कुनै पनि मुलुकको राष्ट्रिय लक्ष्य हुन्छ । हाम्रो मुलुकले पनि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा राष्ट्रिय लक्ष्य निर्धारण गरेर विकास निर्माणका योजनाहरू बनाउने गरेको छ । भौतिक पूर्वाधारको विकासविना अन्य क्षेत्रको विकास सहज छैन । गुणस्तरीय र तोकिएकै समयमा भौतिक पूर्वाधार निर्माण गर्न सके मात्रै मुलुकले निर्धारित लक्ष्य प्राप्त गर्न सक्छ । भौतिक निर्माणको विलम्बताले समग्र विकासका पक्षहरू पछाडि धकेलिन्छ । सोही कारण कुनै पनि विकास निर्माण कार्यका लागि निर्माण व्यवसायीलाई प्राथमिकता दिइएको हो । निर्माणका क्षेत्रमा व्यावसायिकरूपमा क्रियाशील निर्माण व्यवसायीहरू अनुभवी, सिपालु तथा दक्ष हुने साथै उनीहरूसँग दक्ष जनशक्ति, कामदार र मेशिन उपकरणसमेत उपलब्ध हुने भएकाले निर्धारित समयमा नै गुणस्तरीय काम सम्पन्न हुन सक्छ भन्ने राष्ट्रको विश्वास हो । तर हाम्रा मुलुकका कतिपय निर्माण व्यवासायी भने राष्ट्र र समाजको त्यो विश्वासलाई घात गर्दै पेशागत धर्मबाट विचलित छन् ।
वीरगंज–पोखरिया सडकखण्डमा जुन बेला कालोपत्रे निर्माण भयो, त्योभन्दा १० वर्ष पहिले नै निर्माण सम्पन्न भइदिएको भए पोखरिया र सो आसपासका क्षेत्रको विकास आजको अवस्थाभन्दा निकै अगाडि फड्को मारिसकेको हुने थियो । उक्त सडकको निर्माण योजना तयार भएर पनि निर्माण व्यवसायीको गद्दारीका कारण दुई दशकभन्दा पछि पुनः नयाँ योजना बनाएर निर्माण गरिएको हो । उहिले नै निर्माण भइसक्नुपर्ने तिलावे पुल अझै अधूरो छ । पथलैया–वीरगंज व्यापारिक मार्ग अढाई वर्षमा सक्नुपर्ने छ वर्ष बितिसक्दा पनि सम्पन्न हुने छाँट छैन । वीरगंज–ठोरी हुलाकी सडकको गति उस्तै छ, बिछ्याइएको कालोपत्रे एक वर्षको भलबाढीले चिराचिरा बनाइदियो । कतिपय स्थानमा पुल, कल्भर्ट, नाला अधूरै छन् । बारा, पर्साको मात्रै कुरा होइन, मुलुकका कैयौं स्थानमा अति आवश्यक पुल निर्माणको ठेक्का भएको दशक बित्दा पनि निर्माण सम्पन्न भएको छैन । निर्माण हुँदाहुँदैको संरचना भत्किएका छन् भने कैयौं योजना लामो समय बित्दा पनि निर्माण नहुँदा लागतमा धेरै फरक पर्ने भएपछि पुरानो ठेक्का रद्द गरेर नयाँ टेन्डर गर्नुपरेको छ । यसले प्रत्यक्षरूपमा मुलुकलाई आर्थिक नोक्सानी भइरहेको छ भने विकास निर्माणको गति पछि परेको छ ।
ठेक्का सकार गरेर समयमा निर्माण सम्पन्न गर्न नसक्नुको मुख्य कारक निर्माण व्यवसायीहरू नै हुन् । उनीहरू धेरै योजनामा काम शुरू गर्छन् र सबै योजनाबाट पेश्की बुझ्छन् । त्यही रकम लगानी गरेर एउटा काम गर्ने ठेकेदारको योजना हुन्छ । एउटा काम सम्पन्न नहुन्जेल पेश्की लिएका अन्य योजनाहरू स्थगित रहन्छन् । धेरै ठाउँमा काम गर्न पूँजी, स्रोतसाधन र जनशक्ति पुग्दैन । अर्कोतर्फ ठेक्का आफैंले पाउनुपर्ने होडमा धेरै कम मूल्यमा ठेक्का सकार गरिन्छ । यसरी लिएको योजनालाई पनि बढी कमिशन दिने पेटी ठेकेदारको खोजी हुन्छ । भने जस्तो कमिशन दिने पेटी ठेकेदार नपाएपछि योजना अघि बढ्दैन । योजनामा आउने स्थानीय विवादहरू सामान्य कुरा हुन् । योजनाको म्याद थप गर्नका लागि यस्ता विवादहरूले व्यवसायीहरूलाई बहाना मिलिरहेको हुन्छ । त्यसैले उनीहरू काम गर्नै पर्ने अवस्था नआएसम्म विवाद सुल्झाउन पनि चाहँदैनन् । सबै निर्माण व्यवसायीहरू एकै किसिमका छैनन् । निर्धारित समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गरेर प्रशंसा पाउने व्यवसायी पनि धेरै छन् ।