिन्छ ।
सामाजिक अध्ययनमा लिखित माध्यमबाट बुझ्ने र अभिव्यक्त गर्ने सीपको महŒव सर्वोपरि छ । प्रमुख कुरा बताएर सारांशमा व्यक्त गर्न लगाउने, पढेको भाग बुझ्नु र आफ्नो शब्दमा व्यक्त गर्नु, कुनै विषयसँग सम्बन्धित जानकारी कुन–कुन वाक्यमा दिइएको छ त्यसको पहिचान गर्नु आदि। यी यस्ता कुरा हुन् जसको नियमित अभ्यासले नै विद्यार्थीहरूलाई सामाजिक अध्ययनमा सक्षम बनाउन सकिन्छ । यसैगरी परीक्षामा पनि यस्ता सीपलाई धेरै महŒव दिइन्छ । यी कुराहरूलाई व्यावहारिक रूपमा कक्षा शिक्षणमा प्रयोग गरेपछि मात्र घोकन्ते शिक्षाको साटो सोच्ने, बुझ्ने र पाठ्यपुस्तकको बुद्धिमतापूर्वक उपयोग गर्ने क्षमता विकास हुन्छ । यसका लागि पुस्तकको स्वरूपमा नै यस्ता कुरालाई ध्यानमा राखी परिमार्जन गर्नुपर्ने खाँचो छ ।